चिन्तामणि दाहाल
प्रेम, विद्रोह,आक्रोश,व्यंग्य,पीडा,अतृप्ती,आशा, निराशा,विरोधाभास,जागरण र अस्तित्व जस्ता मानवीय स्वभावका प्रतिनिधिका रुपमा संग्रहित भावना समेटेका कविताहरुको संगालो हो,राजेश ढुंगानाको ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ ।
संग्रहको नाम राखिएको कुरा पुष्टि गर्न कविता ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ पनि समेटिएको छ,यस संगालोमा ।
यस संगालोमा लामा, छोटा र संक्षिप्त गरी ५५ वटा कविता संग्रहित छन् । कविता संग्रहको पहिलो संस्करण २०७० मा र दोश्रो संस्करण २०८० मा छापिएको छ । कविताहरु पढ्दा पढिरहुँ जस्ता छन् । अल्छी लाग्ने, निन्द्रा लाग्ने अवस्था आउँदैन । प्रायः सबै कवितामा ओज र सन्देश छ । कविता जीवन्त लाग्छन् भने मिठास र व्यंग्यले कविता प्रभावकारी पनि छन् । वर्तमानलाई समेटिएकोले केहीलाई छोडेर कालजयी पनि छन् ।
कवि ढुँगानाले आफ्नो भूमिकामा पनि लेखेका छन् “…..मैले मान्छेलाई कविताको मूख्य विषय बनाएको छु ।”
समग्रमा यस ब्रम्हाण्डमा अहिलेसम्म्को खोज र अनुसन्धानबाट मान्छे नै मूख्य हो मान्छेका लागि । समस्या पनि मान्छे हो समाधान पनि मान्छे नै हो । त्यसैले मान्छेले मान्छेलाई हेर्नुपर्छ । गोडमेल गर्नु पर्छ । मलजल गरेर हुर्काउनु पर्छ । बढाउनु पर्छ । फुलाउनु र फलाउनु पर्छ । अरु जीवजन्तुको पालन पोषण, संरक्षण, वातावरणीय विकास र सम्बर्धन पनि मान्छेलाई नै केन्द्रित गरेर गर्नु पर्छ र गरिरहेकै छ ।
भन्नलाई भनिन्छ, सृष्टिमा रहेका सबै प्राणी र वनस्पतिको साझा हो यो ब्रम्हाण्ड । तर, यस सृष्टिको सुन्दरता भनेकै मान्छे हो । यस तथ्यलाई बुझेको कुरा गर्छन् कवि ढुंगानाले आफ्ना कविता मार्फत ।
कविता राम्रा छन् वा छैनन् भन्ने कुरा पाठकको आ–आफनो रुची अनुसार पनि हुँदो रहेछ । तर, पनि ढुंगानाका कविताहरुलाइृ नराम्रो मान्नु पर्ने कारण मैले देखिन । कविताहरु पढ्दै जाँदा तौली तौली प्रयोग गरिएका शब्द चयनले कविताहरु पढिरहन मन लाग्छ । यसको अर्थ कविताहरुमा ‘दम’ छ ।
अर्थमन्त्रीज्युलाई प्रश्न नामक कविताको एउउटा अंश हेरौं ।
“माननीय अर्थमन्त्रीज्युको
बजेट भाषणको
अन्तिम शब्द पनि सकिएपछि
गाउँको कुनै नाम भएको नेपालीलाई
सोध्न मन लागेको थियो
तपाईंको बजेटमा
म चाहिं
कहाँ र कुन कुनामा पर्छु ।”
यस कविताले देशमा सरकारले बनाउने हरेक बर्षको बजेट जनता केन्द्रित नभएको प्रति तीखो व्यंग्य छ । वास्तविकता पनि त्यस्तै छ ।
उनका हरेक कवितामा केही न केही सन्देश छ, विद्रोह छ , अस्तित्वको लडाईं छ । रोजाई कविताको अंश हेरौं ।
“मरेरै भएपनि एक पटक
सदैब मान्छे भएर बाँच्ने किरिया हाल ।”
समय कवितामा कवि लेख्छन् ।
“पसिनाको क्रय–विक्रयलाई
अब पनि हामीले
उपलब्धिमा व्याख्या गर्नु हुन्न
अझै पनि हामीले रगतको अंशबण्डा गरेर
जीवनको अर्थ खोजी हिंड्नु हुन्न ।”
आफूलाइृ शान्तिदुतको देशमा बस्ने शान्तिप्रीय भन्ने कुरा फगत देखाउने कुरा मात्र अथवा आडम्बर हो भन्ने कविको धारणा ‘गौतम बुद्ध’ नामक कवितामा पाइन्छ । एउटै कविताको पनि थुप्रै र लामा व्याख्या तथा विश्लेषण गर्न सकिने भाव र प्रतीक कविले दिएका छन् । यसबाट कवि ढुंगानालाई सिद्धहस्त कवि भन्दा फरक पर्दैन । उनको यही एउटा कविामा भएको हिंसा र शान्तिको विश्लेषण र व्याख्या गर्न पर्याप्त हुन्छ भन्ने लाग्छ । हेरौं कविताको अंश ।
“बुध्दको नाम लिनु, इतिहासको गर्वमा हामीले
ठीक त्यस्तै कुरा न हो,
जस्तो,
कोर निस्केको सम्पूर्ण हातबाट
सद्दे रहेको एउटा औंला
अरु छोपेर
त्यो मात्र सुटुक्क देखाउनु ।”
स्वतन्त्रता र मुक्त जीवन मान्छेका लागि अति प्रिय कुरा हो । हुन त संसारका सबै प्राणी स्वतन्त्रत खोज्छन् र मुक्त जीवन बाँच्न चाहन्छन् । तर, मान्छेले आफ्नो फाइदाका लागि उनीहरुलाई अधिनमा राख्छन् । आफू उन्मुक्त हुन चाहन्छ तर, अरु प्राणीलाई आफ्ना लागि बन्धनमा राख्न चाहन्छ र राखेको छ ।
आफू उन्मुक्त हुन चाहे पनि मान्छे विभिन्न कारणले बन्धनमा बस्न बाध्य हुन्छ । मान्छेले राजनैतिक, धार्मिक, सामाजिक, आर्थिक, पारिवारिक , शारिरिक लगायतको बन्धनमा बस्नु पर्छ । राजनैतिक बन्धन मान्छेले तोड्न सक्छ । तर अरु बन्धन तोड्न मुश्किल हुन्छ । उसले बन्धन तोड्न नसके पनि मनले बन्धन तोडेर मुक्त हुने र त्यो चाहना राख्न उसलाई कसैले रोक्न सक्तैन । यसै प्रसंगमा कविको ‘मुक्तताको गीत’ कविताको अंश हेरौं ।
“आँखा फुट्नु अगावै
मान्छेले नांगो आँखाले आकाश देखिसकेको छ
अब त आँखा नै फुटे पनि
मान्छेले उदांग क्षितिजको
स्मरण भने
एकरत्ति पनि विर्सन सक्तैन ।”
कवि कवितामा स्वछन्द बगेका छन् । उनलाई कुनै भेल, बाढी, पहरा, या शक्तिले रोक्न , छैक्न सक्तैन । कवितामा शब्द चयन, शब्दको प्रयोग, तौली तौलिकन , माझेर टलक्क टल्किने गरी सजाएर प्रयोग गरे जस्तै लाग्छन् ।
उनका कवितामा कुनैमा मान्छेमा हुने निराशा छ। आशा छ । कुण्ठा पनि छ । बाध्यता पनि छ । विरोधाभास पनि छ । विश्वास पनि छ । नढाँटी भन्ने हो भने मान्छे भएपछि मनमा जे जे खेल्छन् तिनलाई कवितामा उनले विभिन्न माध्यमबाट व्यक्त गरेका छन् । यसैले यस संग्रहका सबै कविताको अलग अलग विश्लेषण गर्नु भन्दा पाठकले आफैं पढेर महशुस गर्दा आउने आनन्द, समालोचना पढेर नहुने ठानेर यस आलेखलाई यहीं विराम दिन्छु ।
000
समीक्षक परिचयः चिन्तामणि दाहाल सुभाङ, पाँचथरमा जन्मेका हुन् र हाल भद्रपुर ८, झापा, क्याम्पसमोडमा बसोवास गर्छन् । उनको पहिलो रचना लोककथा, २०३१ साल, मेची खबर साप्ताहिकमा प्रकाशित भएको थियो । उनी कविता, कथा, समालोचना, उपन्यास ऐतिहासिक र सांस्कृतिक विविध विषयमा कलम चलाउँछन् । ।