७पुस २०८०, काठमाडौं
नेपाली साहित्यका मूर्धन्य ब्यक्तित्व शिर्षस्थ आख्यानकार रमेश विकलको १५औं स्मृति दिवसको अवसरमा विभिन्न स्रष्टाहरू पुरस्कृत भएका छन् । रमेश विकल साहित्य प्रतिष्ठानले विकलको पुर्ख्यौली थलो आरुबारी, काठमाडौंमा आयोजित समारोहमा पचास हजार राशिको रमेश विकल वाङ्मय पुरस्कार (२०८०) बाट प्रा.वासुदेव त्रिपाठी, रमेश विकल बाल साहित्य पुरस्कार (२०८०) बाट साहित्यकार रामबाबु सुवेदी, रमेश विकल सिर्जना पुरस्कार (२०८०) बाट स्रष्टा माधव काफ्ले र रमेश विकल कला सङ्गीत पुरस्कार (२०८०) बाट चलचित्रकर्मी सुवासप्रसाद गजुरेल पुरस्कृत भए । यी पुरस्कारहरू दश हजार राशिका रहेका छन् ।
यसैगरी उक्त समारोहमा बीस हजार राशिको रमेश विकल सुशीला समाजसेवा पुरस्कार (२०८०) बाट नेपालको जेठो लोक कल्याणकारी सामाजिक संस्था ‘परोपकार संस्था’लाई पुरस्कृत गरिएको थियो भने रमेश विकल सङ्घर्षशील नारी पुरस्कार (२०८०) बाट सत्यदेवी खड्का पुरस्कृत भइन् । यो पुरस्कार पनि नगद रु.दश हजार राशिको रहेको छ । प्रतिष्ठानका उपाध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष के.के कर्माचार्य, सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मा लगायतले स्रष्टा तथा संस्थाहरूलाई पुरस्कृत गरेका थिए ।
सोही अवसरमा प्रतिष्ठानको विकासमा स्थापनाकाल देखि नै योगदान दिंदै आएका संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसे, पूर्व मन्त्री रामेश्वर फुयाल र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रम सुन्दर रह्यो।
भाषा – साहित्य, कला – संस्कृति मौलाई रहोस्।
सबै पुरस्कृत / सम्मानित श्रष्टा तथा बिशिस्ट व्यक्तित्वहरुलाई हार्दिक बधाई तथा शुभकामना ।