मूलः विद्यापति
अनुवाद : धीरेन्द्र प्रेमर्षि
(मैथिली साहित्यका महाकवि विद्यापतिद्वारा पन्ध्रौँ शताब्दीमा रचित पुरुष-परीक्षा नामक संस्कृत कथासङ्ग्रहबाट लिइएको यस कथाको नेपाली अनुवाद धीरेन्द्र प्रेमर्षिले गरेका हुन्।)
सुखको भोग मात्र जुन पुरुषको ध्येय होस्, त्यस्तालाई विदग्ध भनिन्छ। स्त्रीहरूका प्रिय हुने यस्ता मानिस तीन थरिका हुन्छन्। स्त्रीहरू पनि निजा, परा र सामान्या गरी तीनथरिकै मानिएका छन्।
भरतले भनेका छन्-
जसको पाणिग्रहण गरिएको छ, त्यसलाई निजा भनिन्छ। त्यस्ता स्त्रीले इहलोकमा सुख दिन्छन् र परलोकमा स्वर्ग दिलाउँछन्। त्यसैले यस्ती स्त्री दुवै लोकक सहायिका हुन्छिन्। आफ्नी पत्नीकहाँ मात्र जाने व्रतलाई कामी मानिसले कष्टका रूपमा लिन्छन्। परस्त्रीसँग समागम नगरेसँग कामसुख नै प्राप्त नभएझैँ लाग्छ उनीहरूलाई।
सामान्य वनिता भनेका वेश्या हुन्। त्यस्तालाई पैसा भए पुग्छ। त्यस्ताको न निर्गुणसँग कुनै द्वेष हुन्छ न गुणीसँग अनुराग।
र आमनागरिकलाई त आफ्ना स्त्रीका विषयमा शङ्का वा ईर्ष्या गर्ने अवसर नै हुँदैन। अनि उनीहरू परस्त्रीका सम्बन्धमा आफ्नी पत्नीका साथ गरेझैँ ढुक्क भएर रमण पनि गर्न सक्दैनन्। वेश्याका सन्दर्भमा यी दुवै काम सहज हुने हुनाले उनीहरू कामदेवका सर्वस्व हुने गर्दछन्।
भोजदेवको राजधानीको नाम थियो धारा। त्यहाँ दुइटी वेश्या बस्दथे। एउटीको नाम केतकी थियो र अर्की थिई जातकी। तीमध्ये एउटीलाई उसको प्रेमीले एक रातका लागि एक लाख पुराण (मुद्रा) दिन्थ्यो भने अर्कीलाई चाहिँ मात्र पाँच। एक दिन दुवैबीच कुनै कुरामा झगडा परेछ। त्यस क्रममा केतकीले भनी, ‘ओइ पापिनी! तँ पाँच पुराण लिएर आफूलाई धन्य ठान्ने, तँ मसँग के जोरी खोज्छेस् ?’
जातकीले भनी, ‘ओइ नकच्चरी ! म पनि तेरै जुम्ल्याही बहिनी हुँ। समान रङ्ग, उस्तै गुण अनि एउटै उमेर। तँ कसरी राम्री भइस् अनि मचाहिँ कसरी नराम्री नि ? लाख पुराण दिनु वा पाँच पुराण दिनु भनेको त प्रेमीहरूको रसिकताको कुरा हो। यसमा मैले के गर्न सक्छु ? तँलाई कुरै गर्नु छ भने रूप र यौवन, नाच-गान अथवा कामकलाको बारेमा कुरा गर् न। लु देखा त, म केमा तँभन्दा कम छु ?’
यसरी दुवैजना आपसमा लड्दा-लड्दै झगडाको फैसलाका निमित्त राजाकहाँ पुगे। राजालाई अभिवादन गरेर आआफ्ना कुरा भन्न थाले।
केतकीले भनी, ‘देव ! जाबो पाँच पुराण लिने यसले कसरी मेरो बराबरी गर्न सक्छे ?’
जातकीले भनी, ‘देव ! रूप, गुण र वैँशमा म केही कम छु र महाराज ? यदि मलाई पाँच पुराण दिन्छन् भने यसमा दोष त प्रेमीहरूको र राजाको पो छ त !’
राजालाई अचम्म लाग्यो र सोधे, ‘यसमा राजाको के दोष ?’
जातकीले भनी, ‘देव ! यहाँ शासन हजुरको चल्छ। यसो भए तापनि समान गुणमा विषम प्रतिफल किन ?’
राजाले दुवैको गुण, रूप, वैदग्ध तथा वैँश आदिबारे विचार गरे। उनलाई साँच्चै अचम्म लाग्यो। सबै किसिमले गुण समान र उमेर पनि एउटै। अनि त त्यसको प्रतिफलमा किन यो विषमता आयो होला ? यसको निर्णय उनले आफूबाट सम्भव देखेनन्। उनले ती दुवै वेश्यालाई भने, ‘सुन्दछु राजा विक्रमादित्य बडो निपुण छन्। त्यसैले तिमीहरू दुवैजना उनैकहाँ जाओ। उनले नै यसबारे केही गर्न सक्दछन्।’ यति भनी राजा भोजले ती दुवै स्त्रीलाई आफ्ना शुद्ध पुरुषका साथ विक्रमादित्यकहाँ पठाइदिए।
आफ्नो शृङ्गार-मण्डपमा राजा विक्रमादित्यले यी दुवै नारीका गुण, रूप र उमेरबारे परीक्षण गराएपश्चात् भने, ‘यो केतकीले आफूलाई दुर्लभ देखाउँछे, त्यही भएर लाख पाउँछे। जातकीमा लोभको अधिकताले गर्दा ऊ पाँचमै चित्त बुझाउँछे। ऊ पुरुषहरूका लागि सुलभ छे, त्यसैले हजार पनि पाउँदिन, लाखको त कुरै पर जाओस्। किनभने– सम्भोग क्रिडामा सबै स्त्रीका सामग्री त एकै हुन्छन्, तैपनि कसैकसैले जस्तो सौभाग्य पाउँछन्, त्यो कामीहरूका लागि दुर्लभ हुन्छ।’
यो सुनेर जातकीले भनी, ‘देव ! म त्यस्ती मूर्ख छैन। कामको रहस्य म पनि जान्दछु। त्यो हो–
जुन सम्भोगमा कुरा बङ्ग्याएर नभनियोस्, जुनमा पाइलैपिच्छे दुर्लभता नहोस्, जुनमा सफल भएपछि बहुमूल्य वस्तु प्राप्त हुनेजस्तो भावना नहोस् …. के यस्तो सम्भोगबाट पुरुष वा नारीले सुख प्राप्त गर्छन् ?’
राजाले भने, ‘त्यसोभए तिमीकहाँ आउने पुरुषको नाम तिमी बाहिर प्रचार गरिदिन्छौ होला !’
जातकीले भनी, ‘देव ! पूर्वजन्मको पापले गर्दा नै त कामवासनाले व्याकुल पुरुषको भोगवस्तु बनेर अनेक पुरुषकहाँ जाने वेश्या भएकी छु। कामदेवको वाणले पीडित पुरुषहरू लज्जा त्याग गरी कत्रो साहस बटुलेर मसँग सम्भोग गर्न आउँछन्। यस्तो कुराको प्रचार गर्दै हिँड्नु राम्रो कुरा हो र ? यो त साह्रै निम्नस्तरकी स्त्रीको काम हो।’
राजाले भने, ‘ल ठीक छ। मैले सबै कुरा बुझेँ। त्यसैले तिमीहरू दुवैजना घर जाओ। म राजा भोजदेवलाई आफ्नो निर्णय लेखेर पठाइदिन्छु।’
यति भनेर ती दुवै वेश्यालाई धारा नगरी पठाएपछि राजा विक्रमादित्य विचार गर्न थाले– गूढ कुरा थाहा पाउन त गाह्रै रहेछ। नत्रभा’ यी दुवै रूप, गुण, वैँश आदि सबै कुरामा समान भएर पनि यिनीहरूले पाउने धनमा किन यत्रो विषमता भएको होला ? वस्तुतः कविता र कामिनी दुवै उस्तै हुन्। कोही कथ्यमै रमाउँछन् भने कोही वस्तुमै रमाइदिन्छन्। तर कसैलाई भने कथ्य र वस्तु दुवै रम्य हुन्छ। ….. लौ यसको निरूपण गर्ने काम गर्नुपर्यो।
यस क्रममा अग्नि र कोकिल … यी दुई बेतालको काँधमा बसेर राजा विक्रमादित्य भोजदेवको नगरी पुगे। त्यहाँ पुगेर उनले सर्वप्रथम ती दुवै वेश्याको घरको प्रक्रियाहरूबारे जानकारी लिए। एउटीले सनपाटको लुगा लगाएकी थिई भने अर्कीले कपासको। एउटीको आभूषण रत्नजडित थियो भने अर्कीले मात्र सुनको आभूषण लगाएकी थिई। एउटीको कोठामाथि सुनको कलश थियो भने अर्कीकोमा माटाको। यही फरक थियो। परिपाटी भने दुवैको एकनास थियो। यस्तो देखेर राजाले विचार गरे, ‘यो फरक त धनका कारणले भएको रहेछ। यसबाट व्यक्तिको गुण वा दोषको निर्णय हुन सक्दैन। यो भिन्नता धनको अनुरूप मात्र देखिएको हो। त्यसैले व्यक्तिको गुणको निरूपण गर्नुपर्यो।
यो विचार गरेर उनले वेश्या-रसिकको रूप धारण गरे। यसरी रूप धारण गरेपछि पहिले उनी लाख दिएर केतकीकहाँ गए। उनीसँग सम्भोग गर्ने क्रममा परस्परको अनुभवले दुवैको हृदयमा प्रेम जागृत भयो। अनि विक्रमादित्यले मनमनै भने– प्रेमीले जुन कुरा सयौँ जतन गरेर थाहा पाउन सक्दैनन् त्यो कुरा सुन्दरी स्त्रीले आफ्नो नयनको कटाक्षबाट क्षणभरमै थाहा पाउन सक्दछन्।
त्यसपछि सम्पूर्ण कलामा निपुण विक्रमादित्य टाउको दुखेको स्वाङ पार्दै पुक्लुक्क ढले। केतकीले उनलाई यस्तो देखेर भनी, ‘लौ, तपाईंलाई के भयो ?’
तर विक्रमादित्यले बेहाशीकै नाटक गरिरहे। यस्तो देखेर केतकीका आँखा रसाउन थाले। उसको अनुहार मलिन भयो। क्षणभरमै उराठ-उराठ, कान्तिहीन देखिन थाली।
मूर्च्छित भएको स्वाङ रचेका विक्रमादित्यले यस्तो देखेर मनमनै सोचे– के भएको होला यस्तो ! वेश्यालाई त धनसँग मात्र सरोकार हुनुपर्ने हो। तर यसले एक क्षणका लागि मात्र मलाई स्वीकार गरे तापनि मलाई बेहोश देखेर आफ्नी विवाहिता पत्नीझैँ मायाले भरिएकी छे। कस्तो अचम्म !
पछि जसो-तसो होश खुलेजस्तो गरेर विक्रमादित्य भन्न थाले, ‘मरेँ नि। यस्तो योद्धा भएर पनि युद्धक्षेत्रमा मरिएन, कुनै तीर्थमा मर्न पाए पनि हुन्थ्यो। तर हेर दुर्भाग्य– एउटी वेश्याको घरमा मर्दैछु।’
केतकीले भनी, ‘प्रिये ! यसको कुनै उपाय छैन ?’
राजाले भने, ‘उपाय त छ, तर तिमी गर्न सक्दिनौ।’
केतकीले सोधी, ‘के छ उपाय ?’
विक्रमादित्यले भने, ‘यो एउटा असाध्य रोग हो। यसले मानिसको ज्यानै लिन्छ। पहिले पनि मलाई यस्तै भएको थियो। त्यतिखेर गजमुक्ताको वाष्प प्रयोग गरेर वैद्यहरूले निको पारिदिएका थिए।’
केतकीले भनी, ‘गजमुक्ता मसँग पनि छ।’
राजाले भने, ‘त्यो त तिम्रो सर्वस्व रत्न हो। आगोमा पोलेर त्यसलाई कसरी नष्ट पार्न सक्छौ र ?’
केतकीले भनी, ‘कस्तो कुरा गर्नुभएको हजुरले ? क्षणभरिकै लागि भए पनि म हजुरकी प्रिया भएकी छु। आफ्ना प्रियका लागि त प्राणै पनि दिन सकिन्छ। आफ्नो प्रेमीको प्राण-रक्षाका लागि धन जाबो कुन ठूलो कुरा हो र ?’
त्यसपछि उसले भित्रबाट गजमुक्ताफल ल्याई। अनि बयरको फललाई पोको पारेर पोलेझैँ पोल्न थाली। यसरी पोलिएको गजमुक्ताफलको पोकोबाट निस्केको वाष्पले विक्रमादित्य निका भए। केतकीको अनुहार उज्यालो भयो। त्यसपछि केतकी पूर्ववत् प्रसन्नतापूर्वक सम्भोगमा लीन भई। पछि पान, कपूर आदि दिएर राजालाई सत्कार गरी।
राजा सोच्न थाले– लौ हेर त ! मेरो पीडामा यो यतिविघ्न दुखी भई। मलाई निको भएको देखेर यो पनि प्रसन्न भई। यो वेश्याले आफ्नो प्रेमीको दुख र सुखलाई पूर्णतः आफ्नो बनाउँदी रहिछ। त्यसैले यसको शरीरमा प्रेमको बास छ।
आफ्नो कामवासना पूरा गरेर एकाबिहानै पूर्व दिशाको लालिमा नियाल्दै विक्रमादित्य त्यहाँबाट बाहिरिए। दिनभरि कतै व्यतीत गरेर साँझपख पाँच पुराण दिएर उनी जातकीकहाँ पुगे। जातकीसँग सम्भोगको उपक्रममा उनले के पाए भने जातकीको मुटु ढुङ्गाभन्दा पनि साह्रो रहेछ। सम्भोगको बेलामा पनि उसमा प्रेमको कुनै लक्षण देखिँदैनथ्यो। थप पुष्टिकरणका लागि राजाले सम्भोग गर्दागर्दै उसको गलाबाट मोतीको माला तानेर चुँडाइदिए। माला चुँडिनासाथ मोतीका दानाहरू ओच्छ्यानभरि छरिए। यस्तो देख्नासाथ जातकी सम्भोगको उमङ्ग बिर्सेर हतपत्त मोतीका दाना टिप्न थाली। सबै टिपेर बटुलिसकेपछि मोतीका दानाहरू गन्न थाली। यसरी गनेर सुरक्षित ठाउँमा राखी हाँस्दै ऊ पुनः ओच्छ्यानमा आई।
यतिञ्जेलसम्म राजा त्यहाँबाट बाहिरिइसकेका थिए। बाहिर गएर उनले विचार गरे– यसले रस कति जान्दछे भन्ने कुरा त सम्भोग कालमा देखिएको यसको गतिले नै प्रष्ट्याइसकेको थियो। मन कति ठूलो छ भन्ने कुरा मोतीको दाना गनाइबाटै प्रष्ट भयो। सम्भोग-विधिबारे अभिप्रायरहित चेष्टाले नै थाहा पाइहालियो। यस्तो लाग्छ– मानौँ विधाताले यसको मुटु ढुङ्गाजस्तो साह्रो बनाएका छन्।
आफ्नो राजधानी फर्केर राजा विक्रमादित्यले राजा भोजलाई लेखेर पठाए– केतकी नै उत्तम स्त्री हो भनेर। उनको पत्रमा जातकी मात्र धनको लोभी भएको उल्लेख थियो। उनले केतकीलाई एक हजार तोला गजमुक्ताफल पनि पठाइदिए।
अहिले पनि–
जसरी सबै कवितामा शब्द र अर्थ हुन्छन्, त्यसैगरी सबै स्त्रीका स्तन र कपाल हुन्छन्। तर जसरी कुनै-कुनै कविता मात्र कलात्मक हुन्छन्, त्यसैगरी कोही-कोही स्त्री मात्र कलावती हुन्छन्। यो कुरा मात्र जान्दछन् राजा शिवसिंह देव।
०००
अनुवादक परिचयः साहित्यकार धीरेन्द्र प्रेमर्षी सिरहाको गोविन्दपुर बस्तीपुरमा जन्मेका हुन् र हाल ललीतपुरमा बसोवास गर्छन् । उनका मैथिली भाषामा गीत सङ्ग्रह ‘कोन सुर सजावी?’ तथा नेपाली भाषामा ‘समयलाई सलाम’ गजल सङ्ग्रह प्रकाशित छन् । उनी कुशल सम्पादक र अनुवादक हुन् । उनका सम्पादित र अनुदित कृतिको सङ्ख्या दर्जन बढी रहेको छ ।