( स्रष्टाहरुले यस वर्षको दशैं कसरी मनाए ? विश्वपरिक्रमाले विभिन्न स्रष्टाहरुसँग ३ प्रश्न राखेको थियो । प्रस्तुत छ, साहित्यकार सुरेन उप्रेतीको जवाफ)
यस बर्षको दशैं कसरी मनाउनु भयो ?
यो बर्षको दशैँमा नेपालमा गएर परिवार र आफन्तजनहरूसँग बसेर मनाउँने ठूलो ईच्छा थियो । तर प्रवासीएका मानिसहरुलाई कहाँ त्यस्तो सजिलो हुन्छ र । सोचाइ एकातर्फ भोगाई अर्को तर्फ । समय र परिस्थिति प्रतिकुल बनेर आयो । दशैँमा नेपालमा जाने बाल्यकालदेखिका वालसखाहरूसँग भेटघाट गर्ने मन थियो । जन्ममूमीमा पुगेर जन्मघरसँग माफी माग्ने रहर थियो । मैले रहरले तिमीलाई छोडेको हैन है भनेर वाध्यताको गाँठो फुस्काएर सुनाउनु थियो । तर यी सबै मनोकांक्षाहरू मन भित्रै कैद भए ।
दिदी नेपालबाट क्यानडाआउनु भएको थियो । नेपाल जान नपाए पनि दशैँको रमाइलो क्यानडामै दशैँ मनाएर गर्नु पर्छ भनेर मनलाई सम्झाएँ । जमरा राख्ने र दशैँको किनमेलको जोहो गरिसकेको थियो । तर टिकाको ठिक पाँचदिन बाँकी हुँदा फेसबुकको पर्खालमा दुखद खबर टाँसियो । बडाबुबाकी जेठी बुहारीको महाप्रस्थान भएको खबर थियो । खबरको सत्यतथ्य जाँच गरियो । खबर असत्य होस भनेर कामना गर्दै बुझ्दा खबर साँचो रहेछ ।
दशैँको टिकाका दिन भान्जीहरूको घरमा भेला भएर टिकालगाइ दिएको हेर्दै बसियो । एक छाक अलिनो खाएर शुद्ध शाहाकारी भएर दशैँ गुज्रियो ।
दशैँको बेला कुन किताब पढ्नु भयो ?
दशैँको शुरूवात हुनै लाग्दा अमेरिकामा रहनु हुने साहित्यकार मित्र नम्रता गुरागाईको म्यासेज आयो । तपाईको ठेगाना पठाई दिनुभए बुबा चन्द्रमणि गुरगाईंले लेखनु भएको पुस्तक ! लेख्नु भएको भिरगाँउदेखि भिमचौरसम्म भन्ने पुस्तक पठाई दिन्छु भन्नु भएको थियो । परदेशमा बस्दा नेपाली पुस्तकहरू पाउँन निकै कठिन छ । त्यसमा पनि नेपाली साहित्यका पुस्तक कमनै पाइन्छ । मलाई त, बाल्यकालमा दशैँका बेला मावल जान्छस् भनेर कसैले सोधे जस्तै लाग्यो । हतार हतार ठेगाना लेखेर पठाइ दिँए । केही दिनमा नै पुस्तक प्राप्त भयो । पुस्तक प्राप्त भए पछि कामका बेलाको खाजा खाने छुट्टी र फुर्सदको समयमा किताबमा आँखा कुदाइ हाल्छु । आँखा किताबबाट निस्कन मान्दैनन् तर समय घर्की हाल्छ । निकै सन्देशमूलक, ज्ञानमूलक र बिगतका कालखण्डलाई बर्णन गरिएको पुस्तक रहेछ । पुस्तकले कहिले धनकुटाका भिरगाउँमा पुर्याउँछ त कहिले सुनसरी र मोरङका गाउँमा घुमाउँछ ।
दशैंको बेला कुनै नयां रचना सिर्जना गर्नु भो ?
दशैँका बेलामा बाल साहित्यकार जनकप्रसाद हुमागाईको बारेमा वालवालिकाहरूलाई शिक्षा दिने प्रकृतिको छोटो जीवनी लेख्दैछु । श्रोत र साधनको अभावमा कती खोजेका र मनलागेका सामाग्रीहरू प्राप्त नहुने कुरा परदेञको बिडम्वना नै हो । यिनै अभावका बिचमा पनि प्रयास जारी छ ।
०००