पुत्ला दहन

कथा मेरो कविताः मेरो रोजाइ

दिव्य गिरी, काठमाडौं

मध्यान्नको समय थियो । सडकमा सवारी साधनहरूको अत्यधिक भीडले गर्दा ट्राफिकलाई सवारी साधनको व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो । जेठ महिनाको घाम अत्यन्त चर्को भएकोले बटुवाहरू पसिनाले भिजेका थिए ।
एउटा गल्लीबाट हातहातमा विभिन्न नारा लेखिएका प्लेकार्ड उठाएर नेता र सरकारविरूद्ध नारा लगाउँदै मानिसहरूको भीड मुख्य सडकमा प्रवेश गर्यो । जुलुसको बीचमा झन्डै पन्ध्र सोह्र फिट अग्लो एउटा पुत्लालाई दुई–तीन जनाले उचालिरहेका थिए । पुत्लाको टाउकोमा एउटा ठूलै नेताको तस्बिरको फोटोकपि टाँसिएको थियो । जुलुस नारा घन्काउँदै मूख्य सडकबाट अघि बढ्न थाल्यो । क्षणभर मै सडक अवरुद्ध भएपछि सवारी साधनहरू पनि जुलुसको पछाडि बिस्तारै गुड्न बाध्य भए । एक जना नेताको मोटर पनि सवारी साधनहरूको बीचमा फस्यो ।
नेताको फोटो टाँसेको पुत्ला खोस्न भनी केही ट्राफिक प्रहरी जुलुसभित्र छिर्न खोज्दै थिए तर भीड छिचोलेर जान सकेनन् । जुलुस एउटा चौरास्तामा पुग्नासाथ जुलुसकै एक जना युवाले पुत्लामा आगो लगाइहाल्यो । पुत्ला दनदनी जलेर निस्केको आगोको मुस्लो र धुँवा माथिमाथि आकाशमा उठन थाल्यो ।
पुत्ला जलेपछि जुलुसका मानिसहरूले ताली पिटे । सिटी बजाए । एकछिनसम्म हाहाहुहु गरे । मोबाइलबाट भिडिओ र फोटो खिच्नेहरूलाई भ्याईनभ्याई थियो । त्यसपछि जुलुस क्षणभरमै तितर–बितर भयो । सवारी साधनहरू फेरि अघि बढन थाले । नेताले झ्यालबाट टाउको निकालेर एक जना ट्राफिकसँग सोधे– ‘कसको पुत्ला रहेछ?’ । ट्राफिकले नेताको अनुहारमा हेर्यो । ऊ असमञ्जसमा पर्यो । उसलाई के भनुँ के भनुँ भयो । अनि अन्कनाउँदै बिस्तारै भन्यो– ‘खै, हजुर मलाई पनि थाहा भएन ।’

Leave a Reply