(सूर्य नेपाल काठमाण्डु कॉलिंग साहित्य महोत्सव गत भदौ १५ देखि १७ सम्म काठमाडौंमा सफलतापूर्वक सम्पन्न भयो । सो सम्मेलनकी निर्देशक तथा संयोजक रञ्जना निरौला थिइन् । सो सम्मेलनका संयोजक निरौलासँग सोधिएको ५ प्रश्न र तिनका उत्तर पाठकहरुका लागि प्रस्तुत छ -सं.)
१, सूर्य नेपाल काठमाण्डु कॉलिंग साहित्य महोत्सवको नेपाल संस्करण २ अघिल्लो बर्षभन्दा बढी चाखलाग्दो मानेको देखियो, निर्देशक-संयोजकको नाताले तपाईंलाई चाहीं कस्तो अनुभव भयो ?
साहित्य लगायत विविध भाषाभाषी, विविध विषयलाई समेट्ने कोशिस गरेका थियौं । केही सार्क देशका साहित्यकारहरू, कलाकारहरु तथा विशिष्ट व्यक्तित्वहरू पनि सहभागी हुनुहुन्थ्यो । त्यसै कारण पनि अलिक चाखलाग्दो बनेको हो। गत वर्ष भन्दा अलिक नयाँ कुरा दिन खोजेका थियौं । कुल मिलाएर हेर्दा सन्तोषजनक रह्यो कार्यक्रम ।
२, झण्डै ४०० जना सहभागी र पचासौं सेसन सम्हाल्न त्यति सहज नभए पनि कसरी सफलतापूर्वक सम्पन्न गर्न सकियो ?
समुहमा बसेर काम गर्यौं । एक अर्कालाई विश्वास गर्यौं । टीम वर्क भएर कार्यक्रम गर्न सजिलो भयो ।
३, यशस्वी बुक एवार्ड र यशस्वी संस्थाको वारेमा अलिकति जानकारी दिनुहोस् न !
यशस्वी प्रज्ञा प्रतिष्ठान नेपालको यौटा साहित्यिक प्रतिष्ठान हो। नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्धनमा सहयोग गरोस भन्ने यसको उद्देस्य रहेको छ । यो संस्थाले यो वर्षदेखि साहित्यका विभिन्न विधामा अवार्ड दिन सुरु गरेको हो। काठमाडौँ कलिंग साहित्य महोत्सवमा यसको सुरुवात गरिएको हो ।
४, काठमाडौँ-कलिंग साहित्य महोत्सव अब के निरन्तर काठमाडौंमा हुने हो ? कि नेपालको अन्य शहरमा पनि लान सकिने सम्भावना छ ?
यो महोत्सव काठमाडौँ मै निरन्तर हुने छ।
५, साहित्य उत्सवहरु त विभिन्न संस्थाले गरिरहेका देखिन्छन्, यस्तो उत्सवले नेपाली साहित्य र साहित्यकारलाई के चै विशेष योगदान पुग्छ भन्ने लाग्छ तपाईंलाई ?
यो महोत्सवको मुख्य उधेस्य नेपाली भाषा, साहित्य संस्कृतिको प्रवर्धन नै हो । देशका र विदेशका बिभिन्न ठाउँका कवि, सहित्यकार कलाकारलाई एक ठाउँमा राखेर वहाँहरूलाई सुन्नु पाठक स्रोताको लागि प्रेरणा नै हुन्छ भने नेपाली साहित्यलाई अन्तराष्ट्रिय क्षेत्रमा लानलाई सहयोग पुर्याउन सकिन्छ कि भन्ने लाग्छ ।
०००
परिचयः रञ्जना निरौला सक्षम कवयित्री, निवन्धकार, सम्पादक तथा यशस्वी प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष हुन् । तेह्रथुम जिल्लामा जन्मिएकी उनी हाल काठमाडौं घट्टेकुलोमा बसोवास गर्छिन् । विसं २०५८ सालमा पहिलो रचना प्रकाशित भए यता उनको लेखन निरन्तर छ । उनका “छरिएका भावना”(२०६८) तथा “कलम र म” (२०७४) कविता सङ्ग्रहहरु तथा “अनुभूतिको अवतरण” (२०७९) निबन्ध सङ्ग्रह प्रकाशित छन् । उनको एक अङ्ग्रेजी कविता सङ्ग्रह “रिदम अफ पेन”(२०७९) समेत प्रकाशित छ । )