लामो समयदेखि अमेरिकालाई कर्मभूमि बनाएकी नीलम कार्की निहारिका कवयित्री, कथाकार तथा उपन्यासकार हुन् । तर “अर्की आइमाई” उपन्यासको प्रकाशनपछि उनको लेखनी उपन्यास विधामा केन्द्रित भएको छ । उनको “चीर हरण” उपन्यासले पद्मश्री पुरस्कार पाएको थियो भने “योगमाया” ले मदन पुरस्कार । उनको “द्रौपदी अवशेष” हालै प्रकाशित उपन्यास हो । प्रस्तुत छ, नविनतम उपन्यासको वारेमा केन्द्रित अन्तर्वार्ता ।
१, “ द्रौपदी अवशेष” उपन्यास लेखनको पृष्ठभूमि के हो ? के ले लेखायो यो उपन्यास ?
बहुपति प्रथामा केही लेख्छु भन्ने निकै अघि देखिको सोच हो । तर कुन विधामा र कहिले उठान गर्ने निर्णय गरि सकेकी थिईन । म जुन बेला त्यस ठाउँमा पुग्ने अवसर पाएकी थिएँ त्यस समय चुपचाप त्यहाँको भूगोल र समाज ,जीवनका दैनन्दिनीलाई मेरो मनमा , मानसपटलमा सुरक्षित बसाएकी थिएँ । यो कोरोना महामारीको समय मेरो ठुलो छोराले त्यो चित्रलाई निकालेर सामु राखी दिए । यसमा केन्द्रित भएर उपन्यास लेख्न सुझाए । मलाई चाहिने थप समाग्री जुटाउने काममा पनि उनले सहयोग गरे । हामि लेख्नेहरुले लेख्छु लेख्छु भन्दा भन्दै कलम उठाउन नसकेका नभ्याएका तमाम बिषय हुन्छन् । त्यस्तै थियो यो मेरो लागि । बल्ल पुर्णता पायो । अब आफनो एउटा जिम्मेबारी पूर्ण भए झैँ हलुका महसुसमा पनि छु ।
२, “अर्की आइमाई” पछि “ चीर हरण”, त्यसपछि “योगमाया” र अहिले फेरि “द्रौपदी अवशेष” ! महिलाकेन्द्री र पौराणिक पात्रसंग यतिविघ्न अट्याचमेण्ट किन ?
-पछिल्लो समय म मिथक ,इतिहास ,र सस्कृतीमा कलम चलाएको छु । यी बिषय लेखिनु पर्ने हो भन्ने लाग्यो । म पछिल्लो समय त्यसमा केन्द्रित छु । योजनाबद्द रुपमा भन्दा पनि त्यस्तै पर्न गएको छ । मलाई मेरो मनले चीरहरण लेख भन्यो लेखें । मेरो गुरु दाहाल यज्ञनिधिले योगमाया लेख भन्नु भन्नु भयो त्यो पनि लेखें ।छोराले बहुपति प्रथा ( द्रौपदी अवशेष) लेख्नु भने, त्यसमा पनि कलम चलाएँ ।मेरी आमाले इतिहासको एक पाटो बताउनु भयो लेख्न लाउनु भएको छ ।त्यसमा काम गर्दै छु । मैले मात्र होइन मबाट अपेक्षा राख्नेले पनि यस्तै चाहानु भएको रहेछ भन्ने बुझेको छु ।
३, आफू नभिजेको परिवेशको उपन्यास लेख्दा त्यहांको परिवेश र जीवनप्रति पूर्ण न्याय कत्तिको हुन सकेको तपाईंको ठहर छ ?
-भिन्न परेबेशको अध्धयन पश्चात कथा बुन्दाबुन्दै पात्र यसरी आफूमा प्रवेश गर्छ कि ,आफु नै पात्र जीबन बाँचिन्छ । लेखिरहेको बखतको समय मात्र होइन किताब मैजारो गरेको एक दुई महिनासम्म पनि आफूबाट पात्र अलग नभएको अनुभव छ । म मेरा पात्र बोल्ने जस्तो भाषा घरमा बोलि रहेको हुने रहेछु । म आफू -आफू होइन भन्ने लाग्छ । महाभारतीय समाजको या योगमाया समय या हाल बहुपति प्रथा सँस्कृतीमा हुर्किएको म होइन । तर मैले उठान गरेको बिषयको पिंधसम्म पुगेको छु ।लेखुन्जेल त्यही परिवेशमा सम्बधित पात्र बाँचेको छु ।यस अर्थमा पनि मैले आफै लाई बिर्सिएर मेरो पात्रप्रति न्याय गरेकी छु भन्ने लाग्छ ।
४, अव अर्को उपन्यास शुरू गरिसक्नु भएको छ, कथानक अहिलेकै सिलसिलाको निरन्तरता हो कि फरक हुन्छ? अनि कहिले पाठकको हात पार्ने योजना छ ?
-हो ,मैले द्रौपदी अवशेष भन्दा अघि लेख्न सुरु गरेको र बीचमा थाती राखेको ऐतिहासिक बिषयलाई आख्यानीकरण गर्दै छु । करिब डेढ बर्ष अघि लेख्दा लेख्दै थान्काएको हुँदा फेरि अध्ययनमा लागेको छु । कहिलेसम्म पाठक सम्म पुग्छ अहिले नै निश्चित गर्न सक्ने अबस्था छैन । तर २०७० देखि हरेक दुई बर्षमा पाठक समक्ष नबिन पुस्तक लिएर पुग्ने गरेको छु । यो भन्दा ढिलो नहोला भन्नेमा छु ।
५, अनि पाठकलाई तपाई उपन्यास मात्रै दिने विचार हो कि कसो ? अरू विधाको विषयमा के सोच्नु भएको छ ?
-मैले मुख्य रुपमा अहिले सम्म कलम चलाउदै आएको कथा ,कबिता र उपन्यास हो । २०७० साल यता म उपन्यासमा केन्द्रित भएको कुरा मेरा प्रकाशित पुस्तकबाट नै स्पस्ट छ । यो बर्ष फुटकर रुपमा दुई चार कथा र कबिता पनि लेखें । २०७६मा मेरा यस अघि छापिएका तिन कथा संग्रहमा थप पाच कथा सहित ४३ कथा प्रकाशित पनि भएको थियो । तर अब अर्को संग्रहको रुपमा कथा र कबिता लिएर आउन मलाई अलि समय लाग्ने छ । उपन्यास लेखनमा भए पछि म अरु विधातिर हलचल गर्न, फुत्किन सक्दिन । त्यही बाँधिएको हुन्छु । त्यस कारण पनि मैले अरु विधामा पस्किन नसकेको हो ।
०००
निलम निहारिका बहिनीलाई लगभग नौ /दश बर्षअघि न्युयोर्कमा भेट्ने अवसर मिलेको थियो। हामी केही कार्यक्रममा सँगै हिंडेका पनि थियौं। शालीन,सौम्य,मृदुभाषी निलमभित्रको उपन्यास लेखन क्षमताले म दङ्ग छु। सायद उपन्यास विधामा यो समयमा नारी कलममा वहाँ नै अगाडि हुनुहुन्छ होला। अझ वहाँको कलम यहि विधामा अगाडि बढोस्। अन्य विधामा अनगिन्ति छन् अरु नै। शुभकामना धेरै धेरै।