श्रष्टाको दशैं ; १०,  डिआर पोखरेल

अन्तरवार्ता

( स्रष्टाहरुले यस वर्षको दशैं कसरी मनाए ? विश्वपरिक्रमाले विभिन्न स्रष्टाहरुसँग ३ प्रश्न राखेको थियो । प्रस्तुत छ, साहित्यकार डिआर पोखरेलको जवाफ)

यस वर्षको दसैं कसरी मनाउनु भयो ?

दसैँ साधारण ढङ्‌गले मनाइयो । यो नेपालीहरूको महत्वपूर्ण साँस्कृतिक पर्व भएकाले यसका कतिपय कुराहरु परिष्कृत र मनोहर लाग्छ । मालश्रीको  घुनले मनलाई छुन्छ । जमरा लगाएर हिंड्न, यो उम्रेको हेर्न मजा लाग्छ । टीकाको निहुँमा घर परिवार, इष्ट मित्र एवं आफन्तबीचको भेटघाट अत्यन्त सुन्दर पक्ष लाग्छ । तर यस वर्ष पहिलेको तुलनामा त्यति रमाइलो भएन । भेटघाट सघन भएन । माछा मासुमा पनि रुचि भएन। सबभन्दा मुख्य कुरो त फुर्सद पनि त्यति भएन । लेख्ने, पढ्ने केही जिम्मेवारीका र केही रहरका कार्यहरु भएकाले त्यसैमा भुलियो। यसो भएकाले दशैंको विशेष रौनक भएन, साधारण रूपमा मनाइ‌यो ।

दसैको बेला कुनै किताब पढ्न पाउनुभयो ?

यसपालिको दसैमा पढ्ने भन्दा पनि अभिलेखहरूको खोजी गर्ने, तिनको अध्ययन, वर्गीकरण र सत्यापन गर्ने कार्यले नै बेफूर्सती बनायो । नेपालका प्रथम कवि सुवानन्द दास को पृथ्वीनारायण शाहसम्बन्धी कविताको पूर्ण पाठ खोज्ने काम भयो । योगी नरहरिनाथले ‘इतिहासप्रकाशमा सन्धिपत्र संग्रह’ मा यो अभिलेख सङ्ग्रह गर्नुभएको रहेछ । यसको खोजले केही दिन खायो ।

दसैको बेला कुनै नयाँ रचना सिर्जना गर्नुभयो ?

घरपालुवा जनावर रैथाने नेपाली गाई सम्बन्धी एउटा जर्नललाई रिसर्च लेख लेख्ने जिम्मेबारी थियो। त्यस सम्बन्धी सन्दर्भ सामग्री खोज्ने, पढ्ने सँगै लेख्ने काम पनि भ्याउनुपर्ने भएकाको दसैँ अस्तव्यस्ततामा बित्यो । लेख्ने, पढ्न, खोज्ने काममा जोतिनु परेकाले दसैं आएको गएको पत्तो भएन । जसोतसो टीका लाउने कामचाहिँ भ्याएँ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *