मध्ययुगीन मैथिली नाट्य र गीतबारे भाषावैज्ञानिक पुस्तक प्रकाशित

मुख्य समाचार

४ असोज २०८०, काठमाडौं

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले डा.रामावतार यादव लिखित “मध्ययुगीन मैथिली नाट्य र गीति कृतिहरूको भाषावैज्ञानिक वर्णन-विश्लेषण” नामक पुस्तक प्रकाशित गरेको छ । यस कृतिलाई प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य एवम् परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख धीरेन्द्र प्रेमर्षिको सम्पादन गरेका हुन् ।
जर्मनी, बेलायत, अमेरिका, भारत र नेपालबाट समेत अङ्ग्रेजी र मैथिलीमा भाषा-विज्ञानसम्बन्धी अनेकौँ पुस्तक प्रकाशन भइसकेका डा. रामावतार यादवको नेपाली भाषामा प्रकाशित यो पहिलो कृति हो ।
कुल १० अध्यायमा संयोजित उक्त पुस्तकमा मध्ययुगीन (मल्लकालीन) मैथिली पाण्डुलिपिः साङ्ख्यिकी, मध्ययुगीन प्रकाशित ग्रन्थः संक्षिप्त परिचयात्मक टिप्पणी, विश्वका विभिन्न मुलुकमा अद्यतन प्रकाशित (मल्लकालीन/मध्ययुगीन) नाट्यकृतिहरूका संक्षिप्त विवरणात्मक सूची, मध्ययुगीन मैथिलीको भाषावैज्ञानिक वर्णन-विश्लेषण (१६००-१७६९ ई.), राग-तालः शास्त्रीय विवेचना, गीति विधाका प्रकाशित ग्रन्थबाट चयनित गीतहरूमा प्रयुक्त राग-तालको पाठगत वर्णन-विश्लेषण, गीत-सङ्गीतको समग्र गुण वृद्धि/उत्कर्षमा राग-तालको अवदानजस्ता महत्त्वपूर्ण विषयहरू समेटिएका छन्।
भाषावैज्ञानिक डा.यादवबाट भाषा-विज्ञानसम्बद्ध वर्णन-विश्लेषण प्राप्त हुनु स्वाभाविक र अपेक्षित भए तापनि राग-तालको शास्त्रीय विवेचना, त्यस कालखण्डका गीतहरूमा प्रयुक्त राग-तालको पाठगत वर्णन-विश्लेषण, गीतको गुणस्तर अभिवृद्धिमा राग-तालको योगदानजस्ता विषयसमेत समाविष्ट हुनु भनेको पाठकहरूका निमित्त अतिरिक्त र विशिष्ट प्राप्ति हो । यसले सङ्गीत-सम्पदासम्बन्धी अध्ययनको पाटोलाई पनि कोट्याएको छ, जसले कालान्तरमा साङ्गीतिक ज्ञानमा समेत निष्णात कुनै विद्वान्‍बाट विस्तृति पाउँदै जाने विश्वास गर्न सकिन्छ ।

1 thought on “मध्ययुगीन मैथिली नाट्य र गीतबारे भाषावैज्ञानिक पुस्तक प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *