८ सेप्टेम्वर २०२३, सिलिगढी
भारतीय नेपाली साहित्यका धरोहर नरवहादुर दाहालको उपचारको क्रममा ८ सेप्टेम्वर २०२३ का दिन साँझ निधन भएको छ ।
सन् १९३७ सेप्टेम्वर ५ का दिन कालेबुङमा जीतवहादुर दाहाल र वेदमाया दाहालको सुपुत्रको रुपमा जन्मेका उनले सन् १९५० मा लैनसिं वाङ्गदेलको सम्पादनमा प्रकाशित “प्रभात” पत्रिकामा “स्मरण” शिर्षकको गद्य कविताको प्रकाशनसँगै साहित्य यात्राको थालनी गरेका थिए ।
उनका “उन्माद” (कविता सङ्ग्रह)सन् १९५८, “बर-पिपल”(कथा सङ्ग्रह) सन् १९६०, “मध्यरातको तारा” (उपन्यास)सन् १९६४, “तिम्रो प्रीत नै मेरो गीत” (कविता सङ्ग्रह)सन् १९७०, “नरेन्द्र प्रसाद कुमाई” (जीवनी)सन् २०००, गङ्गाप्रसाद प्रधान (जीवनी ) सन् २०११, “गोर्खा महानायक डम्बरसिंह गुरुङ (जीवनी)सन् २०१५ र “लभ यु जिन्दगी” (कथा सङ्ग्रह) प्रकाशित छन् ।
स्व. दाहाललाई उनको साहित्यिक योगदानको कदर गर्दै सन् २०२२ को सेप्टेम्बरमा अगमसिं गिरी संस्थान सलुवाको प्रकाशन”परदेशी” पत्रिकाले नरवहादुर दाहाल बिशेषाङ्क प्रकाशित गरेको थियो । साथै अगमसिं गिरी संस्थान सलुवा र साँस्कृतिक संस्थानको संयुक्त आयोजनामा सुकना उच्चतर माध्यमिक विद्यालयमा सो विशेषाङ्कको विमोचन निकै भव्य समारोहका वीच गरिएको थियो ।
उनी ९ बर्षको उमेर हुँदा महाकवि देवकोटा कालेबुङ आउँदा उनको भाषण सुनेको बताउने गर्थे ।
आफ्नो पूरा जीवन साहित्यमा अर्पेका उनले पारसमणि पुरस्कार, कालेबुङ (२००२),आशारानी निर्माण पुरस्कार, गान्तोक (२००२) पदमप्रसाद ढुङ्गाना पुरस्कार, गुवाहाटी (२००३), मदन स्मारक व्याख्यानमाला पुरस्कार, वाराणसी (२०१०), बद्रीनारायण प्रधान स्मृति पुरस्कार, बाग्राकोट (२०१४), नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार, काठमाण्डौं (२०१४), अगमसिंह गिरी पुरस्कार, दार्जीलिङ , मोती प्रतिभा पुरस्कार, नेपाल (२०१५), योगी नरहरिनाथ अन्तर्राष्ट्रिय पुरस्कार, नेपाल (२०१५), रामचन्द्र गिरी स्मृति पुरस्कार, दार्जीलिङ (२०१०), ‘चन्द्रिका’ पुरस्कार, गोर्खा जन पुस्तकालय, खरसाङ (२०२०), दान खालिङ साहित्य सम्मान – २०२१, देवकोटा साहित्य सेवा पुरस्कार (प्रथम) – २०२१, भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार (२०७९) नेपाल प्जरज्स्ताञा प्रतिष्ठान, काठमाडौं, साहित्यिक पुरस्कार प्राप्त गरेका थिए ।
यी पुरस्कारहरुका अतिरिक्त झण्डै तीन दर्जन संघसंस्थाले उनलाई सम्मान गरेको थियो ।
नेपालको साहित्यिक पत्रकार संघले आफ्नो स्वर्ण महोत्सवमा दाहाललाई सम्मान गर्ने निर्णय भएको थियो । सो सम्मान ग्रहण गर्न उनी काठमाडौं जान सकेनन् र उपयुक्त समयमा दाहाललाई निवासमै गएर सम्मान समर्पण गर्ने योजना बनाउँदै गर्दा यो दुखद निधनले अब त्यो अधूरो रहेको संघका अध्यक्ष राधेश्याम लेकालीले बताए ।
उनको निधनमा भारत, नेपाल र विश्वभरिका नेपाली समुदायका ब्यक्तिहरुले सामाजिक सञ्जालमार्फत् शोक प्रकट गरेका छन् ।
(कालिम्पोङका नविन पौडेल, कलकत्ताका विकास कार्की र दार्जीलिङकी देविका मङ्ग्रातीको सहयोगमा)
०००
