एकदिने चक्करमा तीन पुर

नियात्रा

जय छाङ्छा

 

कान्तिपुर अर्थात् काठमाडौं उपत्यकाका डाँडाहरूका भ्रमण सम्पन्न गरिसकेर ‘पैदलै काठमाडौंका चुलीहरू’ नामक नियात्रा कृति वि.सं. २०७५ मा प्रकाशित गरिसकेको छु । र, सो कृतिलाई ‘तुलसी चन्द्र स्मृति पुरस्कार’ समेत प्राप्त भएको थियो । यति हुँदाहुँदै पनि काठमाडौं वरिपरि र आसपासका स्थानहरू घुम्ने धोको मेटिइसकेको छैन मेरो ।

कुलेखानी तथा चित्लाङको यात्रा गर्न पाए नि हुने थियो भन्ने लागिरहेको थियो मेरो मनमा । किनकि धेरै जनाले भनेको सुनेको छु महाकवि लक्ष्मीप्रसाद देवकोटाको अत्यन्त मन परेको स्थान मध्येको एक स्थान चित्लाङ्ग थियो रे ! महाकविले कतिपय कविताहरू चित्लाङ्ग बसाइको क्रममा लेखेका थिए रे !  अझ भन्ने हो भने चित्लाङ्गका तामाङ्गहरूका पराक्रमी कार्य बारे पनि यदाकदा सुन्दै आएको थिएँ । मोटर बाटो नभएको राणकालीन समयमा भीमफेदीबाट चित्लाङ्ग हुँदै मोटरहरू काठमाडौंसम्म बोकेर ल्याउने काम गरेका थिए रे यहाँका तामाङ्गहरूले !

त्यसरी नै चित्लाङ्गको मूला नेपालभरि प्रसिध्द रहेको बारे पनि सामान्य ज्ञानका पुस्तकहरूमा पढेको छु । यिनै कुराहरू सुन्दै र पढ्दै आएकोले एक पटक चित्लाङ्ग पुग्न पाए पनि हुन्थ्यो भन्ने लागिरहेको थियो ।

काठमाडौंबाट चित्लाङ्ग जानेहरूले भन्ने गरेका थिए– फर्पिङ्ग, कुलेखानी भएर जाँदा करिब ५७ कि.मि. दुरीमा रहेको छ । त्यसरी नै थानकोट भएर भालेश्वर वा चन्द्रागिरि केवल कारको स्टेशन भएर पनि जान सकिन्छ चित्लाङ्ग । भालेश्वरबाट करिब २५ कि.मि. दुरीमा रहेको छ । धेरै मान्छेहरु चन्द्रागिरि वा भालेश्वरबाट पैदलयात्रा गरेर चित्लाङ्ग जाने गरेका पनि छन् । यिनै कुराहरूबाट आकर्षित भएर एक पटक चित्लाङ्ग पुग्ने रहर मनभित्र बसिरहेको थियो ।

यस्तैमा बैशाख २६, २०८० को विहान मेरा मित्र रामेश्वर पौडेलले फोन गर्नु भई कुलेखानीको यात्रामा जाने हो कि भनि सोध्नुभयो । के खोज्छस् कानो आँखो भने झै भयो मलाई र हत्तपत्त सोधें– ‘कहिले र को को जाने ?’

‘आजै मध्यान्हतिर जाने, हामी दुई जना छौं । तपाईको पनि समय भए तीनजना हुने छौं । समय छ भने जौं न रमाइलो हुन्छ !’

‘हुन्छ नि । त्यस्तो केही छैन । घरमा सल्लाह गरेर निस्कुंला नि । कति बजे, कहाँ भेट्ने हो?’

‘साँढे दश वजे । नयाँ वानेश्वरको  शंखमूल  जाने मोडमा ।’

‘हुन्छ नि । समयमा नै आइपुगुंला नि मोडमा ।’

विहानको खाना खाएर पैदलै शंखमूल जाने चौकमा पुगें । अनि ‘लस्सी एण्ड मोर’ नामक पसल अगाडि पर्खिदै उभिएँ । तोकिएको समयभन्दा बीस मिनेट ढिलो गरी आउनु भयो रामेश्वरजी र ज्ञानु लामाजी ।

अभिवादन गर्दै रामेश्वरजीको रातो रङ्गको ‘बागमती बी.एसी ५२४०’ नम्बरको कारमा चढें । कार चालकको काम रामेश्वरजीले गरिरहनु भएको छ भने ज्ञानुजी पछाडिको सिटमा बस्नुभएको छ । त्यसैले अगाडिको खालि सिटमा ढसमस्स भएर बसें म ।

स्मरणरहोस् कि सिन्धुपाल्चोक लिसङ्खु पाखर गाउँपालिका स्थायी वासिन्दा ज्ञानु लामाजी केही वर्षदेखि लण्डनमा बस्दै आउनु भएको छ । रामेश्वरजीको पुरानो मित्र । रामेश्वरजी लण्डन स्थित नेपाली राजदूतावासमा कार्यरत रहेको समयमा ज्ञानुजीसँग निकटको मित्रता रहेको र वरिपरिका स्थानहरुमा सँगसँगै घुम्ने जानु भएको रहेछ । घुम्नमा रउसे ज्ञानुजी नेपाल आएको समयमा रामेश्वरजीले घुमाउने इच्छा राख्नु भएको रहेछ ।  दुवैजनाको समय अनुकूल भएकोले कुनै नयाँ स्थानमा घुम्न जाने निर्णय गर्नु भएको रहेछ । यही मेसोमा मपनि घुम्न रुचाउँने भएको कुरा रामेश्वरजीलाई थाहा भएकोले समय मिलेमा जाऔं न भनी भन्नुभयो ।

स्मरणहोस् कि ज्ञानुजी गत चैत्रको चौथो हप्तामा विशेष कामले नेपाल आउनु भएको थियो । र, ज्ञानुजी आएको मौकामा केही समय सँगै बिताउनाका लागि रामेश्वरजीले कुलेखानी भएर चित्लाङ्ग घुम्ने योजना बनाउनु भएको रहेछ । त्यही मेसोमा मलाई पनि सँगै लैजाने मनसायले अनुरोध गर्नु भएको रहेछ रामेश्वरजीले । त्यसैले नै मलाई पनि चित्लाङ्ग यात्रामा जोड्नु भयो रामेश्वरजीले ।

दश वजेर पचास मिनेट जाँदो समयमा तीन जनाको यात्रा शुरु भयो । आपसी कुराकानी गर्दै शंखमुल, शंखमुल पुलको तलतिरबाट वा वागमती करिडरमा दायाँ लागेर यु.एन्. पार्कको पुल तरेर पाटन वा ललितपुर छिर्यौं ।

त्यसपछि पश्चिमतिर हल्का उकालिंदै पाटन ढोका पुग्यौं । पाटन ढोकाबाट उत्तरतर्पm हान्निएर पुल्चोक पुगी जावलाखेल, एकान्तकुना भएर सवा एघार वजे मेडिसिटी अस्पताल भैसेपाटी पुग्यौं ।

त्यसपछि क्रमश: सिध्दि पार्क, मञ्जुश्री टोल, सैवु ओराली नाघेर वागमतीको पुरानो पुलमा पुग्यौं । रामेश्वरजीले कार हाँक्दै वताइरहनु भएको छ– ‘मञ्जुश्रीले यहीं त हो नि उपत्यकाको पानी बाहिर पठाउन चट्टान काटेको ठाउँ । पुल पारि मञ्जुश्री पार्क छ र पार्कको फेंदीमा जलविनायकको मन्दिर छ ।’

मन्दिर भएको स्थानतर्फ फर्केर दण्डवत् गर्यौं र पुल तरेर आफ्नो गन्तव्य छोट्याउन लाग्यौं ।

सुख्खा वन्दरगाह निकै आकर्षक देखियो । चोभारमा पहिले हिमाल सिमेण्ट उत्पादन हुन्थ्यो । तर अहिले बाहिरबाट आयात भएका सामानको भन्सार कार्यालय बनेको छ ड्राइ पोर्ट वा सुख्खा वन्दरगाह ।

सिमेण्टको कुरा सम्झिदै नेपालका केही उद्योग धन्दाको बारेमा संक्षिप्त वहस चल्यो हामी बीचमा । र, निष्कर्ष रह्यो, उद्योग धन्दा देखी नसक्ने राहुहरुको देश हाम्रै देश भएको छ भन्ने ।

हुन पनि ‘बाँसबारी छालाजुत्ता कारखाना’, ‘जनकपुर चुरोट कारखाना’ देखि यातायातको सुविधा पुर्याउने ‘मकवानपुरको भैसे–काठमाडौंको कालीमाटीसम्म चल्ने रोप वे’, ‘काठमाडौंको त्रिपुरेश्वर– सूर्यविनायक भक्तपुर’ चल्ने ट्रली बस सेवा आदि बेथिति र चरम अदूरदर्शीताका कारण बन्द गरिने कार्य भएको छ । प्रगति र उन्नतिका बाधक नेतृत्व यही देशका कुपुत्रहरू रहेका कुराको साक्षी छौं हामीहरू । मुकदर्शक बनेर टुलुटुलु हेर्ने जनता मध्येका हामी पनि हौं । आक्रोस मिश्रित आफ्ना कुराहरू ओकल्दै कार यात्रामा रहेका छौं ।

यस्तैमा टौदह आइपुगिएछ । टौदह भन्न वा देख्नासाथ कर्कोटक नागको स्मरण हुन्छ स्वभाविकरुपमा । टौदह बारे संक्षिप्तमा कुरा गर्दै अगाडि बढ्ने क्रममा दक्षिणकाली नगरपालिकाको गेटले स्वागत गर्यो हामीलाई ।

त्यसपछि खहरे, चाल्नाखेल पछि सानो जङ्गलको यात्रामा मिसियौं हामी ।

बाँसबारी, नागेश्वर महामन्दिर हुँदै अगाडि बढ्दा दायाँपट्टिको भिरालो जग्गामा ठूलो नेपालको राष्ट्रिय झण्डा बनाएको रहेछ । त्यो देखेर सबै जना खुशी भयौं ।

साढे एघार वजे फर्पिङ गुम्बा पुग्यौं । तीनवटा गुम्बा देखेर खुशी हुनुभयो ज्ञानुजी । तर गुम्बा बनाउनु भन्दा अरु विकास निर्माणका काम र रोजगारी दिने खालका कामहरू भएको भए सुनमा सुगन्ध हुने थियो भन्ने विचार व्यक्त गर्न पछि पर्नु भएन ज्ञानुजी ।

यस बेला डोल्लुबाट सतिखेल प्रवेश गरेका छौं हामीले । पसलको अगाडि टाँसिएका साइनबोर्डले यस बारे जानकारी दिइरहेको छ हामीलाई ।

यसपछि क्रमश: शेषनारायण, फर्पिङ्गको त्रिभुवन आदर्श स्कूललाई छोड्दै अगाडि बढिरहेका छौं ।

फर्पिङ्ग बजारको उत्तर चौकबाट बायाँतर्फ गए प्रशिध्द शक्तिपीठ दक्षिणकालीको मन्दिरमा पुगिन्छ । तर आजको हाम्रो यात्रा कुलेखानी हुँदै चित्लाङ्ग भएकोले बजारको छेउबाट दायाँतर्फ  मोडिन्छौं ।

टुल्कु भन्ने स्थानको सल्ला घारीहुँदै अगाडि बढेर लामा गाउँ भित्रिन्छौं ।

सानीमल हनुमन्ते, हुमाने भञ्ज्याङ्गमा ‘विमला खाजा घर’ देखियो । पानी किनेर बोक्ने कि भन्ने विचार थियो । तर पानीकै मुहानतिरको यात्रा भएकोले किन्ने काम गरेनौं ।

हुमाने भञ्ज्याङ्गबाट कुलेखानी १६ कि.मि. रहेको कुरा एउटा मुड्कामा लेखिएको रहेछ । त्यो सूचनालाई सुटुक्क नोटकपीमा सारें ।

साढे बाह्रवजे फाखेलमा आइपुग्यौं ।

दशवजेर पचास मिनेटबाट शुरु भएको यात्रा । एक घण्टा चालीस मिनेट लागेछ दक्षिणकालीको फाखेल आइपुग्नलाई ।

बाटोको दायाँबायाँतिर लालीगुराँशहरू फुलेका देखिन्छन् रहरलाग्दो गरी । एक मनले टिपेर लैजान पाए पनि हुन्थ्यो भन्ने लाग्छ । माछा खाँदा घाँटीमा काँडा अल्झिन पुग्योभने लालीगुराँशको फूल खानुपर्छ रे भनी सुनेको छु । तर समय अभावले गर्दा लालीगुराँशको फूल टिप्ने सक्ने अवस्थामा छैनौं हामी ।

१२:४८ वजे पुरण्डीमा भएको पुल तरेपछि मकवानपुर जिल्लामा भित्रिएछौं । कुलेखानीको धेरै नजिक आइपुगेछौं ।

कुलेखानी सुकैरा भन्ने स्थानमा दौडिरहेका छौं ठीक यसबेला ।

यस्तैमा एउटा जीप आयो हाम्रो विपरितबाट । साँघुरो र घुम्ती बाटो भएकोले हर्न बजाउँदै रामेश्वरजीले साइड माग्नुभयो । साइड दिएकोले अगाडि बढ्यौं हामी । यही समयमा कारको हर्न पूँ…पूँ गर्दै दुई चोटी हर्न थिच्नु भयो रामेश्वरजीले ।

मलाई अचम्म लाग्यो । जीपले साइड दिएर हामी वर आइसक्यौं । तर हर्न बजाउनाको कारण थाहा भएन मलाई । र, रामेश्वरजीलाई सोधें किन हर्न बजाउनु भएको भन्दा साइड दिएकोमा धन्यवाद भनेको भनी भन्नुभयो । सवारीको भाषा पनि अनौठो हुने रहेछ भन्ने लाग्यो मलाई ।

१३ वजेर पचास मिनेटमा कुलेखानी स्थित ईन्द्र सरोवरको छेउमा पुग्यौं । ‘छहरे वन रिसोर्ट, ईन्द्र सरोवर २, कुलेखानी’ को बोर्ड टाँगिएको मुनि बसेर फोटो खिच्यौं हामीले । बाटोदेखि बायाँपट्टि झरेमा सरोवरमा पुगिने रहेछ । तर तलतिर नझरी सीधै अगाडि बढ्यौं ।

र, केही अगाडि बढेर अलिकति अग्लो डाँडामा पुग्यौं । त्यहाँबाट सरोवर देखिने रहेछ । त्यहींनेर ‘मत्स्य विकास केन्द्र, कुलेखानी, मकवानपुर’ ले सरोवरमा पाइने माछाका विभिन्न जातिको बारेमा लेखिएको बोर्ड टाँगिएको रहेछ । सो बोर्ड मुनि बसेर तीनै जनाले फोटो खिच्यौं मोवाइलको सेल्फी प्रयोग गरेर ।

बोर्डमा माछाको तस्वीर सहित निम्न कुराहरूको जानकारी उल्लेख गरिएको पायौं । माछाको जाति र आहार विहार बारे अनभिज्ञ नै हामी तीनैजना । लाग्थ्यो, सबै माछा मांसाहारी हुन् । तर यहाँ लेखिएको बोर्ड पढेर आश्चर्यमा पर्यौं । किनकि कतिपय माछाहरु शाकाहारी र कतिपय मांसाहारी हुने रहेछन् भन्ने कुराको ज्ञान भयो हामीलाई ।

यहाँ केही बेर रमिता हेरी शान्ति थापा मगरको ‘कुलेखानी भिलेज भान्साघर’ मा पुगी खाजा खाने काम गर्यौं । सेल रोटी, चना, आलुका साथमा रामेश्वरजी र ज्ञानुजीले सेभेन अप र मैले माउण्टेन ड्यू पिएँ ।

हेटौडाबाट आएका जीपहरू पनि यहीं आएर खाजा खाने गर्दारहेछन् । भान्साघर अगाडि केरा तथा फर्सीहरू बेच्न राखिएका छन् । सेतो फर्सी बेच्न राखेको देखेर एक जना बूढा मान्छेले यो दुबी लागेको फर्सी किन बेच्न राखेको भन्दै साहुनी बहिनीलाई जिस्काउने काम गरे । उनको कुरा सुनेर सबैजना हांस्यौं ।

त्यसपछि मार्खु सिमलाङ्गलाई ताकेर अगाडि बढ्यौं हामीहरू । जीप लाइनको निर्माण धमाधम हुँदै रहेछ । जीप लाइनले सिमलाङ्गबाट ईन्द्र सरोवर पार गर्न सकिने रहेछ । निर्माण भइसके पछि रमाइलो हुने रहेछ भन्ने सोच्यौं ।

चौध बजेर बीस मिनेटमा पुग्यौं मार्खु बजार । काठमाडौंदेखि कुलेखानी, मार्खु वज्रवाराहीसम्म बस चल्ने रहेछ । बजार सानो चिटिक्कको छ । बजारमा अलमल नगरी अगाडि बढ्यौं ।

अलिकति डाँडा परेको स्थानमा एउटा आकर्षक सुन्दर गुम्बा बनाइएको देख्यौं । गुम्बा छेउमा मोटर रोकेर केही बेरको समय गुम्वालाई दियौं । ‘नगगयुर ज्याचेन चोलिङ्ग गुम्वा’ रहेछ यो । सुनौलो गेट भए पनि वन्द रहेछ । केही बेरपछि त्यहाँ कार्यरत एकजना कर्मचारी गुम्वाभित्र झुल्किए पछि गेट खोली दिन आग्रह गर्यौं । अनि सुनौलो गेटबाट भित्रियौं गुम्वा परिसरमा । सुनौलो वुध्दको प्रतिमा मनि उभिएर फोटो खिच्यौं ।

यस्तैमा गुम्वाका निर्माता कालीमाटी वाफल निवासी दश नारायण योजन लामा आइपुगे हाम्रै सामु । उनले आग्रह गर्दै भने– ‘तपाईहरू काठमाडौंदेखि आइपुग्नु भएको रहेछ । हिजै मात्र उद्घाटन भएको हो यो गुम्वा । यसको तल्लो तलामा पूजा गर्ने स्थान, लामा बस्ने कोठा, विद्यार्थी पढ्ने कोठा तथा अतिथि कक्षहरू पनि छन् । एक पटक हेरेर जानुहोस् ।’

दश नारायणजीको आग्रहलाई सहर्ष स्वीकार गर्दै तल्लो तलामा झर्यौं । एकदम व्यवस्थित र भव्य रहेछ भवन । वुध्दको अगाडि धूप वत्ती जलाएर क्रमश: ज्ञानुजी, रामेश्वरजी र मैले आशिर्वाद माग्यौं ।

यसरी केही बेर गुम्वाका बारेमा कुराकानी गर्दै वितायौं । साथै कुराकुरामा यो गुम्वालाई ‘नगगयुर’ भनेर कुन कारणले नामकरण गरिएको भन्ने जिज्ञासा राखें मैले । सो को जवाफमा आफ्ना हजुरआमाको नाममा निर्माण गरेको कुरा बताउनु भयो दश नारायणजीले । यसबाट के थाहा भयो भने गुम्वा निर्माणकर्ताले नै गुम्बाको नाम जुराउने रहेछ । यिनै औपचारिक र अनौपचारिक कुराकानीपश्चात् विदा भयौं हामीहरु गुम्वा क्षेत्रबाट ।

गुम्वाको अवलोकन पश्चात् उकालियौं बाख्रा फर्म हेर्नलाई ।

पन्द्र बजेर तीस मिनेटमा पुग्यौं बाख्रा विकास फर्म चित्लाङ्गमा । गेटको अगाडि बिसाउने क्रममा केही खानपीन गर्यौं । भुटेर तारेको भटमास, केही टिटबिट र कोदो निर्मित बिजुली पानी आदि खाने पिउने काम गर्यौं ।

सुरिला सल्लाका मीठो सुसाइ र स्वास्थ्यप्रद चिसो हावाको स्पर्शले निकै आनन्दको महसुश गर्यौं । मनमा लागिरह्यो यही स्थानमा बाँकी जीवन विताइदिन पाए पनि हुन्थ्यो भनेर ।

काठमाडौं सहरको कोलाहल, भीडभाड र अस्वस्थ्य प्रतिस्पर्धा, मिसावटयुक्त खाना, प्रदूषित हावा सम्झेर समयसमयमा दिक्क लागेर आउँछ । तर विवशताले घेरिएर रहनु पर्ने वाध्यतामा जेलिएर गुजार्नु पर्ने जीवन लिएर बाँच्नु नै आफ्नो भागमा परेकोले चुपचाप सहनु सिवाय अर्को विकल्प छैन । जे भए पनि जीवनका केही क्षण आनन्दले विताउन पाएकोमा कताकता अपार खुशीले भने अस्थायी स्थान ओगटेको अनुभूति भइरहेको छ यस क्षणमा  ।

केही बेरको बसाइपछि बाख्रापालन फार्मको गेटबाट छिरेर डाँडातिर गयौं । डाँडाको टुप्पामा आगन्तुकहरूका लागि गोलाकाररुपमा सातवटा रातो छानाले ओताइएका सेल्टरहरू वनाइएका रहेछन् । सेल्टरका वीचमा सेतो रङ्गको बाख्राको प्रतिमा वनाई स्थापना गरिएको छ । डाँडा भएकोले चारैतिरको रमिता हेर्न पाएकोमा खुशी भयौं सबै जना । छेउछाउका भिरालोजस्तो चौरमा बाख्राहरू झुण्डझुण्ड भएर रमाइलो पारामा चरिरहेका छन् ।

केही बेर बाख्रा फर्मको अवलोकन गरी चित्लाङ्ग गाउँतिर रमाना भयौं । यस्तैमा एउटा साइनबोर्डमा आँखा ठोक्कियो मेरो– सोसिण्डोल थाहा नगर पालिकासँग । यो साइन बोर्डले रुपचन्द्र विष्टको स्मरण भयो । जुनसुकै कुराको पनि ‘थाहा’ हुनुपर्छ भन्ने नारा घन्काउने व्यक्ति उनै थिए । उनैको नाराको देनले गर्दा नगरपालिकाको नाम नै ‘थाहा’ राखिन गएको होभन्ने कुरा बुझ्न हामीलाई कत्ति पनि गाह्रो भएन ।

बारीमा आलुका बोटहरूमा सुन्दरसुन्दर सेता फूलहरू फुलेका छन् । पर परसम्म काउली फुलेर भर्सेली भएका देखिन्छन् । जताततै हरियाली देखिन्छ । एक प्रकार सहले देखेको स्थान चित्लाङ्ग रहेछ भन्दा कत्ति पनि फरक पर्दैन ।

यसबेला ‘इन्द्रेनी मसरुम रिसोर्ट’ अगाडि उभिएका छौं र काउलीका चाङ्ग लगाइएका छन् भने कतिपय बोरामा लगाएर टन्न कसिएका छन् । लोभलाग्दा काउली देखेपछि किनेर लैजाने कि भन्ने विचारमा छौं । यस्तैमा रामेश्वरजीले एउटा अधवैशे महिलासँग किन्न पाइन्छ कि भनी सोध्नुभयो । तिनले पचीस किलोका बोरा छन् । पचीस किलो लाने भए मात्र पाइन्छ । प्रति किलो २५/– पर्ने कुरा पनि बताइन् । पचीस किलो लगेर के गर्नु १/२ किलो खुद्रा किन्न पाइन्छ कि भनी भन्नुभयो । हामीसँग खुद्रामा बेच्ने छैन भन्दै अरु तिर सोध्नुहोस् न भन्दै तर्किइन् ती महिला ।

अर्को स्थानमा थुपारिएको काउली भएको नजिकै गयौं र एउटा युवासँग एक दुई किलो काउली किन्न पाइन्छ कि भन्ने प्रश्न तेर्साउने काम रामेश्वरजीले गर्नुभयो । त्यही छेउमा उभिएका एक युवाले प्रत्युत्तर दिए–

‘खुद्रामा बेच्ने गरिएको त छैन । तैपनि कत्ति के.जी. लैजाने हो?’

‘रहर लागेर किन्न खोजेको । दुई चार के.जी.जति पाइन्छ कि ?’

‘हुन्छ नि त ! रहर गर्नु भयो । लौ, छान्नुहोस् न त ।’

थोरै भए पनि विक्री गर्न सहमति जनाएपछि हामी तीनै जनाले छान्यौं काउली । साना ठूला मिलाएर प्लाष्टिकको झोलामा हाल्यौं । करिबकरिब पाँचपाँच के.जी.का दरको भए काउली । तीनवटै झोलाको रु. दुईसय दिन भने भाइले । हामीले डेढ सय दिन्छौं नि भन्यौं ।

‘टाढाबाट आउनु भएको, रहर गरेर लिन खोज्नुभयो । तीनवटा झोलामा भएका काउलीको कम्तिमा पनि तीनसयभन्दा घटीको छैन । जोख्ने तराजु पनि छैन । अनुमानित मूल्य न हो । ठीकै छ लैजानुस् न त ! मेरो तर्फबाट उपहार नै होस् ।’ आकासजत्तिक्कै फराकिलो दिल बनाएर भाइले भने ।

हामीले तोकेको मूल्यमै पायौं काउली । करिब प्रति के.जी. पन्द्र रुपैयाँजति पर्यो हामीलाई । (स्मरणहोस् कि काठमाडौं आएपछि पो थाहा भयो चित्लाङ्गको काउली त प्रति के.जी. नब्बे रुपैयाँदेखि सय रुपियाँसम्ममा पो विक्री हुने रहेछ । यो कुरा थाहा भएको भए पचीस के.जी.को बोरा नै लिएर आएको भए पनि हुने थिएछ भन्ने लाग्यो ।)

काउली किनेर बजारको बीचैबीच भएर काठमाडौंकालागि प्रस्थान गर्यौं । देउराली भन्ने स्थानलाई उकालिने ठाउँमा चिया पिउन विसायौं । ऐतिहासिक घरहरू रहेका छन् बाटोको दायाँबायाँ । एउटा ऐतिहासिक घरको पेटीमा बसेर रमिता हेर्ने काम गरें मैले । रामेश्वरजी बिस्कुट किनेर सडकका कुकुरहरूलाई वितरण गरिरहनु भएको छ । रामेश्वरजीको उपकारी शौख छ काठमाडौंमा डुल्दा पनि सडकमा कुकुरहरू देख्नु भयो कि बिस्कुट किनेर वितरण गर्नुहुन्छ । मैले कैयौं पटक देखेको छु कोटेश्वरको पुरानो घरमा उहाँका पिताजीले पनि परेवाहरूलाई विहान सँधै चारो दिनुहुन्थ्यो । सायद त्यही गुण रामेश्वरजीमा सरेको होला कि !

साँझको १६ बजेर पचास मिनेट जाँदा चित्लाङ्गलाई वाईवाई भन्दै उकालिन थाल्यौं । जङ्गलको नागवेली बाटो भएर उकालियौं । जङ्गलको रमाइलोको कुरा गरेर साध्य छैन । विविध चराचुरुङ्गीहरूका मन्त्रमुग्ध आवाजले गुञ्जायमान छ । हरिया रुखहरूले स्वच्छ अक्सिजन फालिरहेको छ । स्वर्गीय आनन्दले बास गर्ने स्थान तुल्य लाग्छ मलाई वनजंगल । सम्पूर्ण जीव, पशुपंक्षीका नजिकको मित्र । अमूल्य निधिका खानी । निस्वार्थ सेवामा सदैव अर्पण हुने रुख विरुवाहरू । त्यसैले जङ्ग्गलको गन्ध असाध्यै प्रियप्रिय लाग्छ मलाई ।

सवा पाँच वजे अर्थात् १७ वजेर १५ मिनेटमा देउराली आइपुग्यौं । यही नै हो कान्तिपुर अर्थात् काठमाडौं र मकवानपुरको सीमा क्षेत्र । देउरालीमा आइपुग्नासाथ कारलाई आराम दिनुभयो रामेश्वरजीले । यहाँ केही खाजाघर रहेका छन् । त्यसैमध्येको ‘देउराली खाना एण्ड खाजा घर, चित्लाङ्ग लेखिएको रेष्टुराँको वाहिर रहेको कुर्सीमा बस्यौं ।

त्यसको सामुन्नेमा अर्को रेष्टुरां पनि छ– ‘सानुदाइ खाजा घर, थाहा ९, चन्द्रागिरि’ । तर ती खाजाघरमा मन पर्ने किसिमका खानेकुरा रहेको पायौंन हामीले । केवल रामेश्वरजीले सिगरेट भने किनेर तान्नुभयो । ज्ञानुजी र मैले भने पानी पिउने काम गर्यौं ।

केही बेर देउरालीमा बिताएर थानकोटकालागि ओरालिन थाल्यौं । थानकोट आइपुग्दा मोवाइलको घडीमा समय हेर्दा बेलुकीको ठीक छ बजेको रहेछ ।

विहान दश बजेर पचास मिनेटमा शुरु भएको कान्तिपुर, ललितपुर, मकवानपुर भएर कान्तिपुरको चक्कर लगाउँदा करिब सात घण्टाको लगातार यात्रा पछि पुन: कान्तिपुरमा सफलतापूर्वक भित्रिएका छौं ।

अब सतुङ्गल, नैकाप, तीनथाना, ढुंगेअड्डा, कलंकी, रविभवन, कालीमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल भएर यात्राको शुभारम्भ विन्दू नयाँ वानेश्वर पुगेर समापन हुनेछ भन्दै सलल चिल्लो सडकमा कार गुडाउन थाल्नुभयो रामेश्वरजीले ।

ज्ञानुजी र मभने आजको रमाइलो यात्रा बारे चिन्तनमनन गर्दै बसिरहेका छौं । हुन पनि नेपालकै प्राचीन सहर कान्तिपुर, ललितपुर भएर प्रसिध्द शक्तिपीठ दक्षिणकालीलाई स्पर्श गर्दै अगाडि बढ्यौं । आधुनिक नेपाललाई विद्युत उत्पादन गर्ने स्थान कुलेखानी भएर प्राचीनकालमा विविध कारणले प्रसिध्दिको शिखरमा रहेको चित्लाङको भूमिमाथि विचरण गर्दै भालेश्वर (जहाँ चन्द्रागिरि केवलकार स्थापित भएर अत्याधुनिक नेपालको परिचय दिलाउने स्थान) हुँदै कान्तिपुर आइपुगेकोमा खुशी र आनन्दले पुरिएका छौं । सायदै यात्रामा यस्तो विविधताको दृश्य जुर्न सक्छ । जुन हामीलाई आज जुर्यो । आजको यात्राको सुखद पक्ष होभन्दा कत्ति पनि फरक पर्दैन ।

नयाँ वानेश्वर आइपुगेपछि ‘आइप्लेक्स मल’ को जमिनमुनिको पार्किङमा कार रोक्नुभयो रामेश्वरजीले । र, त्यसैको सिह्रानको तलामा रहेको ‘दृश्य लाउञ्ज’ मा बसेर केही रिफ्रेसमेण्ट लिंदै  मैझारो कुरा गर्यौं । यसरी आजको एक दिन सकरात्मक तरिकाले विताउन पाएकोमा सबैजना हर्षित बन्दै चियर्स गर्यौं । विजुली वत्तीले सबैतिर उज्यालिएको सहरको टुपीमा बसेर मन्द चलेको बताससँग एकाकार भयौं । र, हाम्रा मन्द मुस्कानहरुलाई हावाले परपरसम्म लगिरहेको आभास समेत गर्यौं ।

०००

नियात्राकार परिचयः जय छाङ्छा राई मूलत कवि र नियात्राकार हुन् । बास्तिम, भोजपुरमा जन्मेका उनी हाल काठमाडौंमा बसोवास गर्छन् । विसं २०३५ सालमा,  जनजाग्रृती पत्रिकामा कथा प्रकाशित गरेर लेखनमा लम्केका जयका कंगारुको देशदेखि आइफेल टावरसम्म (वि.सं. २०५२), चाँप फुल्ने पहाडमुन्तिर (वि.सं. २०५४), बादल रुँदाको जुरिच (वि.सं. २०५९) बिब्ल्याँटो आकाशको धरातलतिर (वि.सं. २०६०), दोहाको सीधा उडान, वि.सं. (२०७३)पैदलै काठमाडौंका चुलीहरू (वि.सं. २०७५) नियात्रा कृतिहरू On the bank of the Potomac ( Nepali & English) – 2001, Chhangchha’s Love Poems (Nepali & English) – 2005, That I loved the World (English) कविता संग्रहहरू तथा नियात्रा विधाको सैद्वान्तिक पुस्तक नियात्राविधा परिचय (वि.सं. २०७६) लगायतका पुस्तकहरू प्रकाशित छन् ।

 

 

Leave a Reply