सलमाको सिङ्गापुर (नियात्रा)

नियात्रा
चन्द्रप्रसाद भट्टराई
(प्रस्तुत नियात्रा लेखकको  नियात्रासङ्ग्रह ‘नीला गोलाद्र्ध’ (२०७६) बाट साभार)
एउटी पातली–पातली अधवैंसे महिला हाम्री टुर गाइड छिन् । रानोका पछिपछि मौरी गए झैँ हामी उनका पछिपछि विमानस्थलबाट बाहिरिन्छौं । विशाल चाङ्गी विमानस्थल, दिगदिगान्तका जहाज पर्खेर बसेका हजारौं यात्रुहरू मध्येको एउटा प्रतिनिधि समूहमा मिसिएको छु । समूह त सानै छ, पच्चीस जना जतिको तर पनि सह यात्री कसैलाई म चिन्दिनँ, न यिनीहरू कोही मलाई चिन्छन् ।
एउटा अत्यन्त आरामदायी बस हामीलाई लिन ठिक्क परेर बसेको छ । फटाफट गएर त्यसमा बस्छौँ । गाइडले हातको नामावली हेर्दै चोर औंलाले हाम्रा टाउका गन्छिन् । ढुक्क हुन्छिन् ।  ड्राइभरको छेउमा भएको आफ्नो स्थानमा पुग्छिन्, हामीतिर फर्किएर मुसुक्क मुस्काउँछिन् अनि बोल्न थाल्छिन्,
“गुड मर्निङ् । मेरो नाम सलमा हो । तपाईंहरूलाई टुरमा स्वागत छ ।”
स्वर सुरिलो छ, लयबद्ध पनि छ । भन्छिन्,  “सिङ्गापुर विमानस्थल प्राधिकरणको आतिथ्यमा तपाईंहरूलाई आज म टोपायो आवास क्षेत्र घुमाउन लैजाँदैछु । मलाई पूर्ण विश्वास छ तपाईंहरू सबैले यो दुई घण्टे भ्रमण रमाइलोसाथ बिताउनु हुनेछ ।”
गाडी हिँड्छ । फराकिलो बाटा घाटा आउँछन् । अग्ला अग्ला सुन्दर भवनहरू देखिन्छन् ।  वातानुकूलित गाडीको झ्यालभित्रबाट देखिने दृश्यमा म रमाउन थाल्छु । अगाडि पछाडिका सह यात्रीहरूतिर हेर्छु, उनीहरू पनि आँखा तन्काई तन्काई बाहिरतिरै हेरिरहेका छन् । यस फुच्चे देशको क्षेत्रफल जम्मा सात सय वर्गकिलोमिटर मात्र भएर के भयो त, सफा-सुग्घरमा  ठूलठूला पचासौंलाई जिति दिएको प्रस्ट देखिन्छ ।
सलमा काममा परिपक्व छिन् । मीठो स्वरले सबैका मन तान्छिन् । भन्छिन्, “तपाईंहरू वर्षभरिमा जुन बेला पनि सिङ्गापुर घुम्न आउन सक्नुहुनेछ । यहाँको तापक्रम सधैँ उति नै हुन्छ, न कहिले जाडो न कहिले गर्मी । यहाँका दिन पनि सधैँ उस्तै हुन्छन्, सधैँ उत्रै हुन्छन् । ताईहरूमध्ये यस अघि आइसकेकाहरूले त यो कुरा अनुभव गरेको  हुनुपर्छ ।”
गाडी बिस्तारै कुदिरहेछ । म उनका कुरा सुन्दै पनि छु, बाहिरतिर हेर्दै पनि छु, अघिअघिका आफ्ना अनुभव सम्झिँदै पनि छु । काठमाडौंबाट पोर्ट मोस्र्वी जाँदा आउँदा सिङ्गापुर बीचमा पर्छ । यो सहर छसात पटक राम्रैगरी घुमिसकेको हुँदा सलमाका यी कुरासँग म पनि धेरथोर परिचित नै छु । सिङ्गापुर मलाई सबैतिर उस्तै लाग्छ । एकनासका बाटा घाटा छन्, एकै छाँटका व्यापारिक केन्द्रहरू छन्, उस्तै उस्तै खालका आवास क्षेत्रहरू छन् ।
सलमा आकर्षक पारामा भन्छिन्, “हाम्रो सिङ्गापुरमा पर्यटकहरू एकदमै रमाउँछन् । यो सफा छ, यहाँ फोहोर गर्न पाइँदै पाइँदैन । यो सुरक्षित छ, तपाईं राति पनि ढुक्कले हिँडडुल गर्न सक्नु हुन्छ । सबै अङ्ग्रेजी बोल्छन्, तपाईंलाई भाषाको कुनै समस्या हुँदैन ।” उनका यी कुरासँग  पनि म राम्ररी परिचित छु । साँच्चै नै सिङ्गापुरमा कम्ता पर्यटक आउँदैनन् त ।
                                     ०००००
म घरबाट कामतिर जाँदै छु । बिहान बैङ्ककबाट चाङ्गी विमानस्थलमा आइ पुगेँ । पपुआ न्यु गिनी जाने जहाज सधैंझैं राति एघार बजे उड्छ । घुम्नका लागि पूरै दिन छ । सहरको प्रायोजित भ्रमणमा जानका लागि बिहानै नाम दर्ता गराएँ ।
सिङ्गापुरमा बस्नु पर्दा चाहे दिन होस् चाहे रात, मलाई अफिसकै खर्चमा सहरका राम्रा होटेलमा बस्ने सुविधा छ । आफूलाई चाहिँ हरेक पटकको यात्रामा यस विमानस्थलको टर्मिनलभित्र पसेपछि यहीँ हराइ दिनमै मजा लाग्छ । एक पैसा खर्च नगराई यहीँ रात बिताइ दिन्छु । टर्मिनलका कुनाकाप्चा कतै नछाडी मस्तसँग घुम्छु, त्यसैमा भित्रदेखि रमाउँछु । व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल, दिन–रात नभनी विमानहरू आएका आयै गर्छन् । हुलका हुल यात्रुहरू ओहोदोहोर गरेका ग-यै  हुन्छन् । देख्दै मन प्रसन्न हुने । कसैका अनुहार लामा छन्, कसैका चेप्टा छन् । दाहिनेतिर हेर्दा सलक्क परेको लामो नाक भएकी मृगनयनी देख्नुहुन्छ भने देब्रेतिर गालामै मिलेको थेप्चो नाक र आकर्षक चिम्सा आँखा भएको पुरुष । कोही लामो यात्रापछि थकित अनुहार लिएर आइरहेका देखिन्छन्, कोही उडानको सूचना पाएर जहाज चढ्ने ढोकातिर हतार हतार लम्किरहेका पनि म देख्ने गर्छु ।
स्वेच्छाले विमानस्थलमै रात बस्ता म यहाँका ठूलठूला टेलिभिजन स्क्रिनमा बि बीसी, सि एन एन आदिका समाचारहरू छिनछिनमा ध्यान दिई दिई हेर्छु । रेस्टुराँहरूमा रमाइ रमाई चिया–कफी खान्छु । ठाउँ ठाउँमा राखि दिएका कम्प्युटरहरूबाट इमेल चेक गर्र्छु । ठाउँ ठाउँबाट इमेलका जबाफ पठाउँछु । नेपालका अनलाइन समाचारहरू पढ्छु । अल्छी लाग्दा खुट्टा तन्काउन लुखुरलुखुर हिँड्छु पनि । दायाँबायाँका आकर्षक दृश्य हेर्दै-हेर्दै लामो टर्मिनलका ओल्ला छेउदेखि पल्ला छेउसम्म भौँतारिन्छु । दिन हो कि रात हो छुट्ट्याउन नसकिने गरी उज्यालो बनाइएका कर मुक्त पसलहरूतिर पनि यदाकदा छिर्छु । त्यति गर्दा पनि नपुगी अझै के गरूँ र कसो गरुँ भयो भने स्काइ ट्रेन चढेर घरि टर्मिनल एक घरि टर्मिनल दुई गर्छु । एक डलर पनि तिर्नु नपर्ने अत्यन्त आराम दायी र सुरक्षित सुत्ने खण्ड देखेको छु, थाकेँ भने त्यहाँ पुगेर एक निद्रा सुति दिन्छु । यत्रो टर्मिनल भित्रको झिलिमिली वातावरणमा एक–दुई घण्टा मात्र होइन दस बाह्र घण्टा बिताउन पनि मलाई कहिल्यै झर्को लाग्दैन ।
                            ०००००
सलमाको सुरिलो स्वरले मलाई फेरि वर्तमानमा तान्छ ।
उनी भन्दैछिन्, “सिङ्गापुरमा ७७ प्रतिशत चिनियाँ मूलका मान्छे बस्छन् । यहाँ १४ प्रतिशत मलाया मूलका छन् । सात प्रतिशत भारतीय मूलका छन् र झण्डै तीन प्रतिशत जापानी, कोरियाली लगायत अन्य मूलका छन् ।” सलमाले रोचक पाराले भनेका कुरा म ध्यानपूर्वक सुन्दैजान्छु । उनी भन्छिन्
“औपचारिक भाषा नै हेर्नाेस् न, चार वटा छन् – माण्डारिन, अङ्ग्रेजी, मले र तामिल ।”
बाहिरतिर हेर्छु, व्यवस्थित ढङ्गबाट कुदिरहेका गाडीहरूको लामो लर्को छ । मेरो मन बोल्छ –
अनुशासित जनसङ्ख्या नै त देश विकासको पहिलो आधार हो । सिङ्गापुर त्यत्तिकै सिङ्गापुर भएको होइन ।
सलमा भन्छिन्, “सिङ्गापुरमा बर्सेनि आफ्नो जनसङ्ख्या भन्दा दोब्बर सङ्ख्यामा पर्यटक आउँछन् । अहिले हाम्रो देशको जनसङ्ख्या पैँतालीस लाख छ, वर्षको नब्बे लाख पर्यटक आउँछन् ।”
उनको कुरोलाई म यसरी बुझ्छु – पौने तीन करोड जनसङ्ख्याको अहिलेको नेपालमा वर्षमा साढे पाँच करोड पर्यटक आउँदा बाटाघाटा र अरू सार्वजनिक स्थलहरूमा स्थानीयका अनुपातमा विदेशीका अनुहार जति बाक्ला देखिएलान् सिङ्गापुरमा अहिले त्यस्तै देखिँदो रहेछ ।
विकासको यस स्तरमा यो देश पुग्न सक्नुको एउटा बलियो आधार हलक्क बढेर राम्ररी फस्टाएको पर्यटन उद्योग हो । राज्यले पर्यटन व्यवसायलाई ठूलो महत्त्व दिएको छ । विकास अर्थशास्त्रको एउटा विद्यार्थीलाई स्वाभाविक जिज्ञासा हुन्छ, “नेपालमा हामीले कहिले वर्षको साढे पाँच करोड पर्यटक भित्र्याउन सकौंला र यहाँ जस्तै घरघरमा सम्पन्नता ल्याउन सकौंला ?” अनि दशकौंको कठोर साधनाबाट जानेको मन्त्र आफैँलाई सुनाउँछु, “जुन घडीमा भ्रष्टाचार र दण्ड हीनता विरुद्धमा सरकारले साँच्चै नै केही गर्न थालेको सुगन्ध पीडक र पीडितका नाकमा पुग्छ, तत्क्षणदेखि विकासका लक्षण देखिन थाल्छन् । देशमा सुशासन छ भने अन्य कुनै नौटङ्की पनि चाहिँदैन, चर्का नाराको पनि केही काम छैन ।”
सम्झन्छु नेपालमा सन् १९९४ मा नै ४ लाख ९१ हजार पर्यटक भित्रिएका थिए । द्वन्द्व चर्किदै जाँदा यो सङ्ख्या स्वाट्टै झरेर तीन लाखमा पुग्यो । पर्यटकले भरपर्दो सुरक्षा नै पाउन छाडेपछि कतिपय विकसित राष्ट्रका जिम्मेवार सरकारहरूले नेपालमा जाँदै नजान आफ्ना नागरिकहरूलाई सार्वजनिक सूचना जारी गरे । नचाहिँदो बन्द, हडताल, चक्काजाम र चन्दा आतङ्कका कारण शारीरिक र मानसिक सास्ती खाएर फर्केका पर्यटक पैसा खर्च गरी-गरी के खाँचोले नेपालमा फेरि आइ रहन्थे ? तिनका परिवार, आफन्त जन, परिवार पनि किन आउथे ? ती सबै अरू-अरू देशहरूतिर जान थाले । त्यताका जनतालाई धनी बनाइ दिन लागे । आखिरमा नोक्सान कसको भयो ? गरिब नेपाली जनताको । राजनीति गर्नेहरू नै देशको विकासमा यसरी हाकाहाकी बाधक भइ दिएपछि निरीह, अशिक्षित, गरिब, सोझा जनताको के लाग्छ ?
मुख्य सहरहरूभन्दा बाहिर रहेका स्याटेलाइट सिटीहरू हुँदै बस अगाडि बढिरहेको छ । बाटामा अरू-अरू पनि कैयौँ सुन्दर आवास क्षेत्रहरू देख्छौं । सलमा भन्दै जान्छिन् , “यस देशमा हाउजिङ बोर्डले घरहरू बनाउने र तिनको व्यवस्थापन गर्ने गर्दछ । जमिनमुनि चल्ने रेल, बस आदिको राम्रो व्यवस्था भएकाले यो सानो देशका जुन कुनामा बस्नेले पनि यातायातको राम्रो सुविधा पाएका छन् ।” सबै थरीका सेवा र सुविधाबाट परिपूर्ण स्याटेलाइट सिटीहरू हुँदै बस बिस्तारो मुख्य सहरतिर पस्छ ।
अर्चाड रोडमा पुग्छौँ । सडकमा दुवैतिर ठूल्ठूला पसलहरू देखिन थाल्छन् । अघिअघि आफू पसेका कतिपय पसलहरू म एकै पटकमा चिन्छु । काठमाडौंको नयाँ सडक जस्तै सिङ्गापुरमा राम्रा मालसामान किनमेल गर्ने मुख्य ठाउँ हो यो । सलमा भन्छिन्, “अर्चाड रोडलाई न्यूयोर्कको फिफ्थ एभेन्यु र लन्डनको अक्सफोर्ड स्ट्रीट भन्छन् ।” उनी आफू सानी छँदा आमासँग आउने गरेको एउटा पुरानो पसल पनि हामीलाई फुर्किदैं देखाउँछिन् ।
गाडी विस्तारै अघि बढिरहेछ । हामी कतै व्यस्त बजार भेट्छौं,  कतै शान्त आवास क्षेत्र देख्छौं । एउटा सुन्दर भवन देख्दा जिज्ञासा पलाएको मात्र हुन्छ, सोध्नु अघि नै जबाफ पाउँछु, राष्ट्रपतिको निवासस्थान हो रे । सहरको मध्य भागमै बाक्लो हरियो वन देख्दा मन पुलकित हुन्छ । सहर भित्रबाट  सफा  नदी  सलल  बगेको  देख्दा प्रसन्नता अझ बढ्ने नै भयौं । सलमा बाटाका दायाँबायाँका दृश्यहरू देखाउँदै, तिनका महत्त्वको व्याख्या निरन्तर गरिरहेकी छिन् । सुन्दर दृश्यहरूमा रमाउँदा समय बितेको पत्तै पाउँदैनौं, आजको गन्तव्यमा पुगी पो सकेछौँ । गाडीको गति निकै कम हुन्छ । सलमा पृष्ठभूमि बताउँछिन् , “सन् १९६५ मा यो देश ब्रिटिसबाट स्वतन्त्र भएपछि सरकारले पहिलो आवास क्षेत्रका रूपमा सन् १९६९ मा टोपायो आवास क्षेत्रको निर्माण सुरु गरेको हो ।”
टोपायो आवास क्षेत्र सिङ्गापुरको अत्यन्त सफल आयोजना हो । यस क्षेत्रभित्र चार हजार युनिट छन् । सलमा भन्छिन् , “यहाँ भित्र पुस्तकालय छ, सामुदायिक भवन छ, बोर्डिङ स्कूल छ, डाक्टरको क्लिनिक छ, चाहिने कुराहरू सबै छन् । एकदेखि चार बेडरुमसम्मका युनिटहरू छन् । तीस वर्ष भित्रमा मूल्य चुक्ता गर्ने सर्तमा ऋणमा घर पाइन्छ ।” यी अपार्टमेन्ट हाउसहरू सडकका दुबैतिर ठडिएका छन् । ठीककै अग्ला छन् ।
सिङ्गापुरमा एक वर्गकिलोमिटरको क्षेत्रभित्र सरदर ६४०० मान्छे बस्छन् । नेपालमा त्यति भूभागमा सरदर १६० मान्छे बस्छन् । सिङ्गापुर सानो देश भएर पनि  यहाँ मान्छेलाई अटाई–नअटाई बसेको तपाईं देख्नु हुन्न । कुशलतापूर्वक तयार पारिएको योजना र राम्रो व्यवस्थापनले गर्दा जनजीवन कहीँ पनि असहज देखिँदैन । क्षेत्रफलमा सानो भएर के भयो ? योजनाबद्ध रूपमा विकास गरिएकोले सरकारले जनतालाई उपलब्ध गराउनुपर्ने आधारभूत सेवा र सुविधाको कुनै कमी यहाँ तपाईंले खोजेर पनि भेट्नु हुन्न ।
सिङ्गापुरमा पुसका जस्ता छोटा फासफुसे दिन मैले कहिल्यै देखिनँ, काम गर्न इच्छा हुनेहरूले बाह्रै महिना दिनभरि खटिएर मजाले काम गर्न पाएकै छन् । मङ्सिर–पुसमा आउँदा पनि न कुनै दिन जाडाले कठ्याङ्ग्रिनु परेको छ न वैशाख–जेठमा आउँदा कहिल्यै घाममा सेकिएँ । समुद्रको मन्द हावाले सहरलाई जति खेर पनि शान्त पारिरहेको हुन्छ । सरकारले आफ्नो भौगोलिक अवस्थिति र हावापानीलाई राम्ररी बुझेको छ, त्यसैलाई मूलधन मानेर विकास गरेको छ । समृद्धि कसरी हासिल गर्ने भन्ने विषयमा नेतृत्व स्पष्ट छ । यही ज्ञान, स्पष्टता, अठोट र इमानदारीकै बलमा विकासलाई अगाडि बढाइएको देख्दा मन प्रसन्न हुन्छ । आफ्नो भरभराउँदो युवावस्थादेखि अहिलेसम्म  लगभग चार दशक आर्थिक योजना र विकासका क्षेत्रमा देशविदेशमा अध्ययन र काम गर्दा देखेको कुरो – राजनैतिक नेतृत्वमा विवेक छ, स्पष्टता छ, अठोट छ र “यो काम गरि दिएँ भने मलाई कति आउँछ ?” भन्ने प्रश्न छैन भने देशको होस् वा गाउँको होस्, स्वस्थ विकास कसैले छेकेर छेकिँदैन, रोकेर रोकिँदैन ।
हामी कतै ओर्लिदैं ओर्लदैनौं । गाडी बिस्तारो कुदिरहेको छ । भित्रबाट हामी सलमाको सिङ्गापुर  हेरिरहेका र्छौं, पटक-पटक मैले भ्रमण गरेको सहर, बहुदलीय व्यवस्थाको पुनर्स्थापना पछि नेपालमा चुनाव ताका पटक पटक धेरैले नाम सुनेको सहर । सबैलाई दिइएका एक–एक बोतल पानी अरूले सिध्याउन लाग्दा पनि मैले चाहिँ खोलेकै छैन । यो पानी खानमा भन्दा हेर्नमा म रमाउँछु । बोतललाई वरिपरि घुमाएर निकै बेर आनन्द पूर्वक हेर्छु । स्पष्ट अक्षरमा कम्पनीको नाम, ठेगाना र उत्पादन मिति लेखी राम्ररी प्याकिङ गरिएको बोतलभित्र देख्दै खाउँ खाउँ लाग्ने स्वच्छ, सफा, कञ्चन, हानिरहित पानी मात्र होइन एउटा जिम्मेवार सरकार नै छर्लङ्ग देख्छु ।
गाडी विमानस्थलतिर फर्किन्छ । अहिले पनि त्यस्तै त्यस्तै ठाउँ हुँदै ल्याउँछन् ड्राइभरले ।
सलमा आग्रहपूर्ण स्वरमा भन्छिन् “अर्को पटक सिङ्गापुर घुम्न आउँदा तपाईंहरू अलिक लामो समय लिएर आउनु होला है ।”
विमानस्थल प्राधिकरणले आयोजन गरेका यस्ता दुई घण्टे निःशुल्क दृश्यावलोकन भ्रमणको उद्देश्य झट्ट हेर्दा आफ्नो विमानस्थल टर्मिनलमा जहाज पर्खेर बसेका अन्तर्राष्ट्रिय यात्रुहरूलाई मनोरञ्जन गराउने भए पनि यथार्थमा यसका पछाडि सिङ्गापुरको पर्यटन प्रवर्द्धनको ठूलो उद्देश्य लुकेको छ । एक पटक यस्तै दुई घण्टे भ्रमणमा म नै यहाँको सेन्टोसा आइल्याण्ड पुगेको थिएँ, राम्ररी प्रभावित भएँ । पछि विशुद्ध पर्यटक भएर सपत्नी दश दिनसम्म यस सानो देशका कुना कुना घुमेको थिएँ ।
म सम्झिन्छु हामी इस्टकोस्टको एउटा निकै राम्रो होटेलमा बसेका थियौँ । कहिले सुविधा सम्पन्न क्रुजमा गई आँखाले भ्याउन्जेलसम्म परको शान्त समुन्द्रको नीलो पानी हेर्दै स्वादिष्ट खाना खाएर, कहिले सहरभित्रका गाइडेड टुरका भिन्न भिन्न कार्यक्रमहरूमा उत्साह पूर्वक भाग लिएर, कहिले अर्चाड रोडका पसलहरूमा दिनभरि दिनभरि किनमेल गरेर, कहिले इस्टकोस्टका ब्रान्डेड लुगा र जुत्ताका पसलहरूमा मन लागिन्जेल डुलेर, कहिले लिटिल इण्डियाको ठूलो पसल मुस्तफाभित्र घन्टौं हराएर, कहिले बिहानदेखि रातिसम्म सेन्टासो आइल्यान्डका कुना कुना चहारेर, र कहिले छानी छानी सहरका रेस्टुराँहरूमा पसी स्थानीय खान पिनमा रमाएर हामीले यस देशलाई थोरै नै भए पनि विदेशी मुद्रा आर्जन गराइदिएका थियौँ ।
सहरका माझतिर रेस्टुराँ नै रेस्टुराँ भएको सडकबाट हाम्रो गाडी गुडिरहेको छ । सलमा भन्छिन्, “वस्तुभन्दा पनि सेवा विक्री गरेर हामी धनी भएका छौं । खानेकुरो जोसुकैले पनि किन्न सक्ने मूल्यमा पाइन्छ । यहाँका मान्छेले घरघरमा भात पकाएर अमूल्य समय खर्च गर्दैनन् । भात पकाएर खर्च गर्ने समयमा पनि यहाँ धेरैले आ–आफ्ना उद्योगधन्दा, व्यापारमा तल्लीन भई काम नै गर्छन् । काम सकिएपछि सपरिवार बाहिरै गएर खान्छन् ।”
मान्छेसँग बाहिर खान पुग्ने आम्दानी हुँदा, बाहिर उचित मूल्यमा स्वस्थ र सन्तुलित खानेकुरो खान पाइँदा घरै पिच्छे चुलो नबाल्नू नै जाती हुन्छ । एक हजार घरका एक हजार चुलामा आगो बालेर पकाउने काममा एक हजार मान्छे अल्झिनु भन्दा तीन चारवटा ठूला रेस्टुराँमा तीनै एक हजार घरका लागि खाना पाक्नु व्यक्ति, परिवार, समुदाय, व्यवसाय र देशकै लागि लाभदायक हुन्छ । यसै भन्छ अर्थशास्त्र । सिङ्गापुरेहरूका दिनहुँका यस्ता व्यवहारले नै त देशको आर्थिक विकासलाई निरन्तर माथि पु-याएको हो नि ।
सलमा बोलेकी बोल्यै छिन् , देखाएकी देखायै छिन् । म अभिरुचिसाथ हेरिरहेको छु । नेता ली क्वान युको लामो र अथक प्रयासबाट विकासको यस स्तरमा पुगेको सिङ्गापुर घुम्दा पनि आज म त्यति रमाउन सक्दिन । दिमागमा देशकै विपन्नताका कुरा छड्किरहेका छन्,  आँखामा देशकै दुरावस्था  नाचिरहेको छ । राजनीति गर्नेहरू  नेपालमा केन्द्रदेखि वडा वडा, टोल टोलै, घरघरमै छन् । केन्द्रमा लाखमा एक त्यागी होलान्, बाँकीका अस्वस्थ आँखाले देश देख्दैनन्, समाज देख्दैनन् ।  देख्छन् त खालि आफू र आफ्नै परिवार । देश विकासको जिम्मेवारी बोक्ने पद कसैलाई दिनु पर्दा कि त दक्षिणा दिने देख्छन् कि त प्रदक्षिणा गर्ने देख्छन् । तिनका आँखा खुल्दा होस् वा चिम्लिँदा होस् – त्यसदेखि परतिर दृष्टि किमार्थ पुगेको देख्तिनँ म ।
एक फाँको चिउरा नपाउँदा हिजोअस्तिसम्म चाउरिएका मरिच जस्ता र अहिले भने राजसी ठाँटले पुष्ट, राता पिरा अनुहारहरू पालैसँग आँखा अघिल्तिर नाच्न थाल्छन् । मीठा मीठा खानेकुरो खाएर, राम्रा राम्रा लुगा लाएर, बेला न कुबेला बाटो छेक्दै, करोडौँका वातानुकूलित गाडीमा सुरक्षाकर्मीका अगुवा पछुवा लगाई प्याँप्याँ र पुँपुँ साइरन बजाउँदै, कहिले बुङ्बुङ्ती धुलो उडाउँदै, कहिले जथाभाबी हिलो छ्याप्दै नेपाली जनतालाई कुटिल हाँसो उपहार दिइरहेका अप्रिय दृश्यहरू निकै बेरसम्म आइरहन्छन्, मुटुलाई चिमोटी चिमोटी दुःख दिइ रहन्छन् । तिनिहरूका आँखा कहिले उघ्रलान् ? एउटा झारसम्म नउम्रिने अन्यत्रका मरुभूमि  कहाँबाट कहाँ पुगिसके, प्रकृतिले सबै कुरा दिएर पनि नेपाली जनता भने सधैँ नराम्ररी ठगिएका छन् छन् । भावनामा मन निकै बेर बग्छ,  नराम्ररी कुँडिन्छ ।
ली क्वान युको यो सुन्दर देश घुम्दा म जहिल्यै पनि यी साँच्चैका नेताले विकासका लागि राखेको दूरदृष्टिबारे घोत्लिन्छु । धेरैले नचिनेका मेरा आदर्श पुरुष अल्बर्ट विनसेमियसलाई उत्तिकै सम्झिन्छु । सिङ्गापुर स्वतन्त्र हुनुभन्दा पनि चार वर्षअघिदेखि अन्तर्राष्ट्रिय विज्ञका रूपमा यहाँ आई काम गरिरहेका ती योग्य डच विकास अर्थशास्त्रीको गहिरो ज्ञानलाई लीले कसरी अत्यन्त सम्मान पूर्वक दुई दशकसम्म दोहन गरी आफ्नो देशको कायापलट गर्न सके त्यस बारे जति पढे पनि जति हेरे पनि कहिल्यै अघाउँदिन म ।
निर्धारित समयमा विमानस्थल आइपुग्छौं । लाम बद्ध भई भित्र पस्छौं । यात्राभरि आफन्तजस्ती अनुभूत भएकी दक्षिण एसियाली मूलकी सलमा एकातिर लाग्छिन् । एउटा निहित उद्देश्यका लागि बनेको हाम्रो समूह पट्ट फुट्छ, मानौं सीसाको ठूलो गिलास सिमेन्टको भुइँमा एक्कासि बजारिन्छ । हामी टुक्रा टुक्रा भएर छरिन्छौं ।
०००

लेखक परिचयः नियात्राकार चन्द्रप्रसाद भट्टराई बिसं २०४० सालको मधुपर्कमा “रमा दिदी” शिर्षकको कथाको प्रकाशनसँगै साहित्यिक दुनियाँमा पदार्पण गरेका हुन् । उनको एक कथा सङ्ग्रह “सहयात्रा“(२०५९) तथा तीन नियात्रा सङ्ग्रह ‘प्रशान्तका छालहरूमा मेरो नेपाल’(२०६१), अनौठो मुलुक अनौठा अनुभूति‘(२०७१) तथा नीला गोलार्द्ध’  (२०७६) प्रकाशित छन् । विराटनगरमा जन्मेका उनी हाल काठमाडौंको ज्ञानेश्वरमा वसवास गर्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *