गजल

गजल

ज्ञानुवाकर पौडेल पौडेल

 

मेट्न यहाँ अब कसैले कसैको नाम भएन,

गतिलो तिम्ले’नि गरेको रचनात्मक काम भएन,

 

जता हेर्यो उतै देखिन्छ अचेल रावण मात्रै,

सितालाई बचाउन यहां एउटा राम भएन

 

ठानेंथें प्रिय हितैषी जसलाई मैले आफ्नो

फिर्ता उसैबाट कहिल्यै मेरो दाम भएन

 

न खुल्छ भ्रमित-बादल न दिन्छ साथ मौसमले,

न्यानो कहिल्यै मेरो लागी त्यो घाम भएन

 

लिन्थें बिश्राम एकछिन् सुस्ताउन पाए कतै,

उपलव्ध मलाई सुरक्षित त्यस्तो ठाम भएन

 

पोखुं म कल्लाई अव्यक्त प्रेमका यी  भावहरू?

तिम्लाई पठाउँ भने उपलव्ध सुँदर खाम भएन  !!

 

कवि परिचयः ज्ञानुवाकर पौडेल नेपाली गजललाई पुनर्जागरण गर्ने गजलकार हुन् । उनको पहिलो प्रकाशित रचना “कैक्टस” विसं २०३५ सालमा स्वतन्त्रता साहित्यिक पत्रिकामा प्रकाशित भएको थियो । उनका २ मुक्तक सङ्ग्रहहरु निर्वासित मन (विसं २०४८) तथा अनुदित मन (विसं २०७६) र दुई गजल सङ्ग्रहहरु खङडहर नयाँनयाँ (विसं २०४९) तथा जिन्दगी छैन अचेल जिन्दगीजस्तो (विसं २०६८) प्रकाशित छन् । उनी हाल ईमाडोल, ललितपुर बस्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *