१५ भदौ २०८०, काठमाडौं
सूर्य नेपाल काठमाडौं कलिङ्ग साहित्य उत्सव दोश्रो संस्करण काठमाडौंमा एक भव्य समारोहका वीच नेपालका परराष्ट्रमन्त्री एनपी साउद तथा फेस्टिभलका संयोजक रञ्जना निरौलाले पानसमा बत्ती वालेर उद्घाटन गरे ।
भदौ १५, १६ र १७ तीन दिनसम्म चल्ने सो उत्सवको उद्घाटन समारोहमा नेपालका तथा भारतका दुई दुई प्रतिभाहरुलाई यशश्वी सम्मान समर्पण गरियो । यो सम्मानबाट भारतका बनारस हिन्दी विश्वविद्यालयका प्रोफेसर अवधेस प्रधान, कलाकार तथा लेखिका दीब्या दत्त तथा नेपालका प्राडा माधवप्रसाद पोखरेललाई परराष्ट्र मन्त्री सावद तथा अन्य अतिथिले माल्यार्पण, सम्मानपत्र, तथा सरस्वतीको मूर्ति समर्पण गरेका थिए । नेपालबाट सम्मानित प्रतिभा कलाकार मनिषा कोइराला समारोहमा उपस्थित नभएकोले पछि प्रदान गर्ने बताइयो ।
सो अवसरमा यसैवर्षदेखि शुरु भएको “यशश्वी पुस्तक अवार्ड” १० कृतिलाई प्रदान गरिने घोषणा अनुसार आख्यानमा “ऐंठन”का लागि बिबेक ओझालाई, गैर आख्यानमा”शून्यको मूल्य”का लागि डा.नवराज केसीलाई, कथामा “सनेस” का लागि रेणुका जिसीलाई, कवितामा “भाषाको बकपत्र” का लागि डा.महेन्द्र कुमार मल्ललाई, वाल साहित्यमा “छमछमको छमछमी” का लागि अनुराधालाई, अनुवादमा “अमृता प्रितमका छानिएका कविताहरु” का लागि रिमा केसीलाई, अङ्ग्रेजी भाषाको संस्मरण “हिमालयन मेवरिक” का लागि लाक्पा डेण्डी शेर्पालाई तथा अङ्ग्रेजी कविता सङ्ग्रह “मिनट्स अफ मेरिट” का लागि सुषान्त थापालाई अवार्ड समर्पण गरियो ।
जीवनीमा “सुश्री पारिजात” का लागि गोविन्द गिरी प्रेरणालाई तथा खाद्य तथा औषधीमा “रैथाने चाडबाड र खानपान” का लागि नारायण घिमिरेलाई घोषणा भएको अवार्ड लेखकहरु हाल अमेरिका र क्यानाडामा रहेकाले पछि समर्पण गरिने बताइयो ।
सो उद्घाटन समारहलाई प्रमुख अतिथि परराष्ट्रमन्त्री एनपी साउद, एलआइसी नेपालका टी वर्णवाल, सङ्गित नाट्य एकेडेमीकी कुलपति नीशा शर्मा, प्राडा माधवप्रसाद पोखरेल, सूर्य नेपालका रविराय बरम, विवेक देवराय लगायतले सम्वोधन गरेका थिए ।
कार्यक्रमको शुरुमा आयोजकका तर्फबाट रञ्जना निरौला तथा श्मिरञ्जन परिदाले स्वागत मन्तव्य दिएका थिए ।
स्मरणीय छ भारतको उडिसा राज्यको भूवनेश्वरमा हुने गरेको कलिङ्ग साहित्य उत्सव नेपाल संस्करणको रुपमा गत बर्षदेखि काठमाडौंमा आयोजना गर्न थालिएको हो । यो उत्सवको नेपाल संयोजक साहित्यकार रञ्जना निरौला रहेकी छिन् ।
उत्सव ३ दिनसम्म चल्नेछ र विविध सत्रहरुमा साहित्यिक रचना वाचन, गजल मुसायरा, पुस्तक चर्चा, साहित्य र आम जीवनका बिबिध पक्षहरुको अन्तर्सम्बन्ध बारे छलफल, संस्कृति र सभ्यता, पुरस्कार र गरिमा, मानवसेवा, चिकित्सा र साहित्य लगायतका सेसनहरु रहेका छन् ।
०००
