कहीं गएको छैन ऊ

गजल

 नवराज कार्की

 

उसलाई यति त बोल्न देऊ ‘देश’ खोसिएको मान्छे हो, ऊ

तिम्रो मानिकलाई ‘ठेंगा’ देखाएर, बिदेशिएको मान्छे हो, ऊ

 

तिम्रो मालिक‌ले ‘देश’ लुट्दा, खुशी हुँदैछौ तिमी

सबै जालहरु चुँडालेर, उछिट्टिएको मान्छे हो, ऊ

 

ऊ जे बोल्छ, जहाँ बोल्छ, देशकै मायाले त बोल्छ

विभेदहरुको आरनमा सधै, पोलिएको मान्छे हो,ऊ

 

तिम्रो राजमा अभावै- अभावमा, पटक-पटक मर्नु भन्दा

“मरे मरुँला, एकै पटक” भन्दै, हान्निएको,मान्छे हो,ऊ

 

केही झर्ला र त्यो खाउँला भनेर, पर्खिरहेछौ तिमी

त्यही भान्सामा पिच्च थुक्ने, हिम्मत भएको, मान्छे हो, ऊ

 

आउँछ अवश्य ऊ फेरि फर्किएर, कहाँ गएको छ र ?

तिम्रो षड्‌यन्त्रले फ्याकेर, फ्याँकिएको मान्छे हो, ऊं?

000

कवि परिचयः नवराज कार्की मूलतः कवि हुन् । हास्य ब्यङ्ग्यात्मक कविता तथा मुक्तकहरु उनका काव्यिक लेखनका विशेषता हुन् । शिखघार म्याग्दीमा जन्मेका उनी सन् २००९ देखि अमेरिकाको क्यालिफोर्नियामा बस्छन् । उनका सिलसिला (कविता सङ्ग्रह २०४०), मनभित्रको आँधी (कविता तथा गीत सङ्ग्रह २०५३), एक दनक (हास्य ब्यङ्ग्य कविता २०५९), पलपल (गीत गजल सङ्ग्रह २०७०), तिमी हाँस्यौ र….(मुक्तक र छोटा कविता सङ्ग्रह २०७०), म्वाईं ( हास्य ब्यङ्ग्य कविता २०७०), एउटा यस्तो साथी (वाल कविता २०७०) सधैंसधैं (मुक्तक सङ्ग्रह सन् २०२२) प्रकाशित छन् ।

Leave a Reply