निमुखा

कविता

दीपा एवाई,  हंगकंग

 

गर्मीको तातो बाफले भुईं छोड्दै गर्दा

एक्कासी चिसो हावा क्रमशः

र सर्वत्र दिशा  बहन्दै बग्दै थियो

मानौं

अब देशभरी हिउको सेताम्मे साम्राज्य जम्ने छ ।

 

चिसोले सड़क छाप र गरीव जनतालाई

सदा कालको लागी ठाउँको ठाउँ बरफमा जमाई दिने छ

र देखिनेछ

पुतली सडक किनारमा

कुनै मुर्तीकारले बनाएको सजीव मुर्ती झैं

स्तब्ध र मौन

जो बिक्रीमा प्रदर्शनीको लागी राखिएको हो ।

 

चिसोको दिन ढलेर रात पर्दै गर्दा

मन्दिरहरुमा बल्ने आशाको दियोहरुमा

अन्धकारको सन्नाटा बल्नेछ

सुस्तरी बहेको हावा

कहीं शितल निवास छेउ कुनामा ठोकिएछ भने पनि

प्रतिध्वनि गुन्जने छैन

किन भने त्यहाँ अन्धकारमय शून्यता व्याप्त  छ ।

 

चिसिएर समय कठाङ्ग्रिएपछि

तिमी जति सुकै घामको गीत गाउ

लाल झन्डा बोकेर नारा लगाउ

वातावरण खल्बलिने गरी

ढोल पीट

शंखनाद गर

या युध्द छेड

सबै बेकार हुने छ

किन भने

तिमी नायक होईनौ ।

 

व्याप्त चिसो र अन्धकारको समयमा

एक हूल पुजारी

एक हूल जँड्याहा

एक हूल बलात्कारी

एक हूला चोर

एक हूल डाँका

एक हूल ज्यानमारा

एक हूल पूँजीपति

एक हूल दलाल

जनताको आँखा छलेर

सुटुक्क सिंहदबार पस्यो

र  लेख्यौ

“जसको शक्ति उसको भक्ति “-महान पुरुष ।

 

आज हिमाल उस्तै छ अटल

पहाड उस्तै छ स्तब्ध

केवल छैन त

बनजङ्गल नदी नाला

खोल्सा ,खहरे ,खोला नाला

जो शताब्दियौं देखि हलचल गर्दै सुसेल्दै बग्थे

ठिक त्यसरी नै शक्तिहीन निमुखाहरु पनि  ।

 

कवि परिचयः हंगकंगमा जन्मिएकी कवयित्री दीपा एवाई विसं २०५० मा हिमालय पोष्टमा मान्छे शिर्षकको कविता प्रकाशनसँगै साहित्यमा पदार्पण गरेकी हुन् । उनी कविताका साथै कथा र वैचरिक लेखहरु पनि लेख्छिन् । उनका २ कविता सङ्ग्रहहरु अर्धवृत (विसं २०६६) तथा श्वेत आकाङ्क्षा (विसं २०७१) प्रकाशित छन् । उनी हङकङमै बसोवास गर्छिन् ।

 

 

Leave a Reply