प्रभा पोखरेल
बग्रेल्ती छन् होनहार
सारङ्गीहरू शहरका
चोकचोकतिर
उज्यालोको खोजीमा
जुनकिरीको
धिपधिपे हेरेर पर्खिरहेका
थाहा छैन
घामको झलमल्ल
उज्यालो कस्तो हुन्छ
दिनमा
र जूनको शीतल आभा
कस्तो हुन्छ रातमा ?
खुसी छैन
धरहरा अग्लो भएर
न खुसी छ नयाँ सडक
झिलिमिली बत्ती बलेर
आफ्नै मझेरीमा
कलम समाउने सुकोमल हातले
जुठोपुरो
सित्ता र रोटीका टुक्रा
फोहोरको डङ्गुरबाट सिला खोज्दै
पेट भरेको देखेर
टुहुरा सारङ्गीहरूले
दुध कटुवा निराश
बाच्छा बाच्छीजस्ता
सारङ्गीको पेटमात्र
रित्तो छैन
कलिला ओठमा
मुस्कान हराएको छ
मलिन आँखामा
सपना छचल्किएका छन्
आफ्नै उमेरका
दौतरी दर्बिलो ओत भित्र
वात्सल्य प्रेमको आँगनीमा
लुटुपुटु गर्दै
शिक्षाको सुकिलो घाममा
लामवद्ध देख्दा
गला अवरुद्ध हुन्छ
र अविरल बगिरहन्छ
वागमती सारङ्गीका
आँखाबाट दुःखेर
आवाजविहीन छन्
सारङ्गी
अधिकारविहीन छन्
सारङ्गी
उज्यालोको खोजीमा
मौन पुकार छ
सारङ्गीको
बुलन्द नारा छन्
सारङ्गीका
तर मौन
इच्छाहरू
उद्धार खोजिरहेछन्
सडकको मुक्तिका लागि
रहर छ
सारङ्गीको काँचुली फेर्ने
ज्ञान
विज्ञानको उज्यालो
घाम ताप्ने
सुकिलो भेषमा
अनि पहारिलो
भविष्यतिर लम्किने
चाहना छन्
सारङ्गीका
स्वयम्भूका आँखाले पनि
समभाव राखी
आह्वान गरिरहेछन्
थोरै विवेकको
बत्ती बाल्न
शिल्पी हातहरूलाई
तेस्रो नेत्र खोलेर
सडकका असरल्ल
सारङ्गीहरूमा
सुमधुर आवाज भर्न
किनकि
सारङ्गी स्वयं पूर्ण हुन्नन्
तर खोक्रो
अबोध फ्रेममा
सिङ्गो अस्तित्व लुकेको हुन्छ
सारङ्गी संसारको
कतै कुशल कलाकारका
हातमा परे भने
यिनले जुनी फेर्ने मात्र होइनन्
दुनियाँको मन जित्न सक्छन्
विश्व बन्धुत्वको
अनन्त नाता गाँस्दै
सिङ्गो देश हाक्न सक्छन्
छाती थापेर
वीर गोर्खालीको परिचय दिँदै
जीवन्त युगीन
धुन छर्न सक्छन्
गला मिलाएर
देश चिनाउन सक्छन्
नयाँ आविष्कार गरेर
पासाङ
र तेन्जिङको साहस
सारङ्गीमा हुन्छ
निश्चिन्त उठेर
पौरखी पाइला अघि सार्न पाए भने
त्यसैले
एउटा प्रण गरौँ अब हामी
नयाँ मेलो थाल्ने
सही आकार दिएर
आवाजविहीन
सारङ्गीमा आवाज भर्ने
नाता
मानवताको कसिलो पार्ने
मूकदर्शक होइन
उद्धारक बन्नु पर्छ चेतनाको
बत्ती बालेर हामी
एक हुल सारङ्गीहरू
जन्मजात ल्याएको
मिठो धुनले
दुनियाँको मन जित्ने
अवसर लागि
हात उठाएर
पुकारिरहेछन्
धर्ती
र आकाशलाई
उज्यालोको खोजीमा।
000
कवि परिचयः ताप्लेजुङ फूलवारीमा जन्मेकी प्रभा पोखरेलको स्थायी बसोवास कोटेश्वर काठमाडौं हो । अहिले उनी अमेरिकाको नर्थ क्यारोलाइनामा बस्छिन् । उनको रुचि साहित्य सिर्जना र अध्ययन रहेको छ ।