श्रीओम एक कृयाशील साधक

व्यक्ति बृत्त

लक्ष्मी उप्रेती

हरेक मानिसको रुचि आ आफ्नो खालको हुन्छ। त्यहीँ रुचिका कारण कति मानिसहरू बौद्धिक चिन्तन नमन र मेहनत गरेर आफ्नो पहिचान आफै बनाउँछन् । उनीहरू कसैले छाप लगाएको पहिचान भन्दा अलग्गै र महत्त्वपूर्ण कोटीमा पर्छन् । कहीँ कसैको चासो नराखेर पनि आफ्नो विवेक सहि तरिकाले सम्बन्धित ठाउँमा छाड्छन् । कहि बोल्दा जुन कुरा ठीक हो त्यसैको सारमा वकालत गर्छन् ।

आजको युगमा पनि मानिसहरूको समूहमा बेग्लै पहिचानको छवि भएका व्यक्ति हुन श्रीओम श्रेष्ठ रोदन । उनको व्यक्ति, व्यक्तित्व र चेतना चिन्तन असाधारण छ। सभ्य, शान्त स्वभावका उनको क्षमता आकलन गर्न सजिलो छैन। उनी अक्षर रोप्दा र शब्द नै फलाउने उच्च कोटिका एक साहित्य साधक हुन् । जुन अक्षर बाट फलेका शब्दले पाठकको मनमा चेतनाको लहरसँगै मनोरञ्जन दिन्छ।

उनको परिचयको पेरिफेरिमा जानु हो भने थुप्रै होलान्। उनी अव्वल साहित्यकार र वरिष्ठ साहित्यिक पत्रकारको परिचय विशिष्ट छ । बैङ्कको जागिर समेत छाडेर उनी साहित्य र साहित्यिक पत्रकारितामा समर्पित रहे । जीवन भर कलम नरोक्ने उनको कलम कर्म नै तपस्या बन्यो । मृदुभाषी, शालीन, कसैलाई नबिझाउने, मेहनती, चिन्तनशील र कर्म शील व्यक्तित्व श्रीओमजी सबैका प्रिय पात्रका रूपमा सबैले स्विकारेका छन् । आफूले सक्ने काम नपत्याउने गरी फिस्स हाँसेर टाउको हल्लाउँदै हुन्छ भन्ने स्वभाव जो कोहीसँग हुँदैन। तर श्रीओम जीमा यो गुण भएको अनुभव गरेकी छु।

नेपालको साहित्यिक पत्रकारिताका क्षेत्रमा उनको योगदान महत्त्वपूर्ण रहेको छ। २०४८ सालमा नेपाल बैङ्कको जागीर छाडेर नेपालकै पहिलो पत्रिका ”गोरखापत्र दैनिक” मा संलग्न भई प्रबन्ध सम्पादक र प्रधान सम्पादकको अभिभारा बहन गरेर रोदनले चार वर्ष जति काम गरेको पाईन्छ। त्यसपछि गोरखापत्र संस्थानबाट प्रकाशित भइरहेको नेपाली भाषीहरूको महत्त्वपूर्ण र विशिष्ट साहित्यिक मासिक पत्रिका “मधुपर्क” श्रीओम श्रेष्ठको सम्पादनको योगदान निकै उत्कृष्ट रहेको छ । लामो समयसम्म मधुपर्क को सम्पादनमा कसैको गुनासो नआउनु र यसको विकास र विस्तारमा दत्तचित्त भई लागि पर्नु एक उदाहरणीय कार्य हो। सफलतापूर्वक काम गरेर रोदनजीले मधुपर्कलाई नै विशिष्ट तुल्याएको मान्नु पर्छ। यो पत्रिकाका अतिरिक्त अन्य थुप्रै पत्रिका, महत्त्वपूर्ण व्यक्ति विशेष र साहित्यिक ग्रन्थहरूको सम्पादनमा पनि महत्त्वपूर्ण योगदान देखिन्छ।

नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा मात्र विशिष्ट योगदान छैन ओमजीको । साहित्य क्षेत्रमा निरन्तर कृयाशील स्रष्टा र साधक का रूपमा असाधारण छवि बनेको छ । साहित्य लेखनमा आफ्नै शैली र शिल्पको फरक मानक पाइन्छ । साहित्यका विविध विधा र स्वादका सबैले बुझ्ने शैली र मृदुल शिल्प द्वारा कविता, लघु कथा, निबन्ध, नियात्रा, अन्तर्वार्ता जस्ता आदी १३ वटा कृतिहरू प्रकाशित छन् । आत्मपरक निबन्धमा छुटै ढङ्गले अभिव्यक्ति व्यक्त गर्न सक्ने सामर्थ्य भएका श्रेष्ठ जी शैली र शिल्पका सशक्त निबन्धकारका रूपमा विशिष्ट पहिचान छ । समकालीन निबन्धकारहरूको माहोल बीच नयाँ आयामको निबन्ध सिर्जना गर्न उनि खप्पिस देखिन्छन्। जुन यस्तो लेखनमा निकै प्रसिद्धि कमाएर उनी सफल भएका छन्। उनको भाषा साहित्यमा बौद्धिकता , ध्यान र साधना स्तुत्य पाइन्छ ।

जबरजस्ती हैन बिचारको तहलाई परिस्थिति सँग मिलाएर लेख्ने उनको कला निकै सुन्दर छ। सम्पादन क्षेत्र मा होस या साहित्यिक क्षेत्र मा होस उनको आफ्नै विशेषता पाइन्छ। बौद्धिक पहिचानका असरहरूको खोजी गरि त्यसको व्याख्या, व्यक्तिगत दृष्टिकोण र कालक्रमको साथसाथै वास्तविक घटनाको फरक विश्लेषण गर्ने क्षमता भएका श्री ओमजीको योगदान साहित्य सेवामा अमूल्य रहेको छ। लामो समय देखि लगातार नेपाली भाषा साहित्य र साहित्यिक पत्रकारिताको उन्नयनमा लागेर अनुकरणीय कार्यको प्रशंसा सबैले गर्ने गरेका छन्। साहित्य प्रतिको अनुरागमा जीवन र जगतको मूल्य मान्यतामा छुट्टै धारणा बनाई वास्तविक घटनामा चिन्तनशील छन्। उनको लेखन र सम्पादनमा यो चेतना युक्त लय मान्न सकिन्छ।

उनी बाट विभिन्न संस्थाहरूको स्थापना गरेर र स्थापित संस्थाहरूको महत्त्वपूर्ण पदमा रहेर विविध विधाका साहित्यको उन्नयन र विकासमा निःस्वार्थ सेवा गरेर उचाइमा पु-याउने काम भएको कुरा सबैलाई अवगत भई रहेको छ। पछिल्लो समयमा जब अवकाश जीवन सुरु भयो तब देखि त साहित्यिक लेखन भन्दा गतिविधिमा रोदनजी संस्थागत होस या व्यक्तिगत क्रियाशीलता झन् बढेको पाइन्छ । विशेष क्षमताका धनी, कुनै काम गर्छु भनेपछि त्यो काम जसरी पनि पुरा गरि छाडने जिम्मेवारी बोध भएका कर्मठ, चेतना युक्त राष्ट्रका एक मूर्धन्य व्यक्तित्व श्रीओमजीको यो जीवन दर्शन हो सायद ।

यी सबै कार्यको अतिरिक्त एउटा छुट्टै विशेषतामा निक्कै लामो समयसम्म कोही नाटक लेखन, निर्देशन र अभिनयमा आफ्नो प्रभाव छाड्दै कलाकारको पहिचानमा पनि स्थापित भई कलाकारिताको भूमिकामा दरो उपस्थित जनाएको पाइन्छ । यी कुराहरू भने पछि मलाई लाग्छ नेपाली भाषा साहित्य र साहित्यिक पत्रकारिता क्षेत्रबाट श्रीओम श्रेष्ठ रोदन लाई ओझेल पार्नु हो भने यस क्षेत्रमा पुर्नै नसक्ने खाडलको बनिनु हो ।
यसैले उनले राष्ट्रलाई दिएको योगदानको मूल्याङ्कन स्वरूप राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका विभिन्न सङ्घ संस्थाबाट थुप्रै पुरस्कार र सम्मानहरू प्राप्त गरेका छन्।

०००

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *