शैलेन्द्र साकार
(कवि जनार्दन जोशीको २८ चैत २०७९ का दिन देहान्त भएको थियो । उनका “गुम्सिएको रातभित्र पुरिएको अस्थीपञ्जर”(२०३२), “हस्पिटलको कैदी क्याविन नं १ मा”(२०३७)आवाजको खोजी(२०४५) जस्ता काब्यकृतिहरु प्रकाशित छन् । उनले “अवतार विघटन” संयुक्त उपन्यासमा समेत सहभागी दिवङ्गत जोशीको बारेमा विश्वपरिक्रमाको विशेष अनुरोधमा साहित्यकार शैलेन्द्र साकार लिखित यो संस्मरण पाठक समक्ष प्रस्तुत छ। -सम्पादक)
जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सरकारमा अर्थ सचिव भएका राम प्रसाद जोशीको माइला छोरा जनार्दन जोशीले अर्थशास्त्रमा स्नातकोत्तर गरे पछि कृषि विकास बैंकमा अधिकृत भएर जीवनको कार्यभार सुरु गरे। काठमाडौँको अभिजात नेवार जोशी कुलमा जन्मेका जनार्दन जोशीले जागिर खाना साथ एक वर्ष इटलीको रोममा तालीम लिने अवसर पनि प्राप्त गरेका थिए । त्यहाँ रहेको FAO (Food and Agriculture Organization) मा रहेर तालीम प्राप्त गरी नेपाल फर्केपछि समयानुसार उनी छिट्टै विभागीय प्रमुख भए वि.स. २०२४ सालमा खुलेको कृषि विकास बैंकमा ।
स्वर्गीय जनार्दन जोशी लाई सानै देखि कविता र अत्याधिक रुचि थियो। एकातिर उनी स्वामी योगानन्दका चेला भएर मौन रहेर ध्यानमा डुबिरहन्थे भने अर्को तर्फ निरन्तर कविताको साधनामा लीन रहन्थे । कृषि विकास बैंकमा कार्य सुरु गर्नासाथ उनले “हस्पिटलको कैदी क्याबिन नं एकमा” नामक लामो गद्य कविता प्रकाशित गरी साहित्यिक जगत्मा स्थान बनाएका थिए।
कृषि विकास बैंकले ‘समष्टि’ नामक साहित्यिक पत्रिका प्रकाशन गर्नु पर्छ भनेर ब्यवस्थापनलाई घच्घच्याइरहने अधिकृतहरूमा जनार्दन जोशी र उत्तम नारायण श्रेष्ठको ठूलो भूमिका छ । उक्त पत्रिकाको प्रधान सम्पादक भएर केही समय उनले काम गरेपछि त्यो कार्य उनले मलाई सुम्पेका थिए । काम नपाएर त्यसै हल्लिरहेका स्वर्गीय कुमुद देवकोयलाई मेरो सहायकमा नियुक्त गरेर जोशीले उनलाई निकै राम्रो आर्थिक सहयोग पनि गरेका थिए ।
शुरुशुरुको “समष्टि” मा उनले ‘पाचकेको कलम’ नामक नियमित स्तम्भ नविराई लेख्ने गर्थे र बैंक समुदाय र कर्मचारीहरुमा त्यो निकै बर्चित पनि थियो ।
उनी सदा सर्वदा साहित्यकार, कवि लेखकहरुलाई औधि प्रोत्साहन दिइरहन्थे र भित्री हृदयदेखिनै सम्मान पनि गर्थे। जीवनको उत्तरार्धमा उनले “आवाजको खोजी” नामक गीति नाटक आफैले लेखेर र अभिनय गरेर निकै ख्याति अर्जित गरेका थिए । आफू पदमा रहुन्जेल उनले मलाई, कुमुद देवकोटा, नकुल सिलवाल र जीवन आचार्यलाई सहयोग गर्ने कोशिश गरिरहे र केही मात्रामा सफल पनि भए । हामी सबै उनलाई मास्साहेव भनेर आदरसूचक सम्बोधन गर्ने गर्थ्यौं । चुरोटको आवधिक सेवानले गर्दा पनि रोग लागे पछि त्यसबाट उनी उस्कन सकेनन् र गतवर्ष मात्र कोरोनाका कारण उनी केवल ७६ वर्षमा दिबंगत भए ।
आवाजको खोजी गर्दै निःशब्द रहिरहन मन पराउने जनार्दन जोशी हाम्रो सम्झनामा सदा सर्वदा जीवित रहिरहने छन्।
000
लेखक परिचयः शैलेन्द्र साकार शंकरप्रसाद श्रेष्ठको साहित्यिक नाम हो । भोजपुरमा जन्मेर भोजपुरबाटै साहित्य लेखनी प्रारम्भ गरेर राजधानीमा प्रकाशित हुने उनी काठमाडौं आएपछि पूरै साहितयमा समर्पित भए । उनी मूलत कवि हुन् । उनका शैलेन्द्र साकारका कविता, सर्पहरु गीत सुन्दैनन्, नाढ्गो तार, अमेरिका, अरु सात समुद्र लगायतका कविता सङ्ग्रहहरु प्रकाशित छन् । उनका कोलाज, कालपात्र र अरु कथा, रामायण र अरु कथाहरु सङ्ग्रह पनि प्रकाशित छन् । उनको आत्मकथात्मक कृति ‘भोजपुरे हुलाकीको सन्तान” प्रकाशित छ । स्थायी रुपले काठमाडौंबासी उनी अमेरिका भ्रमण गरिरहन्छन् ।