( जया ओझा साहित्यका विविध बिधामा कलम चलाउँछिन् । तर पछिल्लो समय उनी उपन्यास विधामा बढी आकर्षित भएकी छिन् । उनको तेश्रो उपन्यास “रुमानी” हालै प्रकाशनमा आएको छ । उनको यही तेश्रो उपन्यासमा केन्द्रित ५ प्रश्नहरु र उनको जवाफ प्रस्तुत छ ।
जयाजी तपाईंका यसअघि प्रकाशित “आवरण” र “अनुराग” भन्दा यो उपन्यास “रुमानी” कुन हिसावले फरक छ पाठकका लागि ?
सबैभन्दा पहिले त यो विषयवस्तुको आधारमा फरक छ । त्यसपछि लेखन शैली, चरित्रचित्रण, भाषा, उद्देश्य र परिवेश पनि पृथक रहेको छ । पाठकले आवरण र अनुरागभन्दा भिन्न प्रकारको स्वाद पाउनु हुनेछ ।
“रुमानी” उपन्यास कुन घटना वा पात्रबाट प्रेरित भएर लेख्नु भएको हो ? विमोचनमा त माल्विका सुब्बाले आफैं पात्र भएको महशूस भएको बताएकी थिईन् नि ?
कुनै एक व्यक्तिको घटनाबाट प्रभावित भएर लेखेकी हैन । यो प्रत्येक घरघरको कहानी हो । प्रत्येक व्यक्तिको भोगाइ हो । प्रत्येक व्यक्तिले बाँच्दै आएको समाज हो । यसैबाट “रुमानी” प्रभावित छ । नेपाली मोडलिङ क्षेत्रमा बोल्ड र ब्युउटी नामले परिचित नाम हो माल्भिका सुब्बा । उनी आफ्नो हक र अधिकारको लागि बोल्छिन् डराउँदिनन् । परम्परागत कुसंस्कारको विरोध गर्छिन् । उनीजस्ता यहाँ हजारौँ नारीहरु छन् । मैले ती सबै नारीहरुको कथाव्यथा लेखेकी हुँ । माल्भिका सुब्बासँग मेल खानु भनेको ती असंख्य प्रतिभावान, सङ्घर्षशील महिलाहरुसँग मेल खानु हो । ठ्याक्कै माल्भिका सुब्बाकै यो कथा भने हैन । उनी जस्तै पात्र हो ।
“रुमानी” उपन्यासमा तपाईं यौनमा अलि उदार हुनुभएको देखियो । डा. अशोक थापाले पनि विमोचन समारोहमा त्यसै भन्नु भयो । यति उदार हुन जरुरी छ ?
यो ठ्याक्कै यौनको विषयमा लेखिएको उपन्यास हुँदै हैन । पात्रको जिन्दगीको सानो छेऊ मात्रै हो । यो लैङगिक, सामाजिक, वर्गीय र जातीय विभेदको विरुद्दको विषय हो । मान्छे जे पढ्न र सुन्न चााहन्छ, बढी त्यसैमा ध्यान केन्द्रित गर्छ । जुनसुकै घटनालाई पनि म गहिराइमा चिराफार गर्दै लेख्ने गर्छु । यसमा एउटा घटनाका लागि यो उदात्त भावना जरुरी थियो । त्यसो त जरुरी थियो भनेर सिधै या नाङ्गो या अश्लिन शब्दको खेती गरेकी छैन । उचित रुपमा पात्रको नेचरअनुसार उपयुक्त ठाउँमा मात्रै यसलाई कलात्मक तरिकाले प्रस्तुत गरेकी छु ।
आफू अविवाहित हुँदा पनि यौनिक पक्षका ती उदात्त बयानले भविष्यमा नीजि जीवनमा केही समस्या हुनसक्ने सम्भावना महशूस भएन?
विशेष गरेर अविवाहिता या विवाहिता महिलाले यौनको बारेमा खुलेर लेख्दा सबै पुरुषले आफैँलाई सेक्सको लागि आह्वान गरेर लेखेको हो भन्ने सोच्छन् । यस्ता कृति लेख्ने महिलाहरु वास्तविक जीवनमा सेक्सका लागि उदार हुन्छन् । चान्स मारीहाल्न पर्छ । प्रस्ताव राखिहाल्न पर्छ भन्ने नेपाली मानसिकता नै दरिद्र मानसिकता हो । यस्तै मानसिकता भएका पुरुषका कारण महिला लेखकको सामाजिक एवम् नीजि जीवनमा फरक पर्छ । मेरो जीवनमा पनि फरक परेको छ । धेरैजसो पुरुषहरु त्यस्तै नजरले हेर्छन् । कतिले किताबमा सिग्नेचर गर्ने बहानामा भेट्ने प्रस्ताव राख्छन् । अनि कतिले किताबभरिको छलफल गर्ने टपिक त्यही मात्र हो जसरी कुरा निकाल्छन् । चाहे त्यो विवाहित पुरुष होस् या चाहे त्यो ढुङ्गा पड्काउने बेला भएको पुरुष होस् चान्स खोज्न थाल्छन् । यस्ता ब्यवहारले पुरुष जातप्रति नै घृणा गरुँ गरुँ बनाईदिन्छ ।
अरु विधा छाडेर उपन्यासमा बढी केन्द्रित हुनुभयो । अब नयाँ कृति पाठकले उपन्यास नै पाउँछन् ? लेख्न थालिसक्नु भयो ?
नाटक पनि लेखिरहेकै छु । कहिलेकाहीँ टिभि सिरियल पनि लेखिरहेकी छु । छोडेको हैन । छोड्दिनँ । अब गजलको सङ्गालो ‘शृङ्गार’ तयारी अवस्थामा छ, छिट्टै प्रकाशन हुँदै छ । यसैवर्ष चलचित्र सम्बन्धी एउटा किताब प्रकाशन गर्ने योजनामा लागिपरिरहेकी छु । अर्को उपन्यास पनि तयारी जस्तै भएको छ तर अर्को वर्ष मात्रै प्रकाशनमा ल्याउने छु ।