फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान तथा पुरस्कारहरुको घोषणा

मुख्य समाचार

२० साउन २०८०, काठमाडौं

हास्यब्यङ्ग्यप्रधान अनलाइन मिडिया “फित्कौली” ले फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान तथा विभिन्न पुरस्कारहरुको घोषणा गरेको छ ।
फित्कौली अनलाइन मिडियाले जनाए अनुसार ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान (२०८०)’ हास्यव्यङ्ग्यकार चोलेश्वर शर्मालाई प्रदान गरिने भएको छ । यसमा २० हजार एक नगद रहेको छ ।
त्यसै गरी हास्यव्यङ्ग्य लेखनमा सक्रिय स्याङ्जाकी गायत्री परिरोशनीलाई गोविन्द–विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार (०८०),झापाका हास्यव्यङ्ग्य कवि खगेन्द्र नेउपानेलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार (०८०)’ गुल्मीका हास्यव्यङ्ग्य निबन्धकार काशीनाथ मिश्रितलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार (०८०)’, भक्तपुरका कवि रामशरण न्यौपानेलाई ‘मुकुन्द–मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार (०८०) प्रदान गरिने भएको छ । यी पुरस्कारहरुको राशी १५ हजार रहेको छ ।
त्यसैगरी फित्कौली पत्रिकाको आरम्भकालदेखि व्यङ्ग्यचित्र (कार्टुन) बनाएर विशेष योगदान पुर्याउने कार्टुनिष्ट राजेश मानन्धरलाई फित्कौली प्रोत्साहन पुरस्कार प््रदान गरिनेछ । यसमा रु. १० हजार राशी रहेको छ ।
यी सम्मान र पुरस्कारहरु हास्यव्यङ्ग्यकार चट्याङ मास्टरको संयोजकत्वमा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे र डा. मुकेशकुमार चालिसे सम्मिलित छनौट समितिको सिफारिस अनुसार निर्णय गरिएको हो ।
आगामि भदौ ९ गते काठमाडौंमा एक समारोहको आयोजना गरी यी सम्मान र पुरस्कारहरु समर्पण गरिने फित्कौली अनलाइन मिडियाका अध्यक्ष तथा प्रधान सम्पादक नरनाथ लुइँटेलले हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply