राजेश ढुंगाना
कुवेरको
ढिकुटी पनि देखेकै हो
रावणको
बलिष्ठता पनि हेरेकै हो
तर, न त
रावणको बलिष्ठताले
कहिल्यै–
लुते नै भए पनि
रामलाई पछार्न सक्यो
न त–
सम्पत्तिले नै–
कुवेरलाई
मृत्युबाट बचाउन सक्यो
मिथ्या !
झुट !!
भ्रममा नबाँच मान्छेहरु हो !
पत्थरको मूर्तिमा
कहिल्यै अभिव्यक्ति पलाउन सक्तैन
अथवा
पलाइ नै गए पनि
चलिरहेको
मान्छे हुनुको मुद्दामा
कहिल्यै
न्यायको पक्षमा फैसला हुन सक्तैन
अथवा
मान्छे भन्नु त मुटु न हो– मुटु
ढुंगाको मूर्तिमा
दैवसंयोग अभिव्यक्ति टुसाए नै पनि
हृदय चाहिं
पलाउन सक्तैन
मान्छे हुन त
अन्त अरुतिर कतै
र कुनै पनि चिजमा मात्र होइन
स्वयम् मान्छेभित्र पनि
हृदय चाहिँ उम्रेकै हुनुपर्छ
किन
मान्छे भएर पनि
मान्छेलाई नै अविश्वास ?
र
माया पनि रित्तियो
मान्छेहरुबाट ?
नत्र
के को यो आतङ्कको डढेलो हो
जो
रावण बनेर
मानव अस्तित्वको लङ्का डढाइरहेछ
नत्र के को
युध्दको रक्त–रंजित हुँकार हो यो ?
जो
राजनीति बनेर
मान्छेले
आफू मरेर गए पनि
बचाउनु पर्ने
एक रत्ति नाकको टुप्पो नै स्वयम्
मान्छेको
लाश बनेर गन्हाइरहेछ
फोहोर !
दुर्गन्ध !!
यो अस्वस्थ दूषित हावामा
बाँचिरहनु मात्र होइन
मात्रै
एक्कै पटक पनि सास नफेर अब
बुझ –
मनुष्यत्वले बाहेक
मान्छे
बाँच्न त परै जाओस्
शान्तिसँग
मर्नसम्म पनि सक्तैन
मान्छे बाहेक मान्छेको निमित्त
अर्थोक केही हुन सक्तैन !
पुनश्च:
मान्छे (मेरो एउटा मात्र विश्वास)
हृदय बाहेक
अर्थोक केही हुन सक्तैन
(मुटु हुन मान्छे
र मान्छे हुन मुटु)
तिमीलाई
मेरो –
अनिवार्य शर्त !
कवि परिचयः कवि राजेश ढुङ्गानाको जन्म सिन्धुली तोश्राम खोलामा भएको हो । हाल उनी भद्रपुर झापामा बस्छन् । २०३६ ताक कविता प्रकाशनबाट साहित्य यात्रा थालेका उनको एक कविता सङ्ग्रह प्रकाशित छ, “सुकिला मान्छेको सामयिक मृत्यु(विसं २०७०) ।