म त फगत एक मुडो

कविता

पूजा चन्द, बाल्टिमोर

 

नत मष्तिकमा शव्दहरू सल्बलाउँछन्

नत हातहरूले कलम नै चलाउँछन्

फगत एक मुडो म,

लरखराउँदै हिंड्ने कोसिस गरिरहेछु

हैन हैन हिंड्ने होइन, घिसारिने कोसिस गरिरहेछु

साथहरू त सबै छुटे कि क्या हो

कतै अल्झेको बेला सम्झिने कोसिस गर्छु

यादहरू मात्र छन् जो वतास जतिकै वत्तिन्छन

आकास जतिकै चुलिन्छन र एक विन्दुमा पुगेर

गर्ल्याम गुर्लुम्म भत्किन्छन्

फेरि एकपल्ट महशुस गर्छु

म त फगत एक मुडो ।

 

एक समय थियो, मेरा चाहनाहरूको

आक्रोसित द्वन्दहरूले पछ्याई रहन्थे तिमीलाई

कहिले भेटिए झैं लाग्थ्यो

फेरि कहिले त्रसित र भयावह मुद्रामा

तिमी भागीरहे झैं

तिमी अघि अघि, म पछि पछि

बर्षौं बित्यो भेट्ने चाहनामा

शायद थाकें म, मेरै चाहनाले थकायो मलाई

रोकियो मेरो गति अनि व्यग्रता

रोक्नु र रोकिनुमा पनि ठुलै संघर्ष थियो

भक्कानिएर एक्लिएका कैयौं प्रहरहरूमा

अविरल बर्षाहरूले निथ्रुक्क भिजीरहें

तिम्रो तापको आशमा कठ्यांग्रिएको मुटु

लाग्छ केवल अब धुकधुकी मात्र बाँकी छ

त्यसैले त आज म फगत एक मुडो

समयको वहाब संगै वगिरहेछु ।

कवि परिचयः काठमाडौं बाड भन्ज्याङमा जन्मिएकी पूजा चन्द चर्चित नायिका हुन् । तर उनको कलम भने सानैदेखि साहित्यमा चल्ने गर्थ्यो । उनी रेडियो नेपालको बाल कार्यक्रममा कविता पढ्न पुग्थिन् । नेपालमा छँदा साहित्यिक पत्रिका रत्नश्रीमा पनि उनका कविता प्रकाशित थिए । उनको कलम कविता तथा गीतमा चल्ने गरेको छ । उनको शव्दमा “कसरी सम्झाउँ ?” गीतको एल्बम प्रकाशित छ । सन् २००५ देखि अमेरिकामा बसोवास गरिरहेकी उनी हाल बाल्टिमोर बस्छिन् र अन्तरराष्ट्रिय नेपाली साहित्य समाज मेरिल्याण्ड चयाप्टरको अध्यक्ष छिन् ।

Leave a Reply