२२ जुलाई, २०२३, कोलकाता
`नेपाली जनकल्याण समिति कोलकाता´को आयोजनामा आदिकवि भानुभक्त आचार्यको ११०औं जन्म जयन्ती विशेष कार्यक्रम पश्चिम बङ्गालको हावडास्थित सरत सदनमा आयोजना गरी मनाइयो ।
सो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राइले भानुको तस्वीरमा माल्यार्पण गरी शुरु गरिएको थियो ।
सो कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा मधुसूदन गिरी, कोलकातास्थित उपमहावणिज्य दूत कर्ण तिमिल्सिना, नेपाली जनकल्याण समितिका प्रमुख सल्लाहकार धर्मराज बराल प्राध्यापक डा सत्यप्रकाश तिवारी, प्रवासी नेपाली सङ्घ भारतका अध्यक्ष नारायणप्रसाद होमागाईं लगायतले भानुको नेपाली भाषा साहित्यमा योगदान बारे आआफ्नो धारणा राखेका थिए । साथै कविहरु धर्मराज बराल, मोहनकुमार सिंह, सञ्जीव गुरुङ, रामबहादुर कार्कीले आफ्ना रचना समेत वाचन गरेका थिए ।
सो अवसरमा २४ वर्षदेखि भानु जयन्तीका अवसरमा प्रकाशन हुँदै आएको बिहानी पत्रिकाको पछिल्लो अङ्क विमोचन प्रमुख अतिथि कुलपति राइले गरेका थिए ।
सो अवसरमा पश्चिम बङ्गालका सहायक मन्त्री अरुप राय विशेष अतिथिका रुपमा उपस्थित थिए । उनले कुलपति राइलाई आयोजक संस्थाको तर्फबाट सम्मान समेत गरेका थिए । प्रदेश मन्त्री रायले भानुभक्तका नाममा हावडामा सडकमार्ग नामकरणको निर्णय भइसकेको र भानुभक्तको प्रतिमा निर्माणका लागि पनि सघाउन तयार रहेको जानकारी दिए ।
सो अवसरमा रचना वाचनका अलावा विविध सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।