लीलाराज दाहाल
राधा बाटोको छेउमा बसेर रोइरहेकी थिइन् । उनको रुवाइ सुनेर मानिसहरु झुम्मिएका थिए । उनका पति र सासु घरको आँगनमा उभिएर के के फलाकिरहेका थिए । वरिपरिका छिमेकीहरुसँग गुहार मागेर उनी घरतिर लागिन् । अव उनको घरको आँगनमा छिमेकीहरु जम्मा भए ।
“तपाईंहरु कसले बोलाएर मेरो घरमा आउनु भएको ? जानुस् सबै जना !” सासुले छिमेकीहरुलाई खाउँला झैं गरेर आँखा तरिन् ।
“बुहारीलाई यसरी यातना दिन पाइन्छ ? बुहारी पनि छोरी जस्तै होइनन् ? मान्छे त आमा छोरा नै पढे लेखेको हुनुहुन्छ त !” छेउमा उभिएका रामप्रसादले राधाका पक्षमा पैरवी गरे ।
“यसलाई अब यो घरमा एक दुई तीन बस्नै दिन्न । यो अफिसमा गएर के के गरेर आउँछे । मलाई थाहा छैन ? जागिर गर्न जानु त यसको बहाना मात्रै हो !” सासु कुर्लिरहेकी थिइन् । राधाको पति अजय पनि आमाकै पक्षमा ढल्किएको थियो ।
“मैले कुनै गल्ती गरेकी छैन । पहिले अप्सरा जस्ती बुहारी भने । अहिले मेरा माइती गरीव रे ! स्तर मिलेन रे ! मलाई अंश दिलाई दिनुहोस् ! म यी क्रुर सासु र बेकामे पतिसँग जीवन बिताउन सक्दिन । मलाई यिनीहरुले जिउँदै मार्नेछन् !” उनको आँसु थामिएको थिएन ।
यत्तिकैमा सासुले उनको कपाल लुछेर उनलाई भुइँमा पछारिन् । पति अजय पनि श्रीमती बिरुद्ध खनियो ! छिमेकीहरुले प्रहरी बोलाए !
प्रहरीले राधाको कुरा सुनेर दुवै पक्षलाई छलफलका लागि नगरपालिकामा लैजान खोज्यो !
सासुको अनुहारमा भने अझै क्रोधको आगो बल्दैथियो, “म किन जानु ? नगरपालिकामा जाँदा मेरो इज्जत जाँदैन ? म नारी उत्थान केन्द्रकी अध्यक्ष हुँ !”
कथाकार परिचयः लीलाराज दाहाल परवानीपुर, सर्लाहीमा जन।मेका हुन् र हाल वागमती नगरपालिका ११, जिल्ला सर्लाही हुँदै हाल ललितपुर बस्छन् । उनी कथा, लघुकथा, गजल, मुक्तक बिधामा रचना गरिरहेका छन् र ती फूटकर रुपमा बिभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।