मेरो शहर

कविता

नगिता लेप्चा राई

 

जब रातको अन्धकारले

मेरो शहरलाई अङ्कमाल गर्छ

आफ्नो बाहुपाशमा कस्छ

शरीरभरि रङ्गीचङ्गी आँखा खोलेर

बड़ेबड़े होटल रेष्टुराँहरूमा

बार र क्लबहरूमा

डिस्को डान्सहरूमा

इत्रिँदै…

बियर र ह्वीस्कीमा

पौड़ी खेली

रन्थनिन्छ मेरो शहर ।

 

बहुरङ्गी मस्त यो शहरमा

सभ्यता बोकेकाहरू

सभ्यता म्युनिसिप्यालिटीको

डस्ट बिनमा फ्याँकी

आबरु नङ्ग्याउँछ

ह्विस्की र बियरको चुस्कीसँगै

जीउको दरभाउ गरिन्छ

रातभरि मातिन्छ मेरो यो शहर

दिनभरि भद्रताको आड़मा

सभ्य कहलाइन्छ ।

 

डान्सबारमा बेजोड़ नाच उफ्रिन्छ

सभ्यताको प्लेकार्ड बोक्नेहरूको

अनुहार अनुहारै देखिन्न

मात्रै मुखुण्डोको जगजगी

अनुहारै नभएका लबस्तराहरू

मेरो शहरमा रातभरि

पासपोर्ट हराएकी मेमको

विज्ञापन गरिहिड़्छन्

कति असभ्य शहर

रोकथाम कतै छैन

दिनभरि शान्त सौम्य देखिने मेरो शहर

रातको अन्धकारमा

यौन शिकारमा

पौड़ी खेल्छ

मेरो शहर

यौनको पसल

मेरो रङ्गीचङ्गी शहर ।

 

कवि परिचयः नगिता लेप्चा राई कविता र हास्यव्यङ्ग्य विधामा कलम चलाउँछिन् । सिलगडी भारतकी उनको काव्यकृति “मेरो बालापन”(२०२३) प्रकाशित छ र एक हास्य ब्यङ्ग्य निबन्ध पुस्तक प्रकाशनको तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *