विपना हुँ कि सपना?

कविता

नन्दु उप्रेती

 

म विपना हुँ कि सपना ?

आफ्ना सपनाहरू जोडेर
मेरा बाले मेरो नाम राखिदिए: विपना
आमाले पनि आफ्ना सपनाहरू जोडिएको भेटिन्
सायद त्यही नाममा
र भनिन् मेरी छोरी: विपना ।

अनगिन्ती दुःखका पहाडहरू ढालेर
खुशी र सुखको हिमाल उभ्याउने अभियान भन्दै
केही सिपाहीजस्ता मान्छेहरूले
सकुशल लगेका हुन् मध्यरातमा मेरा बालाई
तिनीहरूले देखाएका सपनाहरूसँग झुल्दै
बा खुशी नै भएर गए कि
पिरोलिदै गए विपना र सपनामा अल्मलिएर
आमा र मलाई थाहा भएन
मेरा बा विपनाको संसारबाट हराए
अर्थात मेरा बा सपना मात्रै बने ।

बा विपनाबाट हराएको रापले
डढाइरहेको थियो हाम्रो जिन्दगीलाई
केही सिपाहीहरूले मेरी आमालाई पनि
विपनाबाट वेपत्ता पारिदिए
मेरी आमा पनि सपना बनिन्
केवल सपना
बाख्राको टाट्नो पछाडि छेलिएर बचेकी
म एक्लै विपना बाकी रहेँ ।

विपनाबाट सपना बनेका
मेरा बा आमा किन विपना बन्दैनन् अब ?
बा आमाका सपनाहरू जोडिएर
विपना बनेकी म पनि सपना बनिसकेँ त ?
मेरा विपनाका बा आमालाई सपना बनाउनेहरू
के गर्दैछन् अहिले ?
मेरा विपनाका बा आमा सपना बनेको यो देशमा
शासकहरू सपना र विपना छुट्याउन सक्दैनन् ?
म विपना हुँ कि सपना हुँ ?
मेरा बा आमालाई विपनाबाट सपना बनाउनेहरूले
उनीहरूलाई सपनाबाट विपना बनाउनु पर्दैन ?
खोइ मेरो देश ?
मेरो देशले
मेरा बा आमालाई सपनाबाट विपना बनाउनु पर्दैन ?
खोइ मेरो देश ?
मेरो देशले छुट्याउनु पर्दैन
म को हुँ ?
‘सपना हुँ कि विपना’ ?
म के हुँ ?
‘सपना हुँ कि विपना’ ?

 

कवि परिचयः नन्दु उप्रेती ईलाममा जन्मेका हुन् र हाल भक्तपुरको सृजनानगर बस्छन् । उनका वाल साहित्य, यात्रा साहित्य, निबन्ध, समालोचना लगायतका ६ कृति प्रकाशित छन् जसमध्ये “नेपाली लघु उपन्यास : परम्परा र प्रवृति ” नविनतम कृति हो । उनले ५ कृतिहरु प्रकाशित छन् ।

Leave a Reply