पन्ध्र असार

कविता

क्षेत्रप्रताप अधिकारी

 

आज पन्ध्र असार-

हिलो खानु पर्थ्यो

दहीच्यूरा खानु पर्थ्यो

तिमी मेलामा आइनौ

असारे गाएर अलिकति

म्वाइँ खानु पर्थ्यो

सहकाल होला नहोला अब

समय खिइदै गएको छ

तिमीलाई देख्दा देख्दा

सपना पनि बूढो भएकोछ ।

चौबन्दीको काखी सुँघेर

रातहरू काटेको छु

अनिदा दिनहरू उँघेर

जीर्ण जर्सी फाटेको छु

मरी जाने दुई दिने चोला

फेरि भेट होला कि नहोला !

मनको छाँगाबाट खसेको

माया दुखेको छु म

वनको हाँगाबाट झरेको

छायाँ सुकेको छु म

तिम्रो खोरियामा रोपेको

भन्टाको स्वाद सर्केर

खोकिरहेछु म

टर्रो हर्रो टोकिरहेछु म –

अब त घरबारेको घाँटी

खसखसाउन पनि छोडेछ क्यारे

पैले मैले बिराएको खोल्सो

खहरेले पो गोडेछ क्यारे

सकिनसकी काटेको कुलो

कसैले कतै मोडेछ क्यारे

अनदीको चाम्रे चपाउने रहर

सारो सिरौंला पल्टेर

दाँतमा ढुङ्गो लागिरहेछ

फुलेको बैंस बिर्सेर

मोरो तन्नेरी मन

जिन्दगी कोक्याउँदै भागिरहेछ ।

छोटकरीमा यसो भनौं:

तिमी बिरौटोमा लहलह बासमती

म समयले बगाएको गाम

तिमी ज्योतिर्गामी उषा

म डुब्न लागेको घाम ।

कवि परिचयः क्षेत्रप्रताप अधिकारी ( विसं १९९९- २०७०) गामवेसीका कवि” हुन् । त्यसको छनक यही कविताले दिन्छ । उनका रहरलागेर, गामवेसीका गीत, नफूलेका फूलहरू, तर देश हारिरहेछ, फेरि एउटा परिवर्तन, अकविता, म त लालिगुरांस भएछु, पहाडदेखिपहाडसम्म, युध्दका छायांहरू कविता कृतिहरू प्रकाशित छन् । उनले प्रसस्त जापानी कृतिहरूलाई नेपाली भाषामा अनुवाद गर्नुका साथै “जापानी साहित्यको ईतिहास” समेत लेखन गरेका थिए । प्रस्तुत कविता आज २०८० असार १५ कै दिनमा कवि अधिकारीप्रति श्रध्दा ब्यक्त गर्दै कृषि विकास बैंकको प्रकाशन “ समष्टि” साहित्यिक पत्रिकाको विसं २०५४ मंसिर पुस अँकबाट साभार प्रस्तुत छ ।

Leave a Reply