मीना श्रेष्ठ
बेहिसाब कति हिडियो नापेर पैतालाहरू
हिसाब न त पैतालाको छ न त
केबल पछ्याउँदै विभिन्न आकृतिका पैतालाहरू
कति बाटा पैतालाका डोबका
कुनै केबल पैतालाको छाला खोल्सिएका,
थाहै नपाइ,
बाटोले नापेका पैताला हुन्
या पैतालाले नापेका बाटाहरू हुन्।
इमानको हिसाब हुँदैन क्यारे
कि मै कमजोर रहें हिसाब गर्न
इमानको कसौटीमा नदेखियोस् ,
बरु,
हराइयोस् बग्दाबग्दै जिन्दगीको किनारमा
थाकें बेस्सरी भन्नु भन्दा
आदर्शको बर्को फ्याकेर भय रित्तिएको निर्भय
भावहरु हराएको निर्भाव हुन मन छ मलाई,
अब कुनै गुनासो छैन बेखवर हुन मन छ,
कोल्टे फेरेको पनि खबर बन्ने जगतमा
अखबरी दुनियाँबाट
चुपचाप चुपचाप
पाइला बिनाका यात्राहरूमा !
०००
कवि परिचयः खोटाङमा जन्मेकी मीना श्रेष्ठ २०५३ सालमा पहिलो कविताको प्रकाशनसँगै साहित्यको क्षेत्रमा पदार्पण गरेकी हुन् । उनका “बिस्कुन यो मनको” (२०७०), “फर्गेट एस्टर्डे” (२०७९) दुई कविता सङ्ग्रह प्रकाशित छन् । विद्यार्थी बेलादेखि राजनीतिमा सकृय उनी हाल कोशी प्रदेश सभा सांसद छिन् ।
