राम ईकवाल मियाँको कतार यात्रा

कथा

राजाराम बर्तौला

राम ईकवाल मियाँ, जवसम्म पुरै नाम लिईन्न राम ईकवाल मियाँ मुसलमान केटो हो भनेर छुट्याउन सकिन्न । उसलाई छोटोमा बोलाईने नाम राम हो । अर्थात हिन्दु नाम । बाउ आमाले के नामाकरण गरेका थिए कुन्नी समाजले उसलाई राम भनेर बोलाउन थालेदेखि उ राम ईकवाल मियाँ भएको थियो । कहिले काहीं उ आफूले आफैलाई प्रश्न गर्दछ, “हैन ब्यक्तिको परिचय वा नामाकरण माता पिताले गर्ने हो वा गाउँले समाजले?” जे भने पनि उसलाई गाउँलेले रामै भनेर चिन्दछ । उसको आफ्नो निकटको बिरादरी समाजले भने ईकवाल मियाँ । उसलाई राम ईकवाल मियाँ हुनु मै आनन्द आईरहेको थियो । उ बढ्दै गयो र स्कूलमा भर्ना हुने बेलामा पनि उसको नाम राम ईकवाल मियाँ नै भनेर दर्ता गरियो । गाउँलेको प्यारो दुलारा भयो राम ईकवाल ।

गाउँको एउटा किनारमा मुसलमान बस्ति र अर्को किनारमा हिन्दुहरुको बस्ति भएको समाजिक सद्भावको नमुना बस्ति थियो राम ईकवालको गाउँ । पूर्वपश्चिम राजमार्गबाट ५ किलोमिटर भित्र पर्ने बारा जिल्लाको एउटा गाउँ । गाउँको नाम अनामनगर भनेजस्तो अमुक गाउँ । अमुक गाउँको राम ईकवाल गाउँका सवैको प्रियपात्र थियो ।

ह्ष्टपुष्ट शरीर । चञ्चले स्वाभाव । छुकछुके बानी । सवैसंग लाडिने हुँदा सवैको प्रिय भएको थियो । गाउँको हुनेखाने घरको बच्चा न हो पुल्पुलिएर पालिएको । बाउको दशौं बिगाहा जमिन हेर्नेहरुवा चरुवा र सेवकहरुको बीचमा उसलाई जे गरे पनि छुट थियो । उमेर बढ्दै जाँदा उसको रसीक बानी ब्यहोरा पनि बढ्दै थियो । साथी संगातीहरुको समुह पनि ठूलै थियो । धनी बाउको छोरो साथीहरुको बीचमा पनि नेता जत्तिकै थियो–बदमासी गर्नमा होस्, छेडखानी गर्न वा अरुलाई सताउनमा ।

बाहिरफेर रमाउन थालेपछि र उटपट्याँग कामहरुमा मन बस्न थालेपछि स्कूलको पढाईले गति लिने कुरा भएन । बल्लतल्ल पास हुन्थ्यो त्यो पनि साथीहरुले चिट चोराएर । उमेर बढ्दै र कक्षा पनि बढ्दै जाँदा उसको मन पढाइमा भन्दा कुस्ती खेलतिर रमाउन थाल्यो । प्रायः उसका दिनहरु कुस्तीका अखडाहरुमा बित्न थाले । पढाईको गति सुस्त हुँदै जाँदा दश भन्दा माथि उक्लन पनि सकेन ।

गोठालो जानु, बैंसालु केटीहरुलाई जिस्काउनु, उपद्रो गर्नु, कपर्दी, डण्डिबियो र कुस्ती खेल्नु उसको शोख थियो । घरमा खान, लाउन प्रशस्त थियो । बाउले पाकेट खर्च पनि दिन्थ्यो । उ गाउँको सिन्के, हरे, अबुदे, मुन्द्रेलाई लिएर बीरगञ्ज, पटनासम्म सिनेमा हेर्न जान्थ्यो । सिनेमा हेरेर फर्कदा सिनेमाको हिरो जस्तै सम्झन्थ्यो आफूलाई । उसको मनपसन्दको हिरो थियो गोविन्दा । “कुर्ता फाड्क” भन्ने गीत  उसको मुखैमा झुण्डिएको थियो त्यतिवेला ।

सिन्के, हरे, अबुदे, मुद्रे स्कूलबाट एस.एस.सी पास गरेपछि आआफेनो बाटो लागे । कोही पढ्न भनेर पटना पसे, कोहि काम गर्न भारतको हरियाणा र पञ्जाव पसे, कोहि साउदी, कतार र दुबई । राम ईकवाल मियाँ एक्लै पर्यो गाउँमा । साथीवेगरको निरस जिन्दगी देखेर उसलाई पनि सहर पस्ने बिचार आयो । तर हातमा सीप थिएन । घरमा बसौं किसानीको काम बाहेक अरु केही काम जानेको थिएन । घरमा उसको बाउको कचकच बढ्न थालेको थियो । “यति बड्का लड्का भएर पनि घरमा बसी बसी खान्छ । दुई पैसा कमाएर बाउलाई दिन सक्दैन । बेटा सड् गईल,” भन्दै बाउ फतफताउँथ्यो । आमाले केही ढाक्न खोजे पनि बाउकै होमा हो मिलाउथी ।

“घरमा यसै कुस्ती खेलेर, खाएर बस्नु भन्दा बिहे गर” भनेर बाउले कचकच गरेको उसलाई राम्रै लागेर आयो । बिहे गरुँ गरुँ झैं भयो । उमेरको चस्का उसलाई पनि नपस्ने कुरै थिएन जुन स्वभाविकै पनि थियो । फिलिमको हिरोईन देखेर कम्ता लोभिंदैन थियो । उसकी श्रीमती पनि फिल्मको हिरोइन जस्तै होस् भन्ने मनमनै कल्पना गर्दथ्यो । तर, बिहे गर्न राजी हुनुको प्रमुख कारण श्रीमती पाउनु त थियो नै त्यो, भन्दा बढी बिहेमा आउने दहेजले लोभ्याएको थियो । उता उसको बाउको बिचार बेग्लै थियो । छोराको बिहे गरिदिने । बिहेमा आउने दाईजो र खेत दिएर छोरालाई भिन्न राखिदिने । बाउको चाल उसले बुझ्न सकेन । बिहेको प्रस्तावमा उ बहुतै खुसी भयो र बिहे गर्न राजी भयो ।

बिहेमा राम ईकवाललाई प्रशस्तै दाईजो आयो, नगद एक लाख, एउटा मोटर साईकल र गरगहना पनि । बिहेको कुरो छिन्दा धेरै मोलमोलाई गर्न सकेन राम ईकवालको बाउले । छोरो डाक्टर, ईन्जिनियर भएको भए दशौं लाख माग्न सक्थ्यो । तर एस एसएससी पनि पास नभएको केटाको भाउ त्यही एक लाखसम्मकै हो । पढे लेखेको र सरकारी जागिरे पनि भएको भए त तिलकमा रकमको अतिरिक्त घर र गाडी पनि माग्थ्यो होला । के गर्ने बेटाले पढ्न सकेन भन्दै राम ईकवालको बाउले चित्त बुझायो । निकाहनामा गरेर धुमधामले बिहे गर्यो र घरमा दुलही भित्र्यायो ।  बिहेमा गाउँले सवैलाई बोलाएर भोज पनि ख्यायो । तर, भोजको खर्च भने माईती पक्षलाई तिरायो ।

श्रीमतीलाई घरमा भित्र्याए पछि भने राम ईकवालको जीवनमा ठूलै परिवर्तन आयो । उसको बाउले भन्यो, “पैसा कमाएर ल्याउ र श्रीमती पाल । हैन भने आफ्नो भाग लिएर भिन्न बस् ।”

उसले भिन्न बस्ने शोच बनायो र बाउसंग अंशबण्डा गरेर आफ्नो भाग लियो । उसको भागमा दुई विगाहा जग्गा, हल गोरु, भैंसी र अरु केहि नगद जिन्सी हात पर्यो । बाउको पुरानो गोठलाई मर्मत गरेर बस्ने चाँजो पाँजो मिलायो । राम ईकवाल अव झनै फुक्काफाल भयो ।

ससुरालीबाट आएको दाईजोको रकम सकिएपछि राम ईकवालमा बेचैनी र छटपटि देखिन थाल्यो । उसंग सम्पति त थियो तर चलखेल गर्ने नगद थिएन । सरसापट गरेर पनि कति दिन चल्न सक्थ्यो र । कुनै काम गरेर नगद आम्दानीको ब्यवस्था गनैं पर्ने अवस्था उस्लाई आईलाग्यो । बाउ थियो र पो उसले सवै ब्यवस्था मिलाउथ्यो । उ कुस्तीको अखडा चहारेर हिँड्न पाएको थियो । आफ्नै जिम्मामा आएपछि भने उ झस्कियो । घर ब्यवहारको बोझ कति गरुँगो हुँदो रहेछ बुझ्दै थियो । झन् दुई जिउकि श्रीमतीलाई घरको गाह्रोसाह्रो काम लगाउन पनि नहुने । घर भित्रको काम पनि गर र बाहिर खेतबारीको काम पनि गर । उ दिनप्रतिदिन ख्याउटिंदै गयो । निरास हुँदै गयो ।

कतार र साउदी गएका गाउँले साथीहरुको सल्लाहमा उस्ले श्रीमतीलाई माईतमा लगेर छोडिदिने र आफू कतार भासिने बिचार गर्यो । उसलाई साउदी नै जाने ईच्छा त पहिले देखि नै थियो । मक्का मदिनाको देश । मजहव पनि मिल्ने । बालुवामा सुन फल्ने देश भनेर कथा किस्सा सुनेको । अरबी अत्तर, मोति र खजुरको कहानी सुनेको । अरव देशहरुसंग उस्को एक किसिमको आकर्षण सानै देखि थियो । हज गएर आउनेहरुले सुनाउने किस्साले पनि उ आकर्षित हुन्थ्यो ।

राम इकवाल पनि विदेश जाने रे भन्ने हल्ला चलेपछि उसको घरमा मेनपावर कम्पनीका दलालहरुको आउजाउ बढन थाल्यो । कतार गएर फर्केर गाउँमै ब्यवसाय गरेर बसेको मोहम्मद सलामले धेरै मानिसहरुलाई कतार पठाई सकेको थियो । उसलाई गाउँका धेरै युवाहरुले विश्वास पनि गर्दथे । उसले पठाएको मानिस अहिलेसम्म काम नपाएर फर्किएर आएको रिकर्ड थिएन । उसले भिसा पनि तयार भएको र भनेको कम्पनीमा गए कमाई पनि राम्रो हुने भनेर राम ईकवाललाई फकाएछ । राम्रो कमाई हुने लोभमा परेर उसले कतार जाने निश्चय गर्यो ।

कतार जाने, कमाएर ल्याउने र उसकी जहानलाई नोटका बिटा दिने, यस्तै कल्पना गर्न थाल्यो । गरगहना पनि ल्याई दिने । नयाँ लुगा, हातमा मोवाईल, घरमा टेलिभिजन लगाउने जस्ता रंगीन सपनाहरु संगालेर बस्न थाल्यो । ऋण नै गर्न परिहाल्ने अवस्थामा त उसंग थिएन । गाह्रो नै पर्दा बाउले मद्धत गर्दथ्यो । अहिले पनि विदेश जाने भएपछि बाउले नै लागेको खर्च हालिदिने भयो । श्रीमतीलाई माईत लगेर छोड्यो । आफू काठमाण्डौ हानियो । काठमाडौंमा केहि दिन बसेपछि उ कतारको लागि उड्यो ।

दोहा विमानस्थलमा उस्लाई लिन भनेर मानिस बसेको थियो । उसंगै रातो क्याप लगाएका दश जनाको समुह नै थियो । अध्यागमनबाट वाहिर आउने बित्तिकै उनीहरुलाई एउटा कुनामा राखियो । आआफ्ना साहुका मन्दुकहरुले टपक्क टिपेर गाडीमा हालेर लिएर हिँडे । राम ईकवाल चिल्ला सडक, अग्ला भवनहरु हेर्दै गईरहेको थियो । उस्ले यति सुन्दर सहर यस अघि देखेको थिएन । मनमनै कल्पिदै र काठमाण्डौसंग तुलना गर्दै थियो । गाउँबाट हिँड्दा काठमाण्डौको भव्यतासंग उ डराएको थियो । तर यहाँ आईपुग्दा उ आफैलाई स्वर्गतुल्य कुनै ईन्द्रको राजधानीमा आएको जस्तो अनुभूति गर्दै थियो । सपना हो या विपना भन्ने पनि अलमलमा थियो ।

यहि अलमल नै अलमलमा उ विशाल वालुवाले बनाएको रेतको बस्तीमा पुग्यो । कतै कतै काँडे बुट्यान जता हेर्यो उतै वालुवाको साम्राज्य । ओहो, मरुभूमि भनेको यहि रहेछ । उस्ले जीवनमा पहिलो पटक मरुभूमिसंग साक्षात्कार गर्यो । गाडी भित्र एअर कण्डिसनको चिसो हावा थियो । उसले सोच्यो वाहिरको हावा पनि यस्तै होला । त्यसैले गाडिमा बसुञ्जेलसम्म उसले मरुभूमी आँखाले मात्र नापी रह्यो । घर छोडेर हिंडेपछि उसलाई कतार जाने भन्ने सम्म थाहा छ । कतार कस्तो छ ? कहाँ छ ? कहाँ बस्ने ? के गर्ने ? कस्ता मानिसहरुसंग काम गर्न पर्ने ? केही थाहा थिएन । जीवन त एउटा झिनो विश्वासको भरमा चलेको न छ । घर छोडेर हिँडेपछिको जिन्दगी छिनेको पतङ्ग जस्तो । नियन्त्रणको डोरी भाग्यको हातमा मात्र रहने ।

राम ईकवालको जीवनको डोरी भाग्यको भन्दा पनि कर्मको हातमा हुनुपर्ने हो । तर उस्लाई भाग्यले डोर्याईरहेको थियो । हरिया फाँटहरुमा, नदीका किनार र तलाउहरुमा, कुस्तीका खालहरुमा, सिन्के, हरे, अबुदे, मुद्रेसँग कपर्दी र गोठालाहरुसँग रमाईरहेका उस्का आँखाहरु उराठ लाग्दो बञ्जर बस्तीको बालुवाको साम्राज्य रहेको ठुटे, बुटे, काँडे झाडीहरुले भरिएको एकान्त बस्तीमा पुगेर टक्क अडिएको जिन्दगीमा रमाउन वाध्य भएको थियो । कपडाको ठूल्ठूला टेन्टहरुले समियाना खडा गरेर बनाएको घर र खुल्ला चौरमा बारबेर गरेर थुनेर राखेका सयौं भेडाहरुको गोठ भएको एकान्त ठाउँमा गएर उसको गाडी रोकियो । तलदेखि माथिसम्म सेतै पहिरनमा सजिएको मालिकले आएर भित्र लग्यो र पुरुष सदस्यहरुसंग परिचय गरायो ।

तिम्रो नाम के रे? अब्दुल्लाले सोध्यो । “राम ईकवाल मियाँ”, उस्ले जवाफ दियो । उस्लाई लागेको थियो कि उसको साहुले यो “राम” चाहिँ कसरी भनेर सोध्ला । तर त्यस्तो केहि भएन । अब्दुल्लालाई राम रहिमसंग केहि लिनुदिनु थिएन । उस्लाई उस्को भेंडा हेर्ने गोठालो चाहिएको थियो, बस् । र एउटा नेपाली त्यो कामको लागि तयार भएर अगाडी उभिएको थियो । उसलाई अब्दुल्लाले के गर्ने, कसरी गर्ने, कामको बेलिबिस्तार लगाएर उ बस्ने ठाउँ देखाई दियो ।

खाने बेला भयो । सवै पुरुषहरु खान बसे । एउटा ठूलो खाना भएको थालको वरिपरि बसेर पुरुषहरुले खाए । त्यहि बाँकी खाना महिला सदस्यहरुले खाए । उस्लाई बोलाएनन् । हेरेर बस्यो । उस्ले यो इस्लामिक संस्कृती सुनेको थियो । तर आफ्नो घरमा कहिल्यै पनि ब्यवहारमा ल्याएको थिएन । उसलाई रमाईलो र असहज दुवै लागिरहेको थियो । सवैले खाईसकेपछि उस्लाई खान दिईयो त्यहि बाँकी पुरो । नोकर माथि गरिएको ब्यवहारको अनुभव प्रत्यक्ष आफै माथि परेको तितो, अमिलो र पिरो स्वादको घुट्का एकै पटक पियो । नचाहेरै पनि मानिसले जिन्दगीको तितो, टर्रा र अमिलो झोल पिउनु पर्दछ जिन्दगीको जिजीविषा रहुञ्जेल ।

दिनहरु बित्दै गएपछि उ त्यहिको संस्कार र ब्यवहारहरुसंग सहज हुँदै गयो । पहिला उस्ले घर भित्रको रीतिसंग सम्झौता गर्यो, त्यसपछि प्राकृतिक प्रकोप, तातो हावासंगै आउने वालुवाका कणहरु र आवोहावासंग । उसले बुझ्यो कल्पना गरेजस्तो संसार सुन्दर मात्र छैन । बाँच्नको लागि कुनै एउटा अप्ठ्यारो, अड्चन र बिग्रहसंग मात्र संघर्ष गरेर पुग्दैन । यहाँ त पाईला पाईलामा संघर्ष गर्नु पर्ने रहेछ ।

हरिया धानको फाँटमा खेतको आलिआलि कुदेको, चारकोषे झाडीमा पिरती गाँसेको, बाग्मतीमा पौडि खेलेको उसको आँखै अगाडी नाची रह्यो । पहाडको शीतल हावामा आँगनमा नाचेको, चैत्र बैशाखमा आँपको बगैंचामा खेलेको सवै जीवन्त बनेर अगाडी आईरहे । राती तातो हावाले सुत्न नसक्दा घरको झ्यालबाट आउने चिसो हावा सम्झी रह्यो । आँखाबाट तरर आँसुको भेल बग्यो राम ईकवाल मियाँको । साह्रै कष्टसंग बितायो पहिलो महिना घर सम्झदैं, भर्खरै विहे गरेकी कल्कलाउदी दुई जीउकी श्रीमती सम्झँदै, बाउ, आमा र साथीभाई सम्झँदै बितायो । दोश्रो महिनादेखि भने उ काममा रत्तियो ।

काम गरेको छ महिना भईसक्दा पनि अब्दुल्ला साहुले तलव दिने विचार नै गरेन । उसले मुखै फोरेर तलव माग्यो । अब्दुल्लाले भन्यो, “तलव लिएर के गर्छस् । यहाँ बैंक छैन । पैसा पोको पारेर राख्दा हराउँछ । मसंगै बसे सुरक्षित रहन्छ । घर जाँदा एकमुष्ट लिएर जालास् ।” ए फसाद, घर जाने बेलामा दिएन भने के गर्ने होला । उ के गर्ने र के नगर्ने असमञ्जस्यमा पर्यो । चाहिन्छ नै भन्न पनि सकेन । आँखिर यो गोठ भएको ठाउँबाट सहर पुग्न पाईने होईन । महिना बितेपछि साहुले एक ठाउँबाट अर्को ठाउँमा गोठ सारी रह्यो । कतार त भन्नु मात्रै हो उसको गोठ प्रायः साउदीको अनकन्टार मरुभूमीको एक ठाउँबाट अर्को ठाउँ गर्दै सरी रह्यो । बर्षको एकपटक कतारमा आई पुगिन्थ्यो । आफू कहाँ छु भन्ने पनि राम ईकवाल मियाँलाई पत्तो हुँदैन थियो । उसले चिनेको भनेको घरका दुईचार सदस्य, र सयौं भेडाका बथान । अब्दुल्लाको एउटा पिकअप भ्यान थियो । खाने सामान सकिँदा उ यहि पिकअप लिएर जान्थ्यो र महिनालाई पुग्ने रासन लिएर आउँथ्यो । कहाँ जान्थ्यो त्यो राम ईकवाललाई थाहा हुँदैन थियो ।

बीचबीचमा नेपाल फर्कन उसले निकै कोशिस गरेको थियो । तर साहुले उसको कुरै सुनेन । मरुभूमीबाट भागेर हिँड्ने आँट पनि गर्न सकेन । एक हिसावले उ परिवन्दको बन्दी थियो । प्राकृतिक जिन्दगी बाँच्दै थियो । पैसासंगको उसको सरोकार रहेन । पैसा घर गृहस्थी चलाउन, आफ्नो आवश्यकताहरु पूरा गर्न चाहिने हो । पैसा घर पठाउन जानै नपाउने, बसेको ठाउँमा खर्च गर्ने ठाउँ नै नहुने भएपछि पैसाको आवश्यकता भएन । आवश्यकता नभएपछि पैसाको चाह पनि भएन । साहुले जे खान दियो त्यहि खायो । बस, जीवन बाँचिरहेको थियो ।

वर्ष दिन होईन दुई वर्ष पनि होईन तीन वर्षपछि उसको साहुले घर जाने भए दुई महिनाको छुट्टि दिन्छु भन्यो । उ खुसी हुन पनि सकेन र दुःखी हुन पर्ने कारण पनि थिएन । तर, उसलाई चिन्ता थियो घरकाले के भन्ने हुन् भन्ने । तीन वर्ष काम गरेको महिनाको हिसावले औंला भाच्यो र मोटै रकम आउने विश्वासले ढुक्क भयो । तर, साहुले तीन तीन वर्ष काम गरेको पैसा दिने त बिचार नै गरेन । उसले तीन वर्षको तलव हिसाव गरेर पैसा माग्यो ।

अब्दुल्लाले भन्यो, “तेरो घरमा कोहि छैनन् । कोहि भएको भए तँ अहिलेसम्म यहाँ टिकेर बस्ने थिईनस् । नेपालमा खान नपुगेर आएको होस् । तँलाई मैले खान दिएँ, बस्न दिएँ । घर जान हवाई भाडा पनि दिन्छु । अरु पैसा किन चाहियो । केही जोर कपडा पनि किनिदिउँला ।”

ईकवालले भन्यो, “म खान नपुरेर आएको होईन । तिम्रो भन्दा धेरै जग्गा जमिन छ मसंग । घरमा खर्च गर्ने नगद पैसा नभएर काम गरेर पैसा कमाउन आएको हुँ । मैले दुःख गरेर कमाएको तलव तिमीले खान मिल्दैन । मलाई मेरो पैसा देउ ।”

बिन्तिभाउ गर्दा पनि अब्दुल्लाले पैसा दिन मानेन । हवाई टिकट र राहदानी हातमा राखेर घर जाउ भनेर दोहा विमानस्थलमा ल्याएर छोडेर गयो । न रुनु, न कराउनु, आफैं हराएको भावमा टोल्हाएर थकित छेवैको बेन्चीमा थचक्क बस्यो । अलपत्र बेवारिसे, बिचलित र ब्यग्र राम ईकवाल केहि निर्णय गर्न नसकेर बिछिप्त झैं देखिन्थ्यो । उसको लागि सहाराको हात दिने कोहि थिएन । यो पराई भूमिमा सान्त्वनाको दुई शव्द पोखिदिने कोहि थिएन । नितान्त एक्लो ईकवाल पर कतै टाढाबाट आएको आजानको आवाज सुन्दै थियो “अल्लाह हु अकवर ।”

विमानस्थलमा अलपत्र बेवारिसे बसिरहेको नेपाली देखेर त्यहीं काम गर्ने अर्को एकजना नेपालीले दूतावासमा ल्याएर छोडिदिएर गयो । राम ईकवाल मियाँ दुई हात जोड्दै सहयोगको याचना सहित ठिङ्ग उभियो दूतावासको अधिकारी समक्ष । आशाको एउटा आधार भेट्यो राम ईकवालले । कतै मेरो देश बोल्छ कि मेरो लागि, उसको विश्वास जाग्यो । सहयोगको याचना लिएर दूतावासमा पुग्ने ठगिने, हेपिने, पिटिने, बेचिने, लुटिनेहरुको भिडमा उ पनि थपिन पुगेको थियो ।

उ भित्र पस्नासाथ हाकिमले असजिलो मान्यो । भेंडी गोठको गन्ध बोकेर पुगेको थियो के गरोस् बिचरा । राम ईकवालले महिनौंसम्म नुहाएको थिएन । जीउको पसिना जिउमै सुकाएर एअर कण्डिसनको काम गर्न सिकेको थियो । मरुभूमीमा बाक्लो लुगा लगाएर हिट स्टोर्कबाट बच्न पर्दछ । त्यहि भएर उस्ले महिनौदेखि नुहाएको थिएन । अरुलाई असहज लागे पनि उसलाई आफ्नो शरीरको गन्ध सहज लागेको थियो । उसले हाकिमको प्रतिकृयामा खासै महत्व दिएन । उसको साहुले अरेवीक अत्तर लगाउँछ वाहिर हिँड्दा । घर आएपछि बस्ने त्यहि भेडि गोठमा हो । अत्तरै दले पनि मानिस कर्मको गन्धले कि त गन्हाउछ कि त सुवासित हुन्छ । भेडासंग कर्म जोडिएपछि गन्ध त भेडा कै आउने भयो नि । त्यसैले उसलाई यो भेडाको गन्धले केही असर गरेको थिएन । दुःखको कुरो त उसले पारिश्रमिक नपाउनुको पीडा थियो ।

जीवनको यथार्थसंग अवगत भएपछि दुःख पनि सहज लाग्ने रहेछ । तीन वर्षसम्म जीवनलाई बालुवाको तातो हावामा सेकाएर, रगत पसिना सुकाएर पनि आफ्नो कमाई नपाउँदाको पिडा कत्रो होला? नपर्नेले अनुमान मात्र लगाउने कुरा हो ।

दूतावासका हाकिमले साहुको फोन नम्बर मागे । घर जाँदै गरेको अब्दुल्ला बीच बाटो बाटै फर्किएर दूतावासमा हाजिर जनाउन आयो । हाकिमको केरकारमा परेपछि उ फतक्कै गल्यो फर्सिको मुन्टा गले जसरी ।

“उस्को तलव किन नदिएको, श्रम अदालत लैजाउँ,” हाकिम कड्किए ।

अब्दुल्ला भन्दै थियो, “उसलाई मैले तीन वर्षसम्म खान दिएर, बस्न दिएर पाले । उसलाई आउने जाने भाडा पनि दिएँ । तलव किन दिने । यसलाई तलव दिए मैले मेरो श्रीमतीलाई पनि तलव दिन पर्छ ।”

“तिमीले सम्झौता गरेका छौ । त्यसैले दिन पर्छ नभए कानून लाग्छ,” हाकिमले सम्झाए ।

सम्झौता गरेको छौ भनेपछि उ तलव दिन राजी भयो । ईस्लामिक कानूनमा सम्झौताको ठूलै महत्व रहेछ । विवेक, नैतिकता र मानवीयताले काम नगरेपछि बाध्यताले काम गर्ने रहेछ । बन्धनमा बाँध्ने कागजी सम्झौता दैवी प्रतिज्ञा भन्दा बलियो हुने रहेछ । उसले उसको सवै तलव महिनै पिच्छेको एउटा छुट्टै थैलीमा राख्ने गरेको रहेछ । गन्दा पनि नगनी उसको अगाडी राखिदियो । सम्झौता वमोजिमको पूरै रकम थियो ।

श्रीमतीको लागि उपहार, केहि थान गहना, एउटा टेलिभिजन सेट र उसको अनुपस्थितिमा जन्मिएको नदेखेको छोरोको लागि खेलौना किन्यो । पसिनाले भिजेको कमिज, गञ्जी पोको पारेर ब्यागमा जतनले राख्यो र नयाँ सर्ट, पाईन्ट, जुत्तामा ठाँटिएर राम ईकवाल मियाँ अर्को दिन आफ्नो कमाईको पूरै रकम सहित सपना सजाएर कतार एअरको जहाजबाट नेपाल फर्कियो । जहाजको सिटमा बसेपछि राम ईकवाल मनमा अनेक सपनाहरु आए । एक छिन अघिसम्म नहतारिएको उ अहिले अधैर्य भएर कल्पनाको सिंढी चढ्दै थियो ।

अब उ घरमा गएर प्रियालाई भेट्नेछ । यति दिनसम्म पनि सम्पर्क नगरेको झोंकमा रिसाएर बसेकी प्रियालाई सम्झाउने छ । हातमा गुथुने छोरो थमाई दिने छे उसकी श्रीमतीले । उ छोरो हेरेर मख्ख पर्ने छ । श्रीमतीलाई किनिदिएको उपहार दिएर उ मनग्गे प्यार गर्ने छ ।

यस्तै कल्पनामा रमाउदै उ घर पुग्यो । घरबाट ससुराली । उसले कहीं पनि आफ्नो श्रीमती भेट्न सकेन ।

ससुरालीमा सालोले भन्यो, “दिदीलाई त पल्लो गाउँको रिजवानले भगाएर लग्यो ।”

मियाँको हातबाट छोरोको लागि ल्याएको खेलौना भुँईमा फुत्रुक्क खस्यो । अनि उ थचक्क भुईंमा बस्यो ।

 

कथाकार परिचयः राजाराम बर्तौला जागिरे जीवनबाट अबकासपछिको समयमा पदयात्रा र लेखनमा होमिएका छन् । उनका २ गैर आख्यानका पुस्तकहरु “मेरा पाइलाहरु” र “अल्छी ढुङ्गो” प्रकाशित छन्  र एक नियात्रा पुस्तक प्रकाशनको तयारीमा छन् । मकवानपुर जिल्ला भीमफेदीको चुनियामा जन्मिएर स्कूले शिक्षा हेटौंडामै पूरा गरेका उनी हाल काठमाडौंमा बसोवास गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *