दिव्य गिरी
घामभित्र तिमी छ्यौ
म छु
हाम्रो माया छ ।
घाम तापिरहेका गुराँस, लालुपाते, गोदावरी
र सयपत्रीको मुस्कान छ तिम्रो मुहारमा
त्यो मुस्कानभित्र
मेरो मुटुको धड्कन छ
त्यो धड्कनभित्र
तिम्रो र मेरो पिरतीको साइनो छ
त्यो पिरतीको साइनोभित्र
हामी दुबैको मायाको आकाश छ
त्यो आकाशमा जून–ताराहरू छन्
ती जून–ताराहरूको छायाँ तल
तिम्रो र मेरो पिरतीको आँगन छ
त्यो आँगनमा खुसीको पूmल फक्रेको छ
पूmलसँगै तिम्रो मेरो पिरतीको मुलायम घाम
झनै सुन्दर, रोमाञ्चक र उल्लासमय छ ।
म निकै हर्षित छु
म निकै उमङ्ति छु
प्रिय, यतिवेला
मेरो माया तिम्रो मायाको घाम तापिरहेछ
तिम्रो माया मेरो मायाको घाम तापिरहेछ
तिमी छ्यौ, म छु
र हामीसँगै मायाको घाम छ
प्रिय,
जीवन भन्नु नै मायाको घाम होइन र ?
घामभित्र तिमी छ्यौ
म छु
हाम्रो माया छ ।
कवि परिचयः दिव्य गिरी मूलतः कवि हुन् । उनको पहिलोपुस्तक मुक्तक सङ्ग्रह “कङ्काल बस्ती” विसं २०३८ सालमा प्रकाशित भएको थियो । उनका हालसम्म २ मुक्तक सङ्ग्रह, एक गजल सङ्ग्रह, ३ हाइकु सङ्ग्रह, कविता, संस्मरण, कथा र लघुकथाका एक एक सङ्ग्रहप्रकाशित छन् र एक हाइकु सङ्ग्रहको अङ्ग्रेजी अनुवाद पनि प्रकाशित छ । उनी रैथाने काठमाडौं उपत्यकावासी हुन् ।
