मुगलान उपन्यास एक दृष्टि

पुस्तक समीक्षा

टीका ढुङ्गेल रटन

बरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईको उपन्यास मुगलान कृति  वि. सं. २०३२ मा पहिलो  संस्करण प्रकाशित भएको र क्रमैले यो उपन्यास छैटौ संस्करण सम्म प्रकाशित हुँदै आएको तथ्य प्रमाण पाइन्छ। ‘प्रवासीको मायामा सप्रेम समर्पित’ यो उपन्यास पढ़न बसेपछि नसकि उठन मन पर्दैन। मानिसले सुखभन्दा ज्यादा दुःख गर्नु पर्ने बाध्यता प्रायः गरीब तथा सिदा सोझाहरूले झेल्नु परेको दर्दनाक कथाले मनलाई छुएर कता कता हृदयनै पग्लेर साउनको झरी आँखामा छछल्किन्छ।

भाइ रतनले पनि आफ्ना कुरा लण्डनबाट राख्नु भएको छ। लेखकका आफ्ना कुरा, मुगलानको छैटौ संस्करण बारे जानकारीमूलक पाठक समक्ष राख्नु भएको पाइन्छ। अच्यूत घिमिरेको मीठो स्वरमा वाचित श्रुति संवेगले मुगलान विश्व साहित्यमा पुग्न सफल भएको छ। च्याङथापुको कालीडाँड़ाबाट नून लिन धेरै मानिसहरू दार्जीलिङ आउने क्रम जारी रहन्छ। ठूले र धामी बाबैका छोरा कान्छो सुतार पनि नुन लिन आएका थिए। सबै नुन लिएर फर्के पनि ठूले र कान्छो सुतार फर्केनन्। गाउँ घरमा बसेर आनन्दमा  डुबेका हेर्दा खाइलाग्दा केटाहरू घर छाडेर धेरै कमाउन मुगलान पस्ने विचार गरेछन्। छ कोरी जस्तो हातमा बोकेको पैसा पनि गाड़ी खर्च र चोरले चोर्दा बेखर्ची भएर बस्नु परेको अवस्था यात्राको शुरूमै भएको हो। पल्टनमा गएर ३-४ साल पछि भरियालाई सामान बोकाएर घर फर्कने मनको इच्छालाई हुर्काउदै मुगलान तिर गएर भर्ती हुले इच्छा दुबैको थियो। तर गाउँ बस्ती र शहर बजार आकाश पतालको फरक पर्छ। प्लेट फर्ममा कति दुःखले भोकै बसेको अवस्थामा कसले केही परोपकार गर्दा कति रमाएका थिए । जाल झेल गरेको उनीहरूलाई थाहै भएन।

“भुने र ठेकीमा दही र मोहीको भारी हालेर पातालको मालिङ्गेनी घारीबाट  सुसेल्दै बेंसीको घरतिर झर्ने यी अवोध मूर्तिहरुले संसार यस्तो पनि होला भनेर स्वप्नामा पनि देखेका थिएनन् ।” पहिला त रिक्सावालाले तानातान गर्दा सुतारले आफनो पुरूर्षाथ देखाएको थियो। सुतार र ठूले आलो पालो गर्दै चङख भएर सुत्ने गर्थे। आपत परेपछि गुहार माग्दै पहाडबाट आएको भने पछि त हेप्ने नै भए नि त्यै माथि बिर्खची भोकै शहरको कोलाहलमा लाटिए पछि जसो भन्दा पनि हुने। यात्रा गर्दा कति चङख हुनुपर्छ भन्ने यी दुईलाई थाहा थिएन। अभर परेर बसेको समयमा कसैले भर्तीमा लाने भन्दा फुरूक्क परे दुई सोझा जवान। दलालहरुको संगत गर्न पुगेछन् । एक दलालले  अर्कालाई बेच्यो । यसरी एक ठाउँमा भेला गरी भर्ती लाने भन्दै आफ्नो गन्तव्यमा पुर्‍याउन कति समय लाग्यो। खाना खुवाउँदै गाड़ीको भाडा तिरेर खर्च गर्दै एकबाट अर्को त्यहाँबाट अर्को गर्दै भर्ती त होइन कुल्लीकाम गर्न पो लगिंदै रहेछ। यी जवानहरूको सोचाइ कति उच्चको थियो। पल्टने भएपछि के के  गर्ने सपना साँचेका थिए। प्रत्येकले आफूलाई सुटबुट कसेर काँधमा बन्दुक भिरेका भर्तीवालाको फौजी जीवनको सपना देखेका थिए। सुतार कान्छो र ठूले मात्र होइन यहाँ त एक हूल फौजी नै तयार भई सकेको जस्तो लाग्छ।

सोह्रजना एक साथ एउटा गाडीमा हालेर लगिंदैछ। रनु दाई, राइनी दिदी, ठेकेदार, यी सबै  एकै हुन् सबैले आ-आफ्नो रोल राम्रो खेलेको रहेछ। पहेलो ट्रकमा हालेर फिन्चोलिङ पारू हुँदै रमणीय दृश्यहरुमा यात्रा गरिरहेको छ।

कार्की निकै बाठो थियो। पल्टनमा भर्ती भएको खण्डमा ऊ क्याप्टन नै हुने जस्तो कुरा गर्थ्यो। माल बजार वानर हाट हुँदै ट्रक कुदिरहेको छ एकोहोरो। आधाबाटामा पुग्दा मोक्तान थिएन, के रहस्य थियो। सोह्रजनामा अब पन्द्रजना मात्र ट्रकमा छन्। ठेक्दारले डाईभरलाई जिम्मा लगायो । ओल्लै गेटमा जिम्दार आएको हुन्छ । जिम्मा लगाउनु भनेको हुन्छ । बल्ल आफनो गन्तव्य मुगलान भर्तीमा पुगेछन् “लौ तिमीहरू अब हाम्रो जिम्मा भयौ।” “आजदेखि यहाँ जे काम लगाइन्छ त्यही गर्नु” ।

यस्ता कुरा सुनेर पल्टन लाग्ने अन्तिम ठाउँ यही होला सबैले सोचेका थिए। तर यहाँ त कुल्लीको लागि पो ल्याएको रहेछ। कति नराम्रा मान्छेहरू, कस्तो कठोर काम, कति दुःख झेल्न पर्ने विमारी भन्न नपाइने, प्रत्येकलाई एक एकवटा हतियार दिएर रोड़ खन्न पो लगाइएछ।

तम्वुमा बस्नु पर्ने । रोड खनेर राशन थापेर आफै पकाएर खानु पर्ने। घण्टी लागे काममा जानु पर्ने । पहिला पहिला काम गर्न केही जस्तो नलागे पनि काम गर्दै जाँदा त कति कष्टदायक जीवन बिताउन  बाध्य भए। भागेर जाँदा पनि पक्रेर ल्पाउने र सँजाय पनि कडा नै रहेछ । दुई महिना सित्थैमा काम गर्नु पर्ने। भाग्न पनि बाटै नभएको ठाउँमा कसरी पो भाग्ने र? रोज पनि कम्ती हिसाब गर्दा हातमा नरहने कस्तो त्यहाँको नियम।

मानवलाई मानवले हड्डी घोटने ठाउँ रहेछ। मानवका खोल ओढ़ेका दानवले मानवलाई कति हेप्न सकेका त्यसको वर्णन गर्न सकिंदैन। त्यस ठाउँका राईलाई जिम्दार भन्ने चलन थिएछ। जहाँ प्रत्येक पाइलामा स्वयम् मृत्युसँग भेटघाट हुने गर्थ्यौ। “सबैले भन्छन बरू ज्यान लिन्छ अरे तर भागेर कतै  उम्कन पाइने छैन।” कार्की भन्छन् । ठूलेलाई मैले खप्नै सकिन । मेरो शरीरले अब थाम्न सक्ने छैन । बरू मारोस् उताबाट पनि चार पाँच जना भाग्ने भएका छन् जङ्गलै जङ्गलको बाटो । एक्काइस दिनमा वानरहाट पुगिन्छ अरे । पाँच महिनाको रगतको मोल तीस चालीस रुपियाँ हात पर्छ। ठूले त भागेको जस्तो छ । कार्की र सुतार कान्छाले ठूलेलाई खोजे पनि उ आएन। जस्तै मीठो खाना मासु भए पनि साथीको सुर्ताले घाँटीबाट उँधो जान सकेन। भाग्नेलाई कोर्रा हान्ने सँजाय तिनीहरूलाई दुई महीनाको तलब काटिने । राशन आधा मात्र पाउने । यस्तो नियम थिएछ त्यहाँ। कुल्ली लाले सुब्बाको मृत शरीर हिउँले पुरिएर ढुङ्गो भएको दृश्यहरू । यस्ता घटनाले सबैको होस उडेको थियो। राई कान्छाको अवस्था दिन दिनै बिग्रदै जाँदैछ। राई कान्छाले आफ्नो सपनालाई पानीमा मिलाएर त्यै तम्बूभित्र सास फेर्न छोडेछ। जीउन नसक्ने अवस्था  भएपछि एक दिन सुतार कान्छाले कार्कीलाई भन्यो, मर्नै परेपछि एक पल्टलाई भागौं भन्ने सल्लाह गरी उज्यालो हुनअघि दुई साथीहरू भागे । कति कष्ट पाए। त्यो जंगली जनावरसँगको मिलन वर्णन गरेर सकिंदैन। यसरी भाग्दा भाग्दै कार्कीले पनि प्राण छोड़ेपछि सुतार कान्छो एक्लैले कसरी एउटा गोठमा पुगेर आफनो प्राण बचायो, कथा अतिनै दुःखपूर्ण छ। सुतार कान्छाले कार्कीलाई बोलायो । सुनेन। हातले तानी हल्लायो । हल्लिएन । ऊसले त अघि नै प्राण त्याग  गरिसकेछ। जंगलमा अब सुतार एक्लै भयो। आफ्नै साथीलाई जंगलमा पोल्न कति आपत परेको थियो। भागेको सातौं दिनको यात्रामा साथीलाई पोलेर एक्लो शरीर एक मुठ्ठी प्राणलाई लतारि रहेछ जंगलमा सुतारले। यति लामो जंगलको यात्रा गरेर एउटा गोठ देख्यो। गोठमा पुगेर आफ्नो प्राण बाँचेको महसूस गर्‍यौ सुतारले। हा जोड़को छेउबाट भागेर हिंडेको दश दिन भएछ भनेपछि कति ठूलो जंगल थिएछ। त्यहाँबाट भागेर आउनेलाई ‘डिपाइटे’ भन्ने गर्दा रहेछन्। चपरासीले थाहा पाए बाँधेर अड्ड़ामा पुर्‍याउँछ भन्ने डरले सुतारको मन पोलिरहेको छ। गोठालोले सुतारलाई काखी चेपेर राखेको छ। गोठालोलाई सबैले पाखे काईंलो नामले चिन्दा रहेछन्। सुतारलाई कसैले डिपाइटे भन्दा पनि होइन । कान्छा दाइ भनेर पाखे काईंलाले बचाएकोले गर्दा सुतार कान्छाले पनि विस्तारो गोठको काम हातमा लियो। प्यारो भएर पाखे काइँलाको घरमा पनि पुग्यो । काम गरेर रिझायो । पाखे कान्छाका र आमा बाबुको पनि प्यारो छोरो नै भयो। नौ गाउँदेखि वोलाएर ल्याएको भन्ने हल्ला फिंजायो गोठालोले। गोठालोको छोरा हड़सेसँग पनि भेट भयो। गोठ पूरै थाम्ने भयो। घरमा गएर खेती गर्ने फुर्तिलो भयो। यसरी काम गरेर रिझाएपछि पाखे काइँलाको छोरी ठूलीसँग विवाह गरिदियो। अब भने सुतार कान्छाको भाग्यले साथ पाए जस्तो छ। तर गाउँको एक शत्रु सालवोटेले पुलिस ल्याएर पक्राउँदा पाखे काइँलो जेल जानु परेको । घर जलाएको । र सुतार भागेर कतै गएको प्रसंग पाइन्छ।

सुतार कान्छो दोर्खाबाट चेनमारी चिया कमानमा काम गर्न थालेछ। त्यहाँ मोक्तानलाई भेट्टायो जो आधा बाटामै हराएको थियो । सोह्र जनाको हुँदामा। साथी पाएर सँगै बसे । तर एक दिन त्यो साथीले सबै पैसा चोरेर सुतार कान्छालाई कंगाल बनाएको छ। फेरि समस्याले छोप्यो उठ्नै नसक्ने गरी। सुतार व्यापार पनि गर्ने भएको थियो। ऊ अदुवा बेच्न साम्ची बजारसम्म पुग्थ्यो। त्यहाँ हड़सेले चिनेर ज्वाईंको सम्बोधन गर्‍यो। ठूलीलाई भेट्ने इच्छा मनमा लियो। आफ्नो दुनो सोझ्याउँदै मनमा के के कुरा खेलाउँदै घर पुग्छ सुतार त्यै दिन । मोक्तानले सुतारको पैसा चोरेर भागेको हुँदोरहेछ। चिया बगानमा काम गर्थ्यो सुतार । ठूलीलाई ल्यायो । अनि फेरि ठूलीलाई पनि त्यही बगानमा काममा लायो। सुतारको हात काम गर्दा मर्केकोले काम गर्नु भएन। रहँदै बस्तै जाँदा एक सन्तानको पनि प्रवेश भयो। सुतार एक दिन सौदा गर्न नजिकैको चाल्सा स्टेशनतिर गएको थियो। त्यहाँ स्टेशनबाट एउटा सेतै फूलेको बूढ़ो आएर सुतारलाई च्पाप्प हातमा समायो। सुतार तसिर्दै हेर्छ । ऊ छक्क परेको देखेर ‘ईश्वरले त माथि दृष्टि राखेकै छन् कान्छा?’ बाबु रहेछन् । साथमा १२/१३ वर्षकी केटीले सानो पोको बोकेकी रहिछ । त्यो उसको छोरी रहिछ। सुतार घरबाट हिंडेको वर्ष जन्मेकी छोरीलाई भेट्यो। छोरी तीन वर्षकी भएपछि सुतारकी पत्नी पोइला गइछे । बाबुले भन्दै गए । म नातिनी लिएर कामाख्यातिर तीर्थ गर्न जोगी भएर हिँडेको । यो छोरी अब तेरो जिम्मा। कति दुखित अवस्था । सुतार एक शब्द पनि बोल्न सकेन। सुतार छोरी लिएर घर आयो । ठूलीलाई विन्ती सुनायो। सुतारको घर जाने इच्छा पनि चकनाचुर भयो। सुतारको अवस्था विग्रँदो छ। कमानमा काम गर्न नसक्ने भयो। कमानको कोठा छोड़नु पर्ने पत्र आइरहेको छ। सुतार वौलाहा जस्तै भएको छ। अब ती ठूली र दुई सन्तानको हालत छ। सपनामा पनि तसिर्दै अतालिँदै कराउँथ्यो । सुतार कान्छो ठूले मात्र भन्थ्यो। अब छोरी मात्र  बगानमा गएर यसो हात मुख जोड्ने काम हुँदै थियो। सुतार घरबाट हरायो । भोलि त्यो घर छोड़नु थियो । त्यो रातभरि डाइनाखोलाको जंगलतिरबाट छात्ती फुटाएर रोएको सुतारको हृदयविदारक रोदन कता कति हावामा मिसिएर आएको झझल्को मात्र भयो।

अधूरो जीवनको कहालीलाग्दो मानव जीवन मुगलान उपन्यास पढ़ेपछि संक्षिप्तमा पाठकवर्गमा राख्ने प्रयास मात्र गरिएको  छ। मानव जीवनमा के कस्ता समस्याहरूले घेरेर राखेको हुन्छ। जन्मदानै कर्ममा लेखेकै हुन्छ कि जस्तो पनि लाग्छ। यस्तै यस्तै घटनाहरू पनि घटिरहेका हुन्छन्। उपन्यासले मानव जीवनको रेखाहरू कोरेर प्रष्ट पारेको छ।

लेखक परिचयः टीका ढुङ्गेल रटन गान्तोक, सिक्किमवासी हुन् । उनको संलग्नता नेपाली परिषद सिक्किमसँग छ, कार्यालय सहायकको रुपमा । उनी समीक्षात्मक लेखहरु लेख्न रुचाउँछन् ।

1 thought on “मुगलान उपन्यास एक दृष्टि

  1. टीकाजीमा बधाइ छ यस्तो सुन्दर लेख मेरो शीघ्र प्रकास्य कृति गोविन्दराज भट्टराई कृति समीक्षाको सामाग्री हुनेछ।

Leave a Reply