ठाकुर बेलवासे, काठमाडौं
तिमी चाहे रुमालले पुछ आँसु
चाहे पानीले पखाल
म तिम्रो आँसुको रंग परैबाट चिन्दछु
कारण तिम्रो रोदनमा मेरो क्रन्दन लुकेको छ
तिमी चाहे फूलैफूलले
अनुहार रंंगाउ
चाहे ओठमा हाँसोको नदी उमार
म तिम्रो मनको वेग परैबाट जान्दछु
कारण तिम्रो ओठमा मेरो हाँसो लुकेको छ
तिम्रो मनमा मेरो संसार झुमेको छ
दु:खको बेला सबैलाई यस्तै हुन्छ
जस्तो तिमीलाई भएको छ
दु:खमा सुकेको पातले पनि लखेट्छ
यसैले यही बेला भुल्नै हुदैन
तिम्रो मान्छेलाई
जसले
तिमीले जेजे लुकाउँछौ
त्यहीत्यही देखी रहन्छ
तिमी जति टाढा भाग्छौ
ऊ झनझन नजिक आउँछ
दु:खमा तिम्रो मान्छेलाई नभूल
जसले तिम्रा लुकेका खुसीहरु
आँखामा ल्याईदिन्छ
अनि गडेका पीडाहरुबाट
खिल निकाली दिन्छ ।
कवि परिचयः ठाकुर वेल्वासेले २०४७ – ४८ साल देखि कविता लेखन आरम्भ गरेका हुन् । उनका “सागरको वरिपरि मनहरुको समारोह “(२०५८) , “अचानक यो साँझ” (२०६६) “त्रासमा ईश्वर” (२०५९) , “यतैकतै” (२०७६) संयुक्तकविता कृति प्रकाशित छन् । उनी राष्ट्रिय कविता महोत्सव २०५८ मा तृतीय , २०६९ मा प्रथम भएका थिए साथै उनले क्षेत्रीय प्रतिभा पुरस्कार, मोती पुरस्कार , साझा पुरस्कार लगायतका पुरस्कार समेत प्राप्त गरेका छन् ।