व्हाइट हाउसबाट ९०० मिटर पर सेप्टेम्बर ११ भोग्दा

लघुकथा लामो कथा

बासु गौतम, काठमाडौं

गत अगस्ट महिनाको पहिलो दुई साता  संसार भर  एउटा समाचारले प्रमुखता पायो र “वैश्विक मामिलाहरु“  नजिकबाट नियाल्नेहरुलाई २० बर्ष लामो  असफल युद्धपछि शक्तिराष्ट्र  अमेरिकाको  दक्षिण एशियाली मुलुक अफगानिस्तानबाट भएको बहिर्गमनले ध्यान आकृष्ट गर्‍यो।  अमेरिकाको निराशाजनक र उपलब्धिबिहिन अफगानिस्तान निकासको मूलजरा आजकै दिन ठीक २० बर्ष अघि अमेरिकी भूमीमा भएको आतंकवादी हमला हो भन्ने दुई दशक यता प्रचार गरिएको भएता पनि विश्व ईतिहासकै सबैभन्दा लामो युद्धहरु मध्येको एक अमेरिकी–अफगान युद्धको उद्गम सोवियतकालिन शीतयुद्ध हो भन्ने लाग्छ।   सन् १९९० को दशकमा अफगानिस्तानमा उदय भएको “तालिबान अभियान“ र सन् २००१ सेप्टेम्बर ११ का दिन चारवटा हवाई जहाज अपहरण गरी अमेरिका लक्षित  आत्मघाती हमला गर्ने अर्को चरमपन्थी इस्लामिक  समूह अल कायदाका सम्बन्धमा चर्चा अलि पछि गर्छु। पहिले २० बर्ष अगाडी आजका दिनको व्यक्तिगत केही अनुभवहरु सुनाउन चाहें।

बाक्लो हिमपात सहितको कठ्याङ्ग्रिने जाडा महिनाहरु र आद्रतायुक्त असहज उच्च तापक्रमको गर्मीका बिच सेप्टेम्बरमा वासिङ्टन डिसीको मौसम बर्षभरिकै सबैभन्दा उत्कृष्ट हुन्छ । सेप्टेम्बर ११ मंगलवारको त्यो दिन पनि बाहिर खुलेको आकाश हिजो जस्तै लाग्छ । त्यो दिन पनि बिहान सदा झैं ११ बजे काममा जाने हतारमा हामी बस्ने वाशिङ्टन डिसीको अपार्ट्मेन्ट कोठाबाट बाहिर निस्कन मात्र लाग्दा मामा कृष्ण ज्ञवालीले टेलिभिजनमा समाचार देखाउँदैं न्यूयोर्क शहरको सबैभन्दा ठुलो बिल्डिङ वर्ल्ड ट्रेड सेन्टरमा जहाज ठोक्किएको दृष्यहरु आइरहेको बताउनु भएको केही मिनेटमै  वर्ल्ड ट्रेड सेन्टरको दोश्रो  बिल्डिङमा पनि  जहाज ठोकिएको दृष्यहरु आउन थाले।  सिएनएन,  एबिसि लगायत टेलिभिजनहरुले न्यूयोर्कबाट प्रत्यक्ष प्रसारण मार्फत देखाएका दृष्यहरु हलिउडका लोकप्रिय काल्पनिक बिज्ञान (साइ–फाइ) सिनेमाहरुमा जस्तै देखिन थालेपछि मेरो  मनमा चिसो पस्न थालिसकेको थियो।   च्यानल घुमाउँदा लगभग सबै समाचारहरुले न्यूयोर्कको ट्रेड सेन्टर आक्रमणका दोहोर्याइ तेहर्याइ देखाइरहँदा वाशिङ्टन नजिकैको अमेरिकी रक्षा मन्त्रालय भवन “पेन्टागन” मा पनि जहाज दुर्घटना भएको “ब्रेकिङ न्युज“ हरु आउन थाले केही समयपछि । करिब १० बजे पेन्टागनमा आक्रमणको समाचार आउन थालेपछि त्यो दिन अपार्ट्मेन्टबाट बाहिर ननिस्किने र पेन्टागन नजिकै आर्लिङ्टनमा रहेको कार्यस्थलमा फोन गरेर उक्त दिन बिदा  लिने निधो गरें।

अहिलेको जस्तो मोबाइलको सुविधा नभएको हुँदा ल्याण्ड्लाइन फोनमा त्यसपछि दिनभरि नै नेपाल र अमेरिकाकै अन्य राज्यहरुबाट परिवार र इष्टमित्रहरुले हामी सुरक्षित रहेको नरहेको बुझ्न सम्पर्क गरी रहे।  पेन्टागनमा आक्रमण भैसकेपछि व्हाइट हाउसमा आक्रमणमा गर्ने उद्देश्यले एउटा अर्को जहाज वाशिङ्टन तर्फ अघि बढेको “ब्रेकिङ न्युज“ ले  व्हाइट हाउसबाट ९०० मिटरको मात्र दुरीमा रहेको हामी बस्ने १५०० म्यासाचुसेट्स एभेन्यू अपार्ट्मेन्टस बिल्डिङ भित्रका अन्यलाई पनि बेचैन बनाएको थियो । १५०० म्यासाचुसेट्स एभेन्यू अपार्ट्मेन्टसको २२१ नम्बरले चिनिएको हामी बस्ने अपार्टमेन्टमा मामा कृष्ण ज्ञवालीसँग वस्तथें । यही अपार्टमेण्टमा साहित्यकार गोविन्द गिरी ’प्रेरणा’ पनि सन् २००० मा छ महिना वसेरनेपाल फर्केका थिए ।

न्यूयोर्कको ट्वीन टावर र पेन्टागन आक्रमण पछी व्हाइट हाउस या वाशिङ्टन शहरमा आक्रमण गर्ने उद्देश्य सहित अपहरणकारीहरुको कब्जामा परेको क्यालिफोर्नियाका लागि उडेको  चौथो विमान — युनाइटेड फ्लाइट ९३ न्यूयोर्क नजिकैको नेवार्क बिमानस्थलबाट उड्नासाथ बिमान भित्रका केही यात्रुले न्यूयोर्क र वाशिङ्टनको समाचार थाहा पाएर र शंका लागेर अपहरणकर्ताहरुसित बिमान भित्रै झडप गरेका कारण दुर्घटनाग्रस्त भएको थियो। युनाइटेड फ्लाइट ९३ को अपहरण र बिमान भित्रको कथावस्तुलाई समेटेर हलिउडले केही बर्ष अघि “युनाइटेड  ९३“ नामक सिनेमा पनि  निर्माण गरेको थियो।

सन् २००१ यसै पनि हामी नेपालीहरुका लागि उतारचढावपूर्ण थियो । सेप्टेम्बर ११ भन्दा तीन महिना अगाडी नारायणहिटीमा घटेको जेठ १९ को  “दरवार हत्याकाण्ड“ र नेपाल भित्र घटिरहेका अन्य राजनीतिक घटनाक्रमहरुले गर्दा अमेरिकाका प्रख्तात अखवारहरु “द वाशिङटन पोस्ट“ र “न्यूयोर्क टाइम्स“ मा नेपालका समाचारहरुले फ्रन्टपेज ओगट्न थालेका थिए। अनि सात समुद्रपारी बस्ने हामी नेपालीहरुलाई त नेपालमा घटिरहेका कतिपय घटनाहरुले प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारीरहेको हुन्थ्यो नै।

व्यक्तिगत रुपमा भन्नु पर्दा २००१ मेरा लागि पनि जीवनको एउटा त्यस्तै घुम्ती थियो जसले जीवन र जगतलाई हेर्ने दृष्टिकोणलाई आज सम्म प्रभावित पारिरहेको भान हुन्छ। २००१ सेप्टेम्बर ११ सम्म डेमोक्र्याट र रिपब्लिकन पार्टी अमेरिकाको आन्तरिक राजनीतिको पट्यार लाग्दा विषयहरुमा रुमल्लिरहेको अवस्थामा त्यस्को भोलिपल्ट अर्थात सेप्टेम्बर १२ देखी जुर्मुराएको जस्तो देखिन्थ्यो । फलस्वरुप, २००१  सेप्टेम्बर ११ मा न्यूयोर्क र वाशिङ्टनमा भएको त्यो आक्रमणपछि आजका दिनसम्म अमेरिकाको बिदेश नीति, आप्रवासी सम्बन्धी नीति र समग्र  राजनीतिलाई प्रभाव पारिरहेको छ ।

सेप्टेम्बर ११ पछि मैले पनि संचार माध्यमहरु मार्फत “अल काइदा“, ओसामा बिन लादेन, अफगानिस्तान र तालिबान सम्बन्धी समाचारहरुलाई रुचीका साथ पढ्न थालेको थिएँ । हुन त,सेप्टेम्बर ११ को घटना हुनु भन्दा केही पहिले अमेरिकामा “अल काइदा“ र ओसामा बिन लादेनको नाम दिंनहु जसो समाचारहरुमा देखिनु भन्दा करिब एक बर्ष अघि द वाशिङ्टन पोष्टको मुख्य पृष्ठमा प्रकाशित एउटा समाचारले  मेरो ध्यान तानेको थियो।

सन् २००० को अन्त्य तिर हुनु पर्छ  तालिबान समुहले अफगानिस्तानको बामियान क्षेत्रमा रहेको बुध्दका बिशाल मुर्तिहरु नष्ट गरिरहेको समाचारले द वाशिङ्टन पोष्ट लगायत अन्तरराष्ट्रिय संचार माध्यमहरुमा राम्रै कभरेज पाएको थियो । । म जन्मिएको ठाउँ भैरहवा नजिकैको लुम्बिनीमा जन्मिएका र हामी नेपालीहरु विश्वको जुनसुकै देशमा पुग्दा पनि बुध्द जन्मिएको देशको भनेर चिनाउदां गर्व महशुस गर्ने बुध्दको के चित्त नबुझेर तालिबानहरु बामियानका ऐतिहासिक बुधद मूर्तिहरु नष्ट गरे भनेर तालिबानीहरुप्रति एक खाले “चित्त दुखाइ“ त छँदै थियो नै अनि सेप्टेम्बर ११ को आक्रमणपछि सबै कुरा छर्लङ्ग हुँदै गयो।

सेप्टेम्बर ११ को आक्रमण लगत्तै अमेरिकाले आक्रमणकारी संगठन “अल काइदा“, आक्रमणको मुख्य योजनाकार ओसामा बिन लादेन र अल काइदालाई  अफगानिस्तानमा सुरक्षित आश्रय स्थल प्रदान गरेका “तालिबानी शासक“ हरु लक्षित युध्द छेड्यो। तर वास्तविकता के हो भने अमेरिकामा २० बर्ष अगाडि आजका दिन भएको आक्रमण र तालिबान बिच कुनै साईनो थिएन। अमेरिकामा सेप्टेम्बर ११ मा भएको आक्रमणका बारेमा तालिबानहरुले हामी सबैले जस्तै समाचारहरु मार्फत मात्र थाहा पाएका थिए। सेप्टेम्बर ११ को बदला लिन भनेर विश्व समुदायलाई विश्वाश दिलाएर तत्कालिन अमेरिकी राष्ट्रपती जर्ज डब्लु बुशले आक्रमणको एक महिना पनि नबित्दै अफगानिस्तान माथि आक्रमण गरी तालिबानी शासकहरुलाई अपदस्थ गरे। अमेरिकाले सेप्टेम्बर ११ आक्रमणको मुख्य रणनीतिकार र कुनै समय तत्कालिन अमेरिकी राष्ट्रपती बुश परिवारको  व्यापारिक साझेदार ओसामा बिन लादेन र लादेनले नेतृत्व गरिरहेको अल काइदालाई पूर्ण रुपमा निष्कृय र बिघटन गर्ने र लादेन लगायत अल काइदाका सबै “टाउके“ हरुलाई अन्तरराष्ट्रिय कानुनको कठघरामा उभ्याउने लक्ष्य सहित शुरु गरेको “ अपरेसन फ्रिडम“ नाम दिइएको अफगान  युध्द गत महिना अमेरिकाको अस्तव्यस्त बहिर्गमन  र अराजकता सँगै बिसर्जन भएको छ।

इश्वी सातौं शताब्दीमा ईस्लाम धर्मको उदय हुनु पुर्व बौध्द धर्म र परम्पराको गहिरो प्रभाव रहेको  अफगानिस्तानमा  तालिबान सत्ताले नष्ट गरेको “बामियानका बुध्द मुर्तिहरु“  प्राचिन युगमा बौध्द दर्शनहरु र  बौध्द परम्पराको मध्य एशियासम्म फैलिएको प्रभावको साँस्कृतिक प्रतीक र अमुल्य विश्व सम्पदा थिए।  पूर्वीय दर्शन र सभ्यताका त्यति महत्वपूर्ण धरोहर बामियानका बुध्द मूर्तिहरु भत्काउँदा तालिबानहरुको  त्यो कदमको त्यस बेला चौतर्फी भ्रत्सना र आलोचना भएको थियो।

धार्मिक कट्टरपन्थ र मुलत: ईस्लाम मान्यता  अनुसारको चरम अनुदारवादी धारको “शरिया कानुन“ मा विश्वास राख्ने तालिबानहरुले महिलाहरुको शिक्षाको अधिकार  र स्वतन्त्रता माथि अंकुश लगाउदैं आएका छन। केही बर्ष अगाडि महिलाहरुको शिक्षाका लागि पैरवी गर्दै आएकी पाकिस्तानकी मलाला भनेर विश्वभर ख्याति कमाएकी मलाला युसुफजाईले  तालिवान कै गोली प्रहारको आक्रमणमा परी झन्डै ज्यान गुमाएकी थिइन्। तालिबानहरुको यो ज्यादती बिरुध्द र महिला शिक्षाका लागि अभियान थालेकी मलाला सन् २०१४ मा प्रतिष्ठित नोबेल शान्ति पुरस्कारबाट बिभुषित भइन्।

बिज्ञान र प्रविधीको आजको युगमा मध्ययुगीन धर्मान्धता र कट्टरपन्थ र महिलाहरुलाई शिक्षाबाट बंचित गर्ने जस्तो घोर अमानवीय र क्रुर कानुनहरु निर्माण गर्ने तालिवानी शैली आफैमा ढुंगेयुग उन्मुख त छँदैछ तर पनि सेप्टेम्बर ११ को निहुंमा अफगानिस्तान भित्रिएको अमेरिका  किन भियतनाममा जसरी रित्तो हात बाहिरियो त? अब फेरि एक पटक एउटा व्यक्तिगत सन्दर्भ कोट्याउन चाहन्छु।

अमेरिकामा उत्तेजक  राजनीतिक बृत्तचित्तहरु निर्माण गरेर ख्याती कमाएका एकजना मलाई मन पर्ने बृत्तचित्त निर्देशक छन माइकल मुर। हुन त  माइकल मुर मन पराउने उनका प्रशंसकहरु जति छन् उनलाई मन नपराउने र अझै भनौं देखी नसहने पनि उत्तिक्कै छन् भनिन्छ । सेप्टेम्बर ११ र अमेरिकाले “आतंकवादका बिरुध्दको युध्द“ भनेर छेडेको अभियान र हुँदै नभएको “आम नरसंहारको हाथियार“ को त्रास विश्व सामु देखाएर सुरु गरेको निष्कर्षहिन इराक युध्दको धङ्धङीका बीच माइकल मुरले सन् २००४ मा एउटा बृत्तचित्र निर्माण गरे “फरेन्हाइट ९११“। बृत्तचित्र बिधामा हलिउडको प्रशिध्द “अस्कर अवार्ड“ विजेता मुरका राजनीतिक बृत्तचित्रका कथावस्तुहरुले  पश्चिमी मुलधारका संचार माध्यमहरु भन्दा फरक दृष्टिकोणहरु पस्किरहेका हुन्छन् । मेरा लागि पनि “फरेनहाइट ९११” ले विश्व परिवेशका बारेमा त्यस्तै आँखा खोल्ने काम गर्‍यो र मुरका बृत्तचित्रहरुमा देखाइए जस्तै युद्धका व्यर्थ प्रयासहरु प्रष्ट हुँदै गए र  कालान्तारमा  सत्यहरु पनि सतहमा आउन थाले।

सेप्टेम्बर ११ को आडमा इराकमा हुँदै नभएको “आम नरसंहारको अस्त्र“ र अफगानिस्तानमा “आधुनिक अफगानिस्तानको निर्माण“ का नाममा दुई दशक सम्म गरिएको बिध्वंश अब मानव ईतिहासको एउटा बियोगपूर्ण कालखण्डका रुपमा दर्ज हुँदैछन। अमेरिकामा २० बर्ष अगाडि निहत्था नागरिकहरु माथि अल काइदाको योजनामा गरिएको आक्रमण आतंकवाद थियो तर त्यो कालो दिन पछिका बर्षहरुमा अमेरिकाको नेतृत्वमा काल्पनिक “प्रोपोगान्डा“ हरु तयार गरेर रचिएका युध्दहरु आतंकवाद थिए कि थिएनन्, त्यो ईतिहासले मुल्यांकन गर्छ नै । २००१ सेप्टेम्बर ११ मा वाशिङ्टनका मेरा अनुभवहरु मसंग बाचुन्जेल रहने नै छन् तर हिंसा र हतियारका आडमा संसार जित्न सकिन्छ भन्ने मान्यता भने  कहिले सम्म रहन्छ त्यो ईतिहासकै गर्भमै छोड्न चाहन्छु सेप्टेम्बर ११ को त्यो दिन सम्झिरहँदा यतिबेला।

केही बर्ष अगाडि कतै पढेको एउटा कुरा सम्झन्छु, सत्य कालो र सेतो हुँदैन तर खैरो हुन्छ भनेर।  मान्छे जस्तै सबै बिचारधारा र  दृष्टिकोणहरु पनि सेतो र कालो भन्ने हुँदैन, मान्छे भित्रको राम्रो पक्षलाई एकैछिन सेतो मानिलिंउ र नराम्रो पक्षलाई कालो भनौं र त्यही सद्गुण र दुर्गुणले हामीलाई पूर्णता दिन्छ। फेरि पनि हामी भित्रको कुन पक्षको पृष्ठपोषण गर्ने जिम्मा भने हाम्रो हुन्छ  र मान्छे भएर हामीले प्राप्त गरेको स्वतन्त्र चेतनशीलता यही नै हो।   । शक्तिको आडमा कुनै पनि स्वतन्त्र र सार्वभौम मुलुक माथि आफ्नो हैकम जमाउने र हस्तक्षेप गर्ने र आजको बैज्ञानिक युगमा पनि धर्मान्धता र अनुदारवादी समाजको परिकल्पना गर्ने दुवै अतिवादहरु मानव सभ्यतालाई पछाडि धेकेल्ने चेष्टाहरु हुन् भन्ने कुरामा म प्रष्ट छु र मैले भन्न खोजेको कालो, सेतो र खैरोको चित्रण पनि त्यही हो।  ।   मैले यो लेखिंरहदा तालिबानको सत्ता दुई दशक पछि आफ्नो सरकारलाई पूर्णता दिने क्रममा छ भने अमेरिका अफगानिस्तानमा आफ्नो असफलताको मुल्यांकन गर्ने क्रममा छ।  अफगानिस्तानमा अमेरिकाले नराम्रो पराजय भोगेको कुरा सत्य हो तर तालिबानले पनि जितिसकेको छैन र त्यतिन्जेलसम्म जित्ने छैन जबसम्म तालिबानले “शरिया कानुन“ का नाममा अफगानी समाजलाई अँध्यारोमा राख्दै अल काइदा जस्ता आतंकवादी संगठनहरुका निम्ती सुरक्षित आश्रय स्थल रहिरहने छ। आशा गरौं, अब अफगानिस्तान पनि सकारात्मक दिशा तर्फ अगाडि बढ्ने छ र पढ्न पाउनु पर्छ भन्दा मलालाहरुले आतंकवादी गोलीको शिकार हुनु पर्ने छैन अझ सबैभन्दा महत्वपूर्ण कुरा सेप्टेम्बर ११ का नाममा अथवा भु–राजनीतिको शक्ति संघर्षका कारण कुनै पनि तेश्रो मुलुक युध्दको चपेटामा फस्ने छैनन् र अनाहकमा कसैले पनि ज्यान गुमाउने छैन ।

लेखक परिचयः नेपालको भैरहवामा जन्मेका वासु गौतम लामो समय अमेरिकामा अध्ययन तथा अध्ययनपछि पनि वसेर नेपाल फर्किएका हुन् । नेपालको ७२ जिल्ला र विश्वका ३४ मुलुक घुमिसकेका गौतमले “लुम्विनी वर्ल्ड पिस फोरम” स्थापना गरे र ३० देशमा आफ्ना प्रतिनिधि मार्फत कार्यक्रम सञ्चालन गर्दै आएका छन् । अमेरिकामा सेपटेम्वर ११ को त्रासदीको वेला उनी वाशिंटन डिसीमा थिए ।

1 thought on “व्हाइट हाउसबाट ९०० मिटर पर सेप्टेम्बर ११ भोग्दा

  1. राम्रो कभरेज । ससारको आँखा खोल्ने । हतियार ले सदैव युद्ध जितिदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *