विश्वपरिक्रमा डेस्क
२८ अगस्त, वाशिंटन डिसी
ईडा नाम दिइएको सामुद्रिक आँधिको भविष्यवाणीले अमेरिकाको दक्षिणी राज्य लुजियाना त्रासमा परेको छ । मौसम भविष्यवाणी गर्नेहरुले १३० माइल प्रतिघण्टा अर्थात् २०९ किलोमिटर प्रतिघण्टाको तोडले आउने सो आँधी निकै शक्तिशाली र खतरनाक हुनसक्ने वताएका छन् ।
यो सम्भावित विनाशकारी आँधीवाट वच्न न्यूओर्लियन्स विमानस्थलका आइतवारका सवै उडानहरु रद्द गरिएका छन् ।
मौसम भविष्यवाणीका अनुसार यो आँधी आइतवार तटिय क्षेत्रमा आइपुग्नेछ र सोमवार न्यूओर्लियन्स, मंगलवार न्यासभील हुँदै बुधवार वेष्ट भर्जिनिया पुग्नेछ र त्यतिन्जेल यो कमजोर भैसक्नेछ ।
यो समुद्री आँधीको त्रासले धेरै मानिसहरु न्यूओर्लियनवाट धमाधम वाहिर जाने क्रम बढेको छ र सडक पूरै जाम भएको वताइएको छ ।
न्यूओर्लियन्सको पश्चिममा रहेको सेण्ट चार्ल्स पारिसका करिव ५० हजार मानिसलाई अनिवार्य रुपमा घर छाड्न भनिएको छ साँझ ५ वजेसम्मको समय सीमा दिइएको छ ।
न्यूओर्लियन्सकी मेयर लातोया क्यान्ट्रेलले शनिवार आफसे आफ घर छाड्न चेतावनी दिएकी छिन् । उनले भनेकी छिन्, ” घर छाड्ने मन बनाएको भए तुरुन्तै छाडिहाल । ”
लुजियानाका गभर्नर जोन वेल एडवार्डले भने, ” यो सन् १८५० पछिको शक्तिशाली आँधी हुनेछ ।”
त्यहाँ ४ हजार सिपाही र सेना पठाइएका छन् र ५ हजार अरु सेना तयारी अवस्थामा राखिएको छ ।
मिसिसिपी गभर्नरले पनि राज्यमा संकटकालको घोषणा गरिसकेका छन् ।
यो आँधीका कारण ८ देखि १६ ईन्च पानी पर्ने सम्भावना रहेको छ ।
स्मरणीय छ, १६ वर्षअघि लुजियाना र मिसिसिपी राज्यका विभिन्न तटीय शहरहरुलाई क्याट्रिना नामक समुद्री आँधीले तहसनहस पारेको थियो । विशेषगरी न्यूओर्लियन्स ध्वस्त भएको थियो र पुन निर्माणका लागि निकै वर्ष लागेको थियो । त्यसले करिव १८०० मानिसको ज्यान लिएको थियो ।
क्याट्रिना आँधीको १६ औं वार्षिक दिन पनि संयोगवस भपलि आइतवार नै परेको छ ।