शुषमा चित्रकार, ललितपुर
आमाको स्वास्थ्य अचानक बिग्रिएपछि उसले बिहानै अस्पताल कुदायो । इमर्जेन्सी वार्डभित्र खचाखच भीड थियो । अस्पताल बाहिर टाँगिएका पालभित्र समेत ठाउँ खाली थिएन । डाक्टर, नर्स, स्वयंसेवकहरु सबै ब्यस्त देखिन्थे ।
उसले आत्तिएर नर्सलाई पुकार्यो, ” सिस्टर, मेरी आमालाई निकै गाह्रो भो ।”
हातमा इन्जेक्शन लिएकी नर्ससँग, सुनेर जवाफ दिने फुर्सद थिएन । हताश उसले कोठाभित्र आँखा डुलायो । औषधी र बिभिन्न गन्धले भरिएको कोठाभित्रका बेडमा, मलिन अनुहारहरु थिए । तिनका कुरुवाहरु कोही चिन्ताले टाउकोमा हात लगाइ बसेका, कोही बिरामीलाई पंखा हम्कँदै, कोही भने मोबाइलमा फोन गर्दै व्याकुलतापूर्वक ओहोरदोहर गरिरहेका थिए । एउटा बेडछेउ पाको डाक्टर, सहायकहरुसँग उभिएका थिए ।
आमा बसेको ह्विलचेयर छोडेर, ऊ त्यहीँ हात जोड्न पुग्यो, “डाक्टर साब … … ।”
अवरुद्ध गलामा केही बोल्न सकेन उसले । एकजना सहायक अगाडि बढे, “के भयो ? ”
मुटुको बिरामी आमालाई, सास फेर्न पनि गाह्रो भैरहेको थियो । प्रेस्क्रिप्शन र बिरामीको अवस्था हेरेपछि डाक्टरले भने, “देख्नु भएकै छ, कुनै बेड खाली छैनन् । कसरी भर्ना लिने ? अन्तै अस्पताल लानु होला ।”
“यस्तो अवस्थामा कहाँ लानु ? कहीँ कोही चिनेजानेको पनि छैन । बिन्ती डाक्टर साब, प्रार्थना छ ।”
“भनेर के गर्नु, बेड खाली पनि त हुनु पर्यो नि ।”
जवाफ सुनेर उसले रुवाइ थाम्न सकेन । छेउमै उभिएको पालेले उसलाई सम्झायो, “बिरामीहरु भएको ठाउँमा यसरी हल्ला गर्नु हुँदैन ।”
हारगुहार र बिशेष अनुनयपछि बेड खाली भए भर्ना लिने आश्वासन बल्लतल्ल पायो उसले । आमालाई दवाइ खुवाएर कोठा बाहिरको ह्विलचेयर छेउ अडेस लागेको ऊ रातभरी निदाउन सकेन । अनिँदो आँखाले आमाको निमित्त प्रार्थना गरिरह्यो। नर्सहरु रातभरि कोठा, भित्रबाहिर गरिरहेका थिए । तनावग्रस्त देखिने उनीहरुसँग उसले केही सोध्ने आँट गर्न सकेन ।
झिसमिसेमा वार्डभित्रबाट निस्कँदै गरेको पालेलाई उसले डराउँदै सोध्यो, “दाई बेड खाली भएको छैन ? ”
एकछिनसम्म उसको अनुहार हेरेपछि पालेले जवाफ फर्कायो, “तपाईंको प्रार्थना, माथि पुगे जस्तो छ ।”
उसको जवाफ लगत्तै वार्डभित्रबाट एक्कासि कुरुवाका रुवावासी सुनियो ।
कथाकार परिचय: शुषमा चित्रकार हाइकु, वालकथाका साथै लघुकथामा पनि परिचित नाम हो । उनका लघुकथा “आजका लघुकथा” लघुकथा संकलनमा संकलित छन् भने “घाम” लघुकथा सङ्ग्रह समेत प्रकाशित छ ।