बुहारीको मन

लघुकथा

तारा केसी

 

बुढा बितेपछि घर भाडा र पेन्सनले जीवन धान्दै आएकी चरिमायालाई पाँच बर्ष पछि छोरा भेट्न आयो ।

उसले भन्यो, “आमा ! अब कति एक्लै बस्नुहुन्छ ? दु:ख बिराम पर्दा हेर्ने मान्छे कोहि छैन । यहाँको घर पुरै भाडामा लगाएर उतै बस्नेगरि जाऊँ । बुहारीले लिन पठाएकी । ”

छोराको कुरा सुनेर चरिमाया सोच मंग्न भइन्, “कहिले राम्रो  नगर्नै बुहारीको आज कसरी मन पग्लियो ?”

“छिटो गर्नुस् आमा ! मैले सबै ब्यवस्था मिलाई सकेको छु। ”

छोरोले ढिपी गर्न थाल्यो । घर पुरै भाडामा लगाएर उनी छोराको पछि लागिन् ।

त्यसपछि,  घरको भात भान्सा सरसफाई, बत्ती  पानीको विल तिर्ने सब काम सासुलाई जिम्मा लगाईन् बुहारीले । एकदिन बुहारी फोनमा बोल्दै गरेको उनले सुनिन् । बुहारी भन्दै थिई, ” हजुरले दिनु भाको सल्लाह  ज्वाइईंले मानिस्यो नी आमा ! अहिले त घरमा काम गर्ने मान्छे पनि राख्नु परेको छैन । उल्टै उताबाट उल्टो घरभाडा र पेन्सन पनि आउँछ । ”

 

कथाकार परिचयः तारा के.सी काभ्रे पनौतीमा जन्मेकी हुन् । उनको पहिलो रचना कविता “बिस्कुन” जनमत मासिकमा २०४९ सालमा प्रकाशित भएको थियो । उनको कलम कविता, बालसाहित्य , कथा, लघुकथा, मुक्तक, नाटक, संस्मरणमा चल्ने गरेको छ । उनका तारापुञ्ज (कविता संङ्ग्रह) २०६७, फूलबारी (बालकविता सङ्ग्रह)२०७० ,  फिन्को र टोरी  (बालकथा संङ्ग्रह) २०७४, प्रिय छोरी (कविता संङ्ग्रह) २०७५ , गुरूको छनौट (बालकथा संङ्ग्रह) – २०७९ प्रकाशित छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *