विश्वपरिक्रमा डेस्क
१९ अगस्त, वाशिंटन डिसी
कोरोना विरुध्दको तेश्रो खोप अर्थात् बुस्टर खोप सेप्टम्बर २० बाट सबै अमेरिकीलाई उपलब्ध गराइने सिडिसीले जनाएको छ । पहिलो खोप लगाएको ८ महिनापछि दोश्रो खोप उपलब्ध हुन लागेको हो ।
यस सम्वन्धमा ह्वाइट हाउसले वुधवार भनेको छ, ” कोभिड-१९ का खोप सुरक्षित, निशुल्क र अत्यन्त प्रभावकारी छन् । तैपनि समयको क्रममा यसको सुरक्षाको प्रभावकारिता घट्छ । आज सिडिसीले परिवारहरुको सुरक्षाको लागि बुस्टर खोपको नयाँ योजना घोषणा गर्दैछ जसले कोभिड-१९ लाई परास्त गर्नेछ ।”
फाइजर र मोडर्नाको दुवै खोप लगाएकाहरुका लागि यो भ्याक्सिन उपलब्ध हुनेछ । जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुको विस्तृत आँकडा आइनसकेकोले सो का लागि भने कुनै निर्णय भएको छैन ।
न्यूयोर्कमा गरिएको एक अध्ययनका अनुसार मे ३ देखि जुलाई २५ विच पूर्ण खोप लगाएकाहरुमा खोपको प्रभावकारिता ९२ प्रतिशतवाट ८० प्रतिशतमा झरेको थियो ।
त्यस्तै मायो क्लिनिकले ८० हजार मानिसमा गरेको अध्ययनमा फाइजर खोपको प्रभावकारिता ७६ प्रतिशतवाट ४२ प्रतिशतमा झरेको थियो भने मोडर्नाको खोपको प्रभावकारिता ८६ प्रतिशतवाट ७६ प्रतिशतमा झरेको थियो ।
ह्वाइट हाउस कोरोना भाइरस रेस्पोन्स कोअर्डिनेटर जेफ सेण्टसले बुधवारको ब्रफिङमा कोभिड-१९ को वारेमा जानकारी गराउँदै भने, ” यो वुस्टर खोप लिन पहिलो खोप लिन जत्तिकै सजिलो हुनेछ र हामीसँग सबै अमेरिकीहरुलाई पर्याप्त खोप उपलब्ध छ । ”
स्मरणीय छ, यसअघि रोग प्रतिरोधक शक्ति कम भएका दिर्घ रोगीलाई मात्र आवश्यक पर्ने वताईंदै आएको थियो ।