विश्वपरिक्रमा डेस्क
१५ अगस्त वाशिंटन डिसी
काठमाडौंबाट सञ्चालित अनलाइन मिडिया “वाह्रखरी डिजिटल न्यूज” ले विसं २०७६ देखि गर्दै आएको कथा प्रतियोगिताको तेश्रो चरण २०७८ को घोषणा गरेको छ ।
कथा विधाको सर्वाधिक राशीको यो पुरस्कार प्रथम हुनेलाई रु एक लाख, दोश्रो हुनेलाई साठी हजार तथा तेश्रो हुनेलाई चालिस हजारको नगद पुरस्कार तथा प्रमाणपत्र दिइन्छ । यसमा नेपाली भाडामा लेख्ने संसारभरिका कथाकारले भाग लिन पाउँछन् ।
यस प्रतियोगिताको लागि साहित्यकार नारायण ढकाल प्रमुख निर्णायक रहेका छन् भने निर्णायक मण्डलमा साहित्यकारहरु विवस पोखरेल तथा कुमारी लामा रहेका छन् ।
बाह्रखरीको प्रेस विज्ञप्तिका अनुसार “कथा प्रतियोगिताको सर्त उल्लङ्घन नहुने गरी पठाइएका सम्पूर्ण कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० वटा कथा छनोट गर्नेछ । ती ५० वटा कथा निर्णायक समूहलाई उपलब्ध गराइनेछ । आन्तरिक निर्णायक मण्डलले चुनेका ५० कथामध्येबाट निर्णायक समूहले ‘उत्कृष्ट कथा २०७८’ का लागि २५ वटा कथा छान्नेछन् र तिनैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुनेछ ।
स्मरणीय छ पहिलो वर्ष तेश्रो भएको कथा पूर्व प्रकाशित भएको भन्दै विवादमा आएको थियो भने दोश्रो वर्ष प्रथम पुरस्कृत कथा विवादित भएको थियो ।
पहिलो वर्ष विना थिङ तामाङ प्रथम भएकी थिइन् भने दोश्रो वर्ष मुना चौधरी प्रथम भएकी थिइन् ।
पहिलो वर्षको पुरस्कृत ३ र उत्कृष्ट २५ भित्रका वाँकी २२ लाई पुस्तकाकारमा प्रकाशित गरिएको थियो भने हिन्दीमा समेत अनुवाद भै प्रकाशित गरिएको थियो । तर विसं २०७७ मा भने डिजिटल माध्यमले मात्र प्रकाशित गरिएको थियो । यस वर्ष मुद्रित र डिजिटल दुवै रुपमा प्रकाशित गर्ने जनाइएको छ ।
(फोटो साभार: वाह्रखरी डटकम)