विश्वपरिक्रमा डेस्क
१४ अगस्त, वाशिंटन डिसी
पहिलो प्रकाशित कृतिका लागि स्थापित “साहित्यपोष्ट उत्तम कृति पुरस्कार” पहिलोपल्ट “नेपाल विद्या” नामक कृतिका लागि स्रष्टा केदार वाशिष्टलाई साउन २९ गते थापा गाउँस्थित कुञ्ज थिएटरमा आयोजित समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङका हातबाट प्रदान गरिएको छ । साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाको सभापितत्वमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङ प्रमुख अतिथि रहनुभएको थियो ।
तीन दशक लामो पत्रकारिता तथा अनुसन्धानको अनुभव भए पनि वाशिष्ठको ‘नेपाल विद्या’ पहिलो कृति हो । तीन भागमा समेटिएको उक्त पुस्तकले नेपालका तीन फरक-फरक क्षेत्रमा अनुसन्धान गरेको छ, जसलाई समीक्षकहरूले वर्षकै उपलब्धिका रूपमा लिएका छन् ।

कार्यक्रममा निर्णायक मण्डलका तर्फबाट गोरखापत्रका पूर्व प्रधानसम्पादक तथा लघुकथा समाज, नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ विशिष्ठ अतिथिका रुपमा रहनु भएको थियो ।
साहित्यपोस्ट उत्तम कृति पुरस्कारका लागि २७ पुस्तकहरू प्राप्त भएका थिए । वर्षभरि छापिएका ती पुस्तकहरूलाई साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार एवं शुभेच्छुकहरू गरेर १५ जना निर्णायकहरूले पहिलो नौ पुस्तक छानेका थिए ।
छानिएका पुस्तकहरूमा सुरेश बडालको कथासङ्ग्रह “रहर”, लक्ष्मण अधिकारीको कथासङ्ग्रह “मर्फिन”, प्रेमबहादुर बोहोराका संस्मरणात्मक कृति “कोग्ले”, पोस्तक श्रेष्ठको कथासङ्ग्रह “मुन्नी”, केदार वाशिष्ठको नेपाली भाषा, लिपि, संस्कृति र संस्कारसँग सम्बन्धित अनुसन्धानात्मक कृति “नेपाल विद्या”, लता केसीको लघुकथासङ्ग्रह ‘चोटदेखि मृत्युसम्म’, प्रशान्त शर्माको उपन्यास ‘रूखहरूको मृत्यु’, नमिता दवाडीको कवितासङ्ग्रह “जीवन नदीको किनारै किनार” र सरला गौतमको उपन्यास ‘डुमेरा’ रहेका थिए ।
साहित्यपोस्ट उत्तम कृति पुरस्कारको उत्तमप्रसाद पन्तको आर्थिक सौजन्यतामा स।थापना गरिएको हो । साहित्यकार पारिजातका विषयमा एमएको डेजर्टेसन लेख्नु भएका पन्त पारिजातको निकट मध्येका एक हुनुहुन्थ्यो । उहाँले अनुसन्धानमूलक “योगमाया धाम” नामक पुस्तक लेख्नुभएको छ । उक्त पुस्तक उहाँले राणाकालमा जलसमाधि लिएकी क्रान्तिकारी योगी योगमायाको कर्म स्थानमै बसेर लेख्नुभएको थियो ।
