राजन सिलवाल
उदयले मेरो कपालतिर हेर्दै भन्यो, “हाम्रो अङ्कल कहिल्यै बुढो नभएको किन होला ?”
“बुढो भइसकेँ त मूला !” मैले भनेँ ।
उसले मेरो कपालतिर हेर्दै भन्यो, “बिस वर्ष अगाडि जस्तो हुनुहुन्थ्यो, अहिले पनि उस्तै हुनुहुन्छ तपाईँ ।“
मैले भनेँ, “कपालले मात्र तरुनो भइन्छ र जाबा !”
“अनुहारमा पनि खास फरक छैन । सबैले त्यही भन्छन् ।” उसले सिद्ध गर्न खोज्यो ।
मैले जागिरबाट निवृत्त हुन बाँकी रहेका पाँचओटा वर्षहरु सम्झिएँ ।
खाली गाडी कुर्दै थियौँ साँगामा । ऊ सेनामा पेन्सन पकाएर घर बसको पनि सात आठ वर्ष भइसकेको हुँदो हो । लेबनानतिर शान्ति सेना जाँदा मृतसागरमा नुहाएर हो वा अरु कुनै कारणले, उसको एकाउन्न प्रतिशत कपालमा हिउँ परेको देखिन्थ्यो ।
“अङ्कलले कपालमा कालो लगाएको त छैन नि ?” उसले यति सोधेपछि मलाई मनमनै खुसी पनि लाग्यो ।
“छैन नि अहिलेसम्म त । म त्यस्तो कृत्रिम तरुनो हुन चाहन्नँ बाबु !”
“हाइट सानो हुने मान्छे कहिले बुढो नदेखिने रहेछ ।” उसले त्यसो भनेपछि मलाई होचो भएकोमा नि फाइदा रहेछ भन्ने लाग्यो ।
तीन चारओटा गाडी भरी भरी आएपछि अझै कुर्नु बुध्दिमानी लागेन ।
उसले भन्यो, “अङ्कल ! अब अफिस टाइम भयो । सिट त पाइन्न होला । चढौँ, जगातीतिर खाली हुन नि सक्छ ।”
चढियो । म अघिअघि । ऊ पछिपछि ।
खलासीले मलाई भन्यो, “दाइ ! पछाडि जानुस् त तपाईँ । भित्र, अझै भित्र जानुस् ।”
म सितिमिति खलासीहरुसँग विवाद गर्दिनँ । सर्न सक्नेजति सरेँ । भतिजो करिब करिब मसँगै उभियो ।
ज्येष्ठ नागरिक सिटमा गजधम्म बसेका दुई युवतीमध्ये एउटीले उदयलाई भनी, “अङ्कल, आउनुस् । यहाँ बस्नुस् ।“ उदयले मतिर हेर्दै भन्यो, “हजुर बस्नोस् न ।”
सिट छाड्ने युवतीले भनी, “उहाँ दाइलाई हो र, मैले त हजुरलाई पो बुढो मानिस भनेर ।”
उदयलाई मैले भनेँ, “म दाइ, तँ अङ्कल । बस् बस् ।”
000
कथाकार परिचयः राजन सिलवाल कविता, कथा, लघुकथा, निबन्ध र समालोचना विधामा कलम चलाउँछन् । उनको “मुक्तक सङ्ग्रह “दुई हजार सोह्र पाइला“ (२०७५), लघुकथा सङ्ग्रह “बाको कोट”(२०७९) प्रकाशित छन् । उनको सिर्जन भूमि ललितपुर रहेको छ ।