१७ असार २०८३, काठमाडौँ।
नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीको साधारण सभाले विभिन्न विधाका पुरस्कारका निम्ति प्रतिभाहरूको चयन गरेको छ ।
पचास हजार राशीको नूर-गङ्गा राष्ट्रिय स्थापित लोकगीत गायन प्रतिभा पुरस्कारबाट क्षेत्रबहादुर गुरुङ, स्याङ्जा, र पूर्ण नेपाली, कास्की पुरस्कृत हुनेछन् ।
एक लाख रुपैयाँ राशिको नूर-गङ्गा राष्ट्रिय स्थापित बालसाहित्य प्रतिभा पुरस्कारबाट मुक्तिनाथ शर्मा नेउपाने, लमजुङ, र देवीप्रसाद वनबासी, स्याङ्जा संयुक्त रूपमा पुरस्कृत हुनेछन् ।
पचास हजार राशिको नूर-गङ्गा क्षेत्रीय स्थापित साहित्य प्रतिभा पुरस्कारबाट वनमाली निराकार (रूपन्देही) र पचास हजार राशिकै नूर-गङ्गा क्षेत्रीय स्थापित लोकगीत गायन प्रतिभा पुरस्कारबाट पद्मध्वज केसी (नवलपरासी) लाई पुरस्कृत गरिनेछ ।
गुठीले नूर-गङ्गा राष्ट्रिय नवप्रतिभा साहित्य पुरस्कारबाट आँचल श्रेष्ठ (ललितपुर) र नूर-गङ्गा राष्ट्रिय नवप्रतिभा लोकगीत गायन पुरस्कारबाट अर्जुन सापकोटा (नवलपुर) लाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यी दुवै पुरस्कारको राशि तीस हजार रुपैयाँ रहेको छ ।
गुठी प्रबन्ध समितिका अध्यक्ष प्रा.डा. गोविन्द नेपालको अध्यक्षतामा बसेको साधारणसभाले विभिन्न उपसमिति र गुठी प्रबन्ध समितिको सिफारिसलाई अनुमोदन गरी पुरस्कारका निम्ति प्रतिभाहरूको चयन गरिएको प्रबन्ध समिति सदस्य यादव भट्टराईले बताए ।
यी पुरस्कारहरू आगामी श्रावण महिनामा एक समारोहको आयोजना गरी समर्पण गरिने छन् । साधारणसभामा गुठीका संरक्षक अमिरप्रताप ज.ब.रा., अध्यक्ष प्रा.डा. गोविन्द नेपाल, पूर्व अध्यक्ष प्रा.डा. चूडामणि बन्धु, उपाध्यक्ष प्रा.डा. भवेश्वर पंगेनी, सदस्यसचिव यज्ञप्रसाद शर्मा, सल्लाहकार रामबाबु नेपाल, सदस्यहरू प्रा.डा. ध्रुव घिमिरे, यादव भट्टराई र सन्ध्या पहाडीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
