१५८औं मोती जयन्ती र मोती पुरस्कार वितरण सम्पन्न

मुख्य समाचार

२८ भदौ २०८०, काठमाडौं

 

युवक कवि मोतीराम भट्टको १५८औं  मोतीजयन्ती, मोती पुरस्कार वितरण, स्व.कवि लेखकहरुको सामुहिक जयन्ती तथा समस्यापूर्ति कवि सम्मेलन एक समारोहका वीच नेपाली शिक्षा परिषद्  लेखनाथ साहित्य सदनमा सम्पन्न भयो ।

कार्यक्रमको शुरुमा परिषदका कोषाध्यक्ष शङ्करप्रसाद पाण्डेले स्वागत भाषण गरेका थिए भने सदस्य सचिव लक्ष्मण थापाले कार्यक्रममाथि प्रकाश पारेका थिए । साथै मोतीराम भट्टको सम्मानस्वरूप रूपक अलङ्कारले एउटा गजल  “म रुन्थें जीर्ण पालीमा कसैको सम्झना गर्दै- तिमी हाँस्थ्यौ अटालीमा कसैको सम्झना गर्दै..”  वाचन गरेका थिए ।

कार्यक्रममा गत सालको मोती जयन्ती देखि यता १ वर्षभरिमा दिवंगत हुनुभएका २१ जना स्रष्टाहरूको परिचय खोलाघरे साहिंलाले प्रस्तुत गरेका थिए ।  युवावर्ष मोती पुरस्कार पाउने प्रमोद सारङ्गको परिचय- डा विष्णु भण्डारीले प्रस्तुत गरेका थिए  ।

कार्यक्रमका प्रमुख अतिथि  मुकुन्द शर्मा चालिसेले प्रमोद सारङ्गलाई नगद रु ४० हजार पुरस्कार र सम्मानपत्र  प्रदान गरे । सो अवसरमा चन्द्रवदना घिमिरेलाई  समस्यापूर्तिमा निरन्तर २५ वर्षको सहभागीता वापत सम्मान अर्पण गरिएको थियो ।

समारोहलाई डा.माधवप्रसाद पोखरेल र पुरस्कृत साहित्यकार प्रमोद सारङ्गले सम्वोधन गरेका थिए ।

मोती जयन्तीमा निरन्तर गरिंदै आएको समस्यापूर्ति कवि सम्मेलनमा सर्वप्रथम समस्यादाता पुरुषोत्तम सिग्देलले कविता वाचन गरेपछि प्रा.शिवगोपाल रिसालको कविता  दिव्यचन्द्र आचार्यबाट वाचन गरिएको थियो । समस्या पूर्ति कवि सम्मेलनमा  अरु कविहरु रमेश खकुरेल, चन्द्रवदना घिमिरे ,मुकुन्द शर्मा चालिसे ,डा.बमबहादुर थापा, डा भूपहरि पौडेल लगायतले भाग लिएका थिए ।

प्रमुख अतिथि  मुकुन्द शर्मा चालिसेले मन्तव्यको क्रममा  समस्यापूर्ति कवि सम्मेलनको  परम्परालाई  निरन्तरता प्रदान गरेकोमा नेपाली शिक्षा परिषद्लाई धन्यवाद दिएका थिए ।

कार्यक्रमको अन्तमा सभाध्यक्ष  रमा शर्माले कार्यक्रमलाई सफल बनाउन विभिन्न भूमिका गरिदिनुहुने,जिम्मेवारी पूरा गरिदिनुहुने सबैलाई  हार्दिक धन्यवाद दिंदै कार्यक्रम  समापन भएको घोषणा गरेकी थिईन् ।

परिषदका सदस्य श्री  दिव्यचन्द्र आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *