सुलोचना मानन्धरको “एक जोर आँखा” सार्वजनिक

मुख्य समाचार

१३ पुस २०८२, काठमाडौं

कथाकार सुलोचना मानन्धरद्वारा लिखित ‘एक जोर आँखा’ सार्वजनिक भएको छ।
फरक ढङ्गमा आयोजित सो कार्यक्रममा कथाकार सुलोचना,उनकी दुई दिदीहरू पद्मा र सुर्दशना,कथाकार भागिरथी श्रेष्ठ तथा युवा पु्स्ताकी कवि उज्ज्वला महर्जनद्वारा पुस्तक सामूहिक रूपमा सार्वजनिक गरिएको थियो।
पुस्तक सार्वजनिक भएपछि कवि उज्ज्वला महर्जन तथा कथाकार सुलोचना बीच छोटो सम्बाद कार्यक्रम भएको थियो।
कवि उज्ज्वलाको जिज्ञासामा कथाकार सुलोचनाले’एक जोर आँखा’भूइँ मान्छेले देखेको तर अझै साकार हुन बाँकी रहेको मीठो सपना भएको बताइन्। सम्बादका क्रममा उनले जीवनमा भोगेका कुरालाई कल्पनामा मिसाएर लेखेको बताउँदै जुन समाजमा जन्मेर हुर्कियो त्यही समाजका कुराहरू साहित्यमा लेखेको प्रष्ट्याइन्।
नेपाल भाषामा रहेको’झ्यालखाना’कथासङ्ग्रहबाट केही कथाहरू नेपालीमा अनुवाद गरी यस सङ्ग्रहमा समावेश गरिएको स्वीकार्दै उनले अब यी कथाहरू अंग्रेजीमा पनि अनुवाद भएर आउने कुरा बताइन्।
कार्यक्रममा कथाकार भागिरथी श्रेष्ठले लेखक सुलोचनाको कृतित्व तथा व्यक्तित्वमाथि संक्षेपमा प्रकाश पारेकी थिइन्। कविता,कथा,नियात्रा,निबन्ध र गीतमा समेत सुलोचनाको कलम चलेको प्रसङ्ग उठाउँदै उनले नेपाल भाषामा समेत कृति लेखेर उनले दुबै भाषामा अब्बल रहेको बताइन्।
कथाकार सुलोचनाकी कान्छी छोरी आभाले छोटो मीठो मन्तव्य राख्दै अथक मेहनतबाट तयार भएको पुस्तकलाई आमाको जरुरत किताब भनेर बताइन्।आमाको प्रेरणाबाट आफूले पनि लेख्ने गरेको उनले बताएकी थिइन्।
कार्यक्रममा पुस्तक प्रकाशनमा सहयोग पुर्याउने व्यक्तित्वहरू कवि शार्दुल भट्टराई,अविनाश श्रेष्ठ,सुदर्शन श्रेष्ठ,वसन्त श्रेष्ठ,उज्ज्वला महर्जन,घिमिरे युवराज तथा पुस्तक प्रकाशक राजेश गजुरेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा भएको कार्यक्रमको सहजीकरण तथा सञ्चालन नाट्यकर्मी तथा थिएटरका निर्देशक घिमिरे युवराजले गरेका थिए।

०००

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)