पैयुँ र गोगनको सेपमा मुर्झाएको साल : सिमसारा 

पुस्तक समीक्षा

गोविन्द  पौडेल, काठमाडौं 

सिमसारा भन्ने मूल शब्द हुन्न । सिमसार  हो । सिमसारबाटै सिमसारा उत्पादित हुँदो  हो । सिमसारलाई   कोमलता दिन सिमसारा भनिएको होला । स्त्रीसुलभता हुन सक्ला । प्रतीक हुन सक्ला । शाब्दिक स्वतन्त्रताको  उपभोग  गरिएको  होला । मीठो  छ । उर्वरता, विविधता र सन्तुलनको पर्याय  हो   सिमसार  ।   रसिलो  हुनु  हो सिमसार । रङ्गीन हुनुपर्ने हो  सिमसार , कदाचित  यस्तो  त   छैन  पो  ।  बसन्त   बस्नेत  सिमसाराको   सन्देश  लिएर   आए   तर   घुर्मैलो  साँझको  धुवाँ जस्तो बिरसिलो । कस्तो  कस्तो ! तर लय, शैली, विन्यास  र बुनोटका उधुम प्रतिभासम्पन्न । परिपक्व र लालित्यपूर्ण । काव्यान्यास जस्तै लयालु ।  सर्लक्क । अलग्ग ।   मध्य पहाडकै लेकाली काया बोकेको साधारण तर विचित्र कथा हो सिमसार । मानसिक उल्झनमा पर्न खास विशिष्ट कारणहरू केही छैनन्। यद्यपि उदासी व्याप्त छ। तनाव व्याप्त छ। मनभित्र जलन छ मन उद्वेलित छ। अविरल बग्नुपर्ने जीवन, अटुट बग्नुपर्ने जीवन कुन्नि कहाँ, कता, कसरी जेलिएको छ  बाबै  ! बेरिएको छ । एकालापमा कथा बुनिएको छ। चिठीहरूमा बुनिएको छ। डायरीका पानापानामा कहानी छरिएका छन्। आँखाका कुनाकुना भिजेका छन् । व्यक्त गरि  नसक्नु नसक्नुका औडाहाहरू छन्। मन दुखेको छ ।   छाती चस्केको छ ।   पृष्ठभूमिमा केही द्वन्दकालीन अवशेषहरु छन्। लाचार राज्य सत्ता छ ।  खाली खुट्टेहरूको जीवन दुःखजिलो  चलिरहेकै छ र सबैभन्दा छोइने र देखिने चाहिँ एउटी स्त्रीको कट्मिरो कट्मिरो प्रेमको पूर्णताका निम्ति सम्पूर्ण सङ्घर्ष छ। यहाँ स्त्री कुनै बायोलोजिकल चिनारी होइन। आमाको कथा हो। पत्नीको  बेथा  हो ।

सिमसारा 

पत्नीको कथा हो सिमसारा। पृष्ठभूमि हो या अगाडि  देखिने   टड्कारो रङ्गभूमि !  सिमसारा त   संवतको एकालाप हो। माथि शीर्षकमा साल भनिएको वास्तवमा संवतलाई नै हो। आफ्नो आकार ,  उमेर र कल्पनाशीलताको परिधिले थामी नसक्नु एकालाप गरेर संवत् आफ्ना बाउआमाको कथा सुनाइरहन्छ।  कथा त ऊ आफ्नै पनि सुनाउँछ।  एउटी फुच्ची केटी छ। उसकै उमेरकी ।  इस्वी भन्ने नाम बताइएको छ।  इस्वी र सम्वतको नामको   अनौठो सामन्जस्यता  त   कथाको क्लाइमेक्समा विरक्तलाग्दो  दुखद द्वन्द्वमा परिणत हुन पुग्छ ।  इस्वी र सम्वतको पुनर्मिलन हुन नसकेको त्रासद यथार्थ देखेर हामीलाई हुनसम्म नरमाइलो लाग्छ।

सांस्कृतिक अन्तरघुलनशीलता 

सांस्कृतिक क्लस्टर अनुसार कुनै क्षेत्री परिवारको कथा हो सिमसार यद्यपि लिम्बु संस्कृतिका रुनका रुन्कीहरू बान्की पारेर कथानकका घुम्ती घुम्तीमा भेटिराखिन्छ। लिम्बु कस्मोलोजी अनुसार युमा भनेकी सृष्टिकी सर्वोच्च देवी हुन्  ।  सन्तुलन ,  सामन्जस्यता र वैश्विक धर्म थाम्न सक्ने भनिएकी युमा लिम्बु संस्कृतिमा आराध्य छिन्  ।फेदाङ्मा , साम्बा , येबा  र  येमाहरू मानिस र देवीदेवता बीच  पुलपुलेसाको काम गर्ने आध्यात्मिक लिडरहरू हुन्। मानव जीवन ,  प्रकृति र अध्यात्म बीचमा कहीँ  न कहीँ   सन्तुलन बिग्रिएको खण्डमा वास्तु दोष ,  मनोदोष अथवा पर्यादोष हुनसक्ने पो हो कि ?   गोरखनाथ पन्थको फेरीवाला जोगीको प्रसङ्ग उपन्यासकारले मसिनो गरी खनी खोस्री  गरेका छन् ।  जोगीले गर्नसक्ने भविष्यवाणी ,  पुरोहितले गर्न सक्ने भविष्यवाणी   अनि  कुनै खास जाति विशेषका पण्डितहरूले दिन सक्ने ओखतीमूलो  दुःख लगार्न सक्ने तगारो बनेर  कथानकभरि पटकपटक आइरहन्छन्  । सम्वतकी आमा सांस्कृतिक परिवेशमा एउटी साधारण नारी हुन्। सामाजिक सोपानका दृष्टिमा एउटी साधारण खालीखुट्टे महिला हुन्। तर उनको जीवनप्रतिको दृष्टि मात्र होइन   विश्व दृष्टिकोण  पनि  उत्पातै जब्बर छ  । कथाको सुरुसुरुमा उनी गलित छिन् । थकित छिन् ।  अपहेलित छिन् । बीचमा कतै किंकर्तव्यविमूढ  बनेकी छिन् । यद्यपि उनको उदारता र न्यायप्रियता  कति उदाहरणीय छ ।

 नागी 

लेकाली चौरहरू नागी हुन्  । ठूलाठूला चरिचरन क्षेत्रहरू , पर्वते  खुइलेचौर र बुकी झार पलाउने समतल  भूमि भौगोलिक रूपमा नागी  कहलाउँछन् ।   यद्यपि किराँत संस्कृतिमा नागीको गहिरो सांस्कृतिक ,  आध्यात्मिक र आनुष्ठानिक अर्थ छ  । परिवारलाई पुर्खासँग,  प्रकृतिसँग र जन्म जन्मान्तरको एउटा जातीय वंशतत्त्व धान्नका निमित्त गरिने पूजा नागी हो  । कुनै पवित्र धागो, जन्तर अथवा अभिमन्त्रित कपडा पनि नागी  हो । नागबेली परेका बाटाहरूले पनि केही हदसम्म नागीको अर्थ बहन गर्न सक्लान् कि भन्ने ठानिएको छ । संवतको स्वैरकल्पना  उसको परिधि र परिवेशभन्दा आत्यन्तिक रुपमा ज्यादा फराकिलो छ त्यो परिकल्पनाको भार उसले कसरी थामेको छ भनेर  हामी कताकता जिल्ल  पर्दछौं ।  किन्तु यो त कथानक अगाडि बढाउने मुख्य मेलोमेसो नै पो रहेछ।

पितृसत्ता 

मन्दाक्रान्ताले भोगेको समाज मूलत पुरुष प्रधान छ सुरुमा उनले प्रेमका लागि संघर्ष गरेकी छिन्। त्यसपछि पतिका लागि संघर्ष गरेकी छिन्। अनि समाजका लागि संघर्ष गरेकी छिन्। अन्त्यमा उनको सङ्घर्ष महिलाहरूको स्वाभिमान प्रतिष्ठा आत्मसम्मान र स्वतन्त्रताका लागि भएको छ ।कथाका अनगिन्ती मोडहरूमा पितृसत्ता पटकपटक सामाजिक प्रवक्ता बनेर उभिएको छ। मन्दाक्रान्ताका बाजे माइती खलक शिक्षित अशिक्षित सबै सबै पुरुषहरू  चेतनामा पुरुष टाँसेर बोलिरहन्छन् पुरुष र सत्ताकै दर्पणमा आफ्नो चेहेरा देखाइरहन्छन् यसलाई मन्दाक्रान्ताले साधारण ठानेकी छिन्।

किनकि यहाँ यस्तै  छ  ।  यहाँ यस्तै हुन्छ ।  जो देखियो  ।  जो भोगियो।

सिमसारामा पर्यासाहित्यको नजानिदो सुगन्ध पसेको छ । माटोको उर्वरता ,  वनस्पतिको सौन्दर्य र शालीनता  , सङ्घर्ष र अटलता, क्षणिकता र दीर्घकालीनता ! चिबेचराको प्रसङ्ग आइरहन्छ । पैयुँको रूख, उसका फूलहरू गोगनको रूखसँग उसले बसाउन खोजेको घरजम रमझम र समागमको  इमेजरी  ओहो ! कति कवितात्मक !  जिन्दगी बुझ्नलाई के नै चाहियो र ?

जटिल चरित्र 

 

धेरै पात्रहरू छैनन् सिमसारामा। सबैभन्दा जटिल र अस्वाभाविक मानिएको पात्र धनरुप सर नै हो। हुलाकको  हाकिम हो  ऊ  । माटोभित्र रोपिएको तरुलको  ठुन्को  सप्रेर गएको छ अथवा चाउरिएर गएको छ भन्ने कुरा बाहिर लाग्ने तरु  लतिकाहरुले सङ्केत गरे जस्तै चारखोल र सिमसारका गल्छेडाहरूमा ओहोरदोहोर गरी बस्ने हुलाकी आफ्ना केसैभरि सेता बादलका गुच्छाहरु बोकी हिँड्दै गर्दा कसैको केस पासमा नसुल्झिने गरी अल्झिन पुग्छ ।  हाकिम त  अल्झिबस्छ। अल्झाएपछि  न  ऊ   सुखी रहन सक्छ न ऊसँग अल्झिने कान्छी आमा खुसी रहन सक्छे ।  यिनीहरूको अल्झाइमा बल्झिन पुग्छ घोसे घोसे झिल्के चिसो सम्वते ।

किताब नाथेमा कति नै ज्ञान सङ्ग्रहित छ होला र  ?

मन्दाक्रान्ताको जीवन आफैमा एउटा सिङ्गो र सग्लो किताब हो। कथामा सबैभन्दा बुझि नसक्नु पाटो चाहिँ धनरूप सर  के को बिरहले ,  के को व्यथाले अर्की महिलाप्रति आकर्षित हुन्छ  ?

धमिलो पृष्ठ

आकर्षित मात्र होइन प्रेम र  बिहे समेत गर्न भ्याएको भनेर चिनाइएकी छायादेवी कार्कीको   पृष्ठभूमि निकै धमिलो देखिन्छ ।  उनीहरू बीचको प्रेमको आधार अविश्वसनीय ढंगले सरासर अगाडि बढेको  छ  ।  उनीहरू बीचको आकर्षण ,  पहिचान र  समागमको  यात्रा जुन किसिमले स्वाभाविक हुनुपर्ने हो त्यसो नभई एउटा सांकेतिक र सूक्ष्म किसिमको तारतम्यमा बुझ्नुपर्ने बाध्यता आइपरेको छ।

 मूल थाम   

घरको मूल खाँबो भनिने एउटा बलियो पुरुष :   जसलाई समाज घरमुली भन्ने गर्छ  ,  बाटो बिराएपछि  घर चिसो हुन्छ ।  कमजोर हुन्छ ।  घरको टिनमा खिया लाग्छ ।  दलिनमा धुल्या लाग्छ। खाँबाहरु कमजोर हुन्छन् । परिवारप्रतिको सामाजिक आम बुझाइ यस्तै हुन्छ। त्यसैले किशोरहरू उमेर नै नपुगी घरमुली बन्नुपर्ने विवशतामा च्यापिन्छन् ।  यसै मेसोमा सम्बते  भावुकता र काल्पनिकताको उडन्ते आकाश ओढेर पनि घरको मूल खाँबो  भैरहन्छ  ।  मूल  थाम  बनिबस्छ ।

बालापन निखारिन्छ।   बुद्धि तिखारिन्छ  । व्यावहारिकता छिप्पिन्छ ।

धनरूप सर   कुनै  अर्कै  महिलासँग  आकर्षित  भइसकेर     घरजमसमेत गर्न भ्याएको अमिलो कथा पाठकले चाल पाइसक्दा समेत संवत्की कान्छी आमा भनेर चिनाइएकी छायादेवी कार्की आफ्नो कमजोर पृष्ठभूमि र उपस्थितिका कारण एउटा धुमिल चित्र बनेर मात्र बसेकी छ कि भन्ने अनुभूति हुन्छ।

बालखैमा बाटो बिराएको सम्बते  

बाल मनोविज्ञान धेरै वास्ता गरिने चिज होइन हामी कहाँ ।  आमाबाबुको औडाहा छोराछोरीमाथि जानिँदो नजानिदो पाराले पोखिदिँदा या पोख्न नजान्दा भुराभुरीलाई बाटो ठम्याउन गाह्रो पर्ने रहेछ   ।  पुस्तकबाट भट्टीतर्फको यात्रातिर समेत लाग्न भ्याएको सम्बते उमेर नपुगी आवश्यक अनावश्यक सबै कुरामा अनुभवी बन्न पुग्छ। उसको भट्टी प्रेम ज्यादा समय त रहँदैन तर भट्टीतर्फको उसको दिशाले उसलाई केही अमूल्य पाठहरू चाहिँ सिकाउन सकेका रहेछन् ।

घुम्ती र मोडहरू 

इलामको लेकबाट  झापाको चन्द्रगढीमा क्याम्पस पढ्न आएको संवत्  आफ्नै आमाको मायाले विरक्तिएर फेरि लेक  चढ्छ । पाठशालामा खासै केही नसिकेको ऊ आफ्नै आमाले पारिराखेको हराभरा घर देखेर अचाक्ली विस्मित हुन्छ। उसलाई आफ्नै आमाको उखुमै माया लाग्छ। भुराभुरीमै मनमा उल्का पात कुरा खेलाउने ऊ अब चाहिँ आफ्नै आमाको जीवनप्रतिको प्रेम ,  दृढ निश्चय र मेहनत- परकताप्रति कायल हुन्छ। इस्वीसँगको काल्पनिक प्रेममा भुतुक्कै हुनेसम्मको भावुकता पाली बस्ने ऊ अब चाहिँ क्रमश व्यावहारिकताको पाठ पढ्दै जान्छ। व्यावहारिकतासँगै ऊ लाठे  हुँदै जान्छ। उसले बुझ्यो जिन्दगी यस्तै त हो ,  घुम्ती र मोडहरू बिना जिन्दगीको यात्रा सधैँ अधुरो हुन्छ ।

पैयुँ, बुलाकी र फराकिलो  छाती   :

उखान छ्न्, आहान छन् र छन् पाठहरू धेरै पैयुँसम्बन्धी । जोरपैयुँ प्रेमका निशानी हुन् । आरू फुल्दा माइत पैयुँ  फुले घर भन्थे बजैहरू । पैयुँलाई पनि आरू प्रजातिकै वनस्पति मानिन्छ । यसको फल पनि खान मिल्ने मानिन्छ  । माइतीको चिनो महान् हुन्छ । मायाको निसानी हुन्छ । औधी प्यारो हुन्छ । सुनका गेडागेडी  त  महिलामैत्री  हुने नै भए । कठै मन्दाक्रान्ता ! पाते बुलाकी लाउँछिन्  । कम्ती मात्र प्यारो जिनिस होइन बाबै त्यो बुलाकी  ।   बुलाकी लग्यो, फर्कायो तर मन्दाक्रान्ताको मन भाँचियो । समाज  बस्यो । चर्काचर्की भए ।  दुखी   भए  मान्छे   । मन्दाक्रान्ताले निधो गरिन् । न्याय गरिन् । इन्साफ दिइन् ।  कान्छ्यामाको पेटभित्रको नानीलाई समेत   इन्साफ  दिइन् । छाती  मात्र  होइन उनको मेधा पनि फराकिलो रहेछ । बुलाकी त पशुको नाकी हो भन्छ्न् क्रान्तिकारीहरू । प्रेम पनि हुन सक्दोरहेछ त ।  आहत मुटु पनि हुन सक्दोरहेछ  ।

टर्कीस ( तुर्केली )तरुनीहरूलाई राम्री देखाउन  बलाके लाउन  बाध्य  गर्थ्यो  :

तुर्किस पुरुषसत्ता !

हाम्रा हजुरआमा, आमा र दिदीबहिनीहरू पनि केही  वर्ष अघिसम्म बुलाकी  लाउँथे  !

विचित्र  !

अहिले कानको मुन्द्री फुलाकी र नत्थी बनेर एउटा नाकको प्वालतिर मात्र झन्नाको देखिन्छ गाँठे  !

बुलाकीको इतिहास चाहे जे होस् अहिलेचाहिँ  मन्दाक्रान्ताको प्रेमको निशानी । उसले  मन भाँचेपछि बुलाकीको  मूल्य मन्दाक्रान्ताका लागि खरानी बराबर भएको थियो  ।

स्त्री सत्तानारी स्वाभिमान र महिला अधिकार

पैयुँको रूख, मन्दाक्रान्ताको अठोट र सम्बतको अन्यमनस्कताभित्र जेलिएको चिहानघारी   र   नागबेली बाटो   ढाकेर लाग्ने कुहिरोजस्तै   गन्तव्यमा  गाँठो  परेर    अस्वाभाविक  प्रेम  गाँसेका   धनरूप र छायादेवी   एक अर्कालाई पाइटोपलेर  पनि  खुसी  छैनन् । भागेर  जाने  नाथे   लोग्ने  र  छोडेर   जाने  घोस्सेलाई  सम्झेर  एकबारको  जुनी   खराब  नगर्ने  प्रण  गरेकी  आमाचाहिँको   छ्टपटाहटमा  असजिलो  महसुस  गर्ने  चिसो    छोरो पनि  अन्त्यमा  एउटा  लय  समात्छ  । आफ्नो  स्व , स्वत्व  र  तत्त्वानुभूति  गरेपछि   दुख  दिने  लोग्नेबिना  नि  जिउन  सकिने  रहेछ  भन्ने  लाग्छ  ।  मौसम  सफा  हुन्छ । मौसम  बदलिरहन्छ  ।  उसमा  खोट  हुन्न  ।  सिबाय  प्राकृतिकता  ।   हाम्रै  मन  खोटो  हो  ।  तत्त्वबोध  !

साधु  !

 

०००