प्रविण ढुङ्गेल
एउटा अद्भुत, फरक अनि विचित्र मार्काको नाट्य-शिल्प लागेको हो मोहनराज शर्माको वैकुण्ठ एक्सप्रेस नाटक पढ्दा । श्याम ब्यङ्ग्य, प्रयोगवादी कथा लेखन शैली अनि स्वैर-काल्पनिकताको मिठो मिश्रण भएको नाटक हो यो। वि.सं. २०४२ सालमा प्रकाशित उनको यस कृतिले २०४२ सालमै मदन पुरस्कार प्राप्त गरेको थियो। किताब खोज्न पनि खुब पापड पेल्न परेको थियो यो। एउटा नितान्त फरक संसार, पात्र अनि परिवेशमा पुग्दा आफू मुराकामीयन – नगरकोटीयन संसारमा विचरण गरेको झैं भान हुन्छ। पहिलोपटक सुरुका केही पाना पढ्दा नबुझेर र सिलसिला मिलाउन नसक्दा हल्का खै के खै के पाराको अनुभुति भएको थियो। र नाटकको कथानकमा डुबेपछि यस्तो सुन्दर र सुखद अनुभुति हुन्छ कि लेखकलाई अझ सम्मान दिन मन लाग्छ।
नाटकमा मान्छेले सधैं खोज्ने वैकुण्ठ अर्थात् सुखै सुखको सागर र संसारको यात्रा, वैकुण्ठ लैजाने सवारीसाधन, लक्ष्य , संघर्ष आदिको राम्रो प्रतिकात्मक बिम्बात्मक संयोजन छ। अलिअलि दर्शन, आजको भागदौडमा देखिने देखा परेका यावत् असंगति, मान्छेका फरकफरक चरित्र अनि हल्का व्यंग्य पनि अटाएको छ। कतै कतै राम्रैसँग हाँसिन्छ अनि कतै एक छिन the thinker को मुर्ति झैं सोचाइमा गम्भीर डुबिन्छ। देश, समाज, राजनीति, भंसार, खानतलाशी, मान्छेको स्वार्थ र स्वभावबारे बिम्बात्मक कुरा आएको छ। विभिन्न पात्रहरूको स्वर्ग अथवा वैकुण्ठको यात्रामा लाग्नुको उद्देश्य जस्तै उपचार, क्रान्ति, सर्कस, अन्तर्वार्ता, काम आदि रमाइला र ब्यङ्ग्यात्मक लाग्छन्। सम्भव भन्दा असम्भव कार्य गर्ने विचार र योजना हामी अहिले पनि त बेलामौकामा गरिरहेकै हुन्छौँ नि। नाटकमा वैज्ञानिक प्रगतिका कारण आउने सुखद – सकारात्मक प्रभाव अनि दु:खद नकारात्मक प्रभाव, बम र हातहतियारबाट हुने चरम जोखिम, मान्छेको बढ्दो लोभ-लालचका कारण आइपर्नसक्ने दारुण स्थितिको पनि चित्रण छ।
पहिले त नाटकको मन्चन पनि भएको रहेछ यो। आशा छ; कुनै दिन नयाँ जेनरेशनका युवाहरूलाई यसको नाट्य रुपान्तरण फेरि देखाइने छ। मान्छे यस संसारबाट लोपोन्मुख भएको स्थितिको कल्पना अनि अहिले जनावरलाई चिडियाखाना र आरक्षण – प्रजनन केन्द्रमा राखे झै मान्छेलाई राखेको कल्पनाले आङ्ग सिरिङ्ग गर्दछ। केही केही लोककथा जस्तै अलिबाबा, सति सावित्रीका सन्दर्भहरु पनि पाइन्छ। प्रेम, द्वन्द, घमण्ड, निरिहता, मानवता, आतंक आदिका सन्दर्भ छन्।
आफ्नो फरक शैलीका साहित्यिक कृतिका अलावा मोहनराज शर्मा अर्थात् मोराशका अन्य कृतिहरुमा व्यंग्य, साहित्यिक समालोचना, भाषा-विज्ञान र शैली, व्याकरण, यात्रा, नाटक, कथा, निबन्ध, वर्ण-विन्यास आदि छन्। कतिपय किताब त भेटिन नि मुस्किल छ उनको। मदन पुरस्कार पुस्तकालयमा बसेर पढ्न दिनभर फ्री भए चै हुन नि सक्ला एक दुई तीन किताब त।
आशा छ उनका कृतिहरुको पुनःप्रकाशन संभव भए कुनै दिन आउनेछ।
लेखक परिचयः जनकपुरमा जन्मेका प्रविण ढुङ्गेल ललितपुरमा बसोवास गर्छन् । विसं २०६२।६३ तिर “मुना” पत्रिकामा लेख रचना प्रकाशित गरेर लेखनमा उत्रिएका उनी पुस्तक पठनमा रुचि राख्ने र पढेका कृतिबारे स्वतन्त्र पठन अनुभूति सामाजिक सञ्जालमार्फत् निरन्तर प्रस्तुत गरिरहने गर्दछन् ।
