२२ कार्तिक २०८२, भीरकोट, बलमाटा ।
स्याङ्जा साहित्य प्रतिष्ठान र कालिका पुस्तकालय, भीरकोट नगरपालिका- ७, बलमाटा, स्याङ्जाको संयुक्त आयोजना तथा भीरकोट नगरपालिका ७ नम्बर वडा कार्यालयको विशेष सहयोगमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीका सन्दर्भमा को सन्दर्भमा देवकोटा साहित्य उत्सव- २०८२ आयोजना गरियो ।
स्याङ्जाको साहित्यिक इतिहासमै यसरी पहिलोपटक आयोजना गरिएको ऐतिहासिक देवकोटा साहित्य उत्सवमा समकालीन स्याङ्जाली मुक्तककारहरु विष्णु पङ्गेनी पाण्डे, पारिश्वर न्यौपाने, विक्रम संवत, मुनाल गोदार र शोभाकान्त रेग्मीले मुक्तक रचना वाचन गरेका थिए । साथै समकालीन स्याङ्जाली गजलकारहरु लक्ष्मी काफ्ले, दिलीप तिवारी, खगेन्द्रजंग थापा, कृष्ण खड्का, नारायण न्यौपाने र झवनाथ बस्यालले गजल वाचन गरेका थिए ।
समकालीन स्याङ्जाली कविहरु चिन्तु गिरी, अग्निकुमार रेग्मी पल्लव, अनन्त अर्याल, दुर्गाबहादुर रोकाहा, शालिकराम लम्साल, चण्डिकाप्रसाद भट्टराई, लोकहरि पाण्डेय क्षितिज, ध्रुवप्रसाद शर्मा पङ्गेनी, यमप्रकाश खनाल, हरिप्रसाद पङ्गेनी, ढालबहादुर के.सी., राजेन्द्रकुमार श्रेष्ठ, इन्द्रप्रसाद पाठक, कमला अधिकारी सिग्देल, प्रेमबन्धु सुवेदी, प्रकाश न्यौपाने चौरासपति, राजु गैह्रे, शम्भु अर्याल, स्मारिका अर्याल, गोविन्दशरण रेग्मी, सुबोध रेग्मी, हिमाङ्शु अर्याल र हिमालयजंग बानियाँले कविता वाचन गरेका थिए ।
भीरकोट नगरपालिका- ७ का वडाध्यक्ष ताराप्रसाद अर्यालले समारोहको समुदघाटन गर्दै नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सन्दर्भमा आयोजना गरिएको यस काव्य उत्सवको विशेष महत्त्वपूर्ण अर्थ रहेको र यसरी गरिने साहित्यिक कार्यक्रमको माध्यमबाट समग्र स्याङ्जाको साहित्यलाई उचाइमा पुर्याउन सहज हुने कुरा व्यक्त गर्दै वडाको तर्फबाट आगामी दिनमा पनि यस्ता महत्त्वपूर्ण कार्यक्रमको आयोजनाको सन्दर्भमा विशेष सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।
स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार रानाले स्याङ्जा साहित्य प्रतिष्ठान स्याङ्जा जिल्लाभर यसरी नै सहकार्य गर्दै समग्र स्याङ्जा जिल्लाको साहित्यिक उन्नयनका लागि अभियानकै रूपमा अगाडि बढ्ने योजनामा रहेको र आगामी दिनमा पनि यस्तै सिर्जनशील कार्यक्रमको माध्यमबाट स्याङ्जा साहित्य प्रतिष्ठानको गौरव र गरिमालाई थप उचाइमा पुर्याउने प्रतिवद्वता व्यक्त गरे ।
सभाध्यक्षको भूमिकामा रहेका कालिका पुस्तकालयका अध्यक्ष श्यामप्रसाद अर्यालले स्याङ्जा साहित्य प्रतिष्ठानसँग यसरी जोडिएर स्थानीयस्तरमा गरिने साहित्यिक कार्यक्रमको माध्यमबाट पक्कै पनि स्याङ्जाको साहित्यिक माहोल अझ विस्तारित हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनशील गतिविधिहरुलाई निरन्तरता दिइने जानकारी गराए ।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष डोलराज पौडेलले प्रस्तुत गरेका थिए ।
देवकोटा काव्य उत्सव- २०८२ मा विशेष वाचनको सन्दर्भमा उभिएका कवि, गजलकार र मुक्तककारहरुलाई मायाको चिनोसहित सम्मान गरिएको समारोहमा कालिका पुस्तकालयको प्रयोजनका लागि मिलन समीरको तर्फबाट व्यक्तिगत रूपमा २० हजार रुपियाँ बराबरको साहित्यिक पुस्तकहरु उपहारस्वरूप प्रदान गरिएको थियो ।
स्याङ्जा साहित्य प्रतिष्ठानको स्थापना वि.सं. २०५२ सालमा भएको थियो। स्याङ्जा साहित्य प्रतिष्ठानको मुखपत्रको रूपमा प्रकाशित हुँदै आएको रजस्थल साहित्यिक त्रैमासिक पत्रिकाको १०३ अंक प्रकाशित भइसकेको छ । कालिका पुस्तकालयको स्थापना वि.सं. २०२६ साल जेठ २६ गते प्रेमनारायण अर्यालको अध्यक्षतामा भएको थियो भने आधिकारिक रूपमा दर्ता २०७६ सालमा श्यामप्रसाद अर्यालको अध्यक्षतामा भएको थियो । कालिका पुस्तकालय भीरकोट नगरपालिका- ७, बलमाटास्थित कालिका क्याम्पससँगै रहेको छ ।
कार्यक्रमलाई देवकोटा साहित्य उत्सव- २०८२ का संयोजक तथा स्याङ्जा साहित्य प्रतिष्ठानका सचिव युवाकवि एवम साहित्यिक अभियन्ता मिलन समीरले सहजीकरण गरेका थिए ।
