२ भदौ २०८२, चितवन
नेपाली साहित्यका पुराना पुस्ताका साहित्यकार प्रेमविनोद नन्दनको ९० वर्षको उमेरमा भदौ १ गते राती चितवन मेडिकल कलेजमा दुःखद निधन भएको छ ।
उनको जन्म १९ जेठ १९९२ सालमा तनहुँको बन्दिपुरमा भएको थियो ।
कविता, गीत, नाटक लगायत विविध बिधामा कलम चलाउने उनी चितवनका वरिष्ठतम् साहित्यकार थिए ।
पछिल्लो समय उनको स्वास्थ्य गिर्दो अवस्थामा थियो र सार्वजनिक कार्यक्रमहरूमा देखा पर्न छाडेका थिए र सामाजिक भेटघाट पनि बन्द थियो ।
जीवनभर नेपाली वाङ्मयका लागि चिन्तित र चिन्तनशील उनी चितवनमा राजा महेन्द्रको उपस्थितिमा देवघाटमा डुङ्गामा भएको ऐतिहासिक कविता सम्मेलनका साक्षी समेत थिए ।
चितवनका साहित्यकार तथा पुस्तक व्यवसायी लेखाराम सापकोटाले सामाजिक सञ्जालमा पोस्ट गरे अनुसार उनको पार्थिव शरीर नारायणगढस्थित निवासमा ल्याएर अन्तिम कर्म गराइ केहीबेर नारायणी कला मन्दिरमा श्रद्धाञ्जलीका लागि राखिनेछ र आज नै देवघाटमा अन्त्येष्टि गरिनेछ ।
उनका श्रीमतीसहित तीन छोरा र तीन छोरी छन् ।
०००
