बोतल
डा. गोबिन्दसिंह रावत
जन्मेपछि आमाले दिनु भयो बुबु
बोतलमा
विद्यालय जाँदा लान थालें पानी
बोतलमा
पढ्दै गएँ लड्दै गएँ बढ्दै गएँ
अनि पिउन थालें
सोडा, कोक र फेन्टाको
बोतलमा
उमेरसँगै बैंश जाग्यो
मनले पनि प्रेमिका माग्यो
प्रेमिकालाई डुलाएर खुवाउन थालें होटलमा
खाजाका परीकारसँगै पिलाउथें जुस र कोक
बोतलमा
पढाईपछि जागिरमा बाँधियो
कोक र सोडाको बोतल
बियर र हुस्कीको बोतलमा साटियो
जिन्दगीको रङ्कमा रङ्किदै
रात बित्न थाल्यो रेष्टुरेन्ट र होटलमा
मोज मस्ती सबै पाउँदै गएँ बोतलमा
बोतलको सँगतले बिरामी भएँ
अनि खान थालें औषधी बोतलमा
रोग झन् झन् बढ्न थाल्यो
पु-याए आफन्तले अस्पतालमा
अनि लिन थालें सलाईन बोतलमा
देखियो जन्मदेखि नमरेसम्म
बोतलबाट शुरु भएको जिन्दगी
अन्त्य हुँदैछ बोतलमा ।
कवि परिचयः गोविन्द सिं रावत भारतको शिलाङमा जन्मेका हुन् र लामो समय नेपाल बसाई पछि हाल टोरण्टो क्यानाडावासी भएका छन् । विसं २०३७ मा “लामखुट्टे उपीया एण्ड रेट”, व्यग्ँय जुनकिरी साप्ताहिकमा प्रकाशनका साथ नेपाली साहित्य जगतमा उदाएका उनी कविता, कथा, नाटक, समालोचना, निबन्ध, अनसन्धानात्मक लेख, नियात्रा आदि विधामा कलम चलाउँछन् । उनका “पूर्वाञ्चल भारतको नेपाली कविताः एक सर्वेक्षण” (अनुसन्धान कृति)१९८६, सडक नाटक संग्रह (सडक नाटक) २०५७, विश्वरङ्गमञ्चमा सडक नाटक परम्परा (अनुसन्धान कृति) २०७०, नेता (नाटक संग्रह) २०७०, गङ्गा (कथा संग्रह) २०७१, आप्रवास साहित्य विचरण (समीक्षा संग्रह) २०७६ कृतिहरु प्रकाशित छन् ।
