मिरमा
तिमी शब्द, म अक्षर
तिमी खोला, म बगर
तिमीसम्म म आउनै सक्दिन
किनाराले कोरिदिएको छ
तिम्रो र मेरो सीमाना
सदियौंदेखि
सगरमाथा झैं अग्लो
तर अदृश्य सीमाना
लमतन्न
बालुवा र ढुंगाहरुमा
थुप्रिएको छ
मेरो अस्तित्व
म यिनै बालुवा र ढुंगाहरुमा
आफ्नो अस्तित्व जोगाइरहेछु
तिमी अविरल, निरन्तर
कलकल गर्दै
बग्छौ खोला
सुसाउँदै हरेक दिन
मेरो निरस अस्तित्वलाई गिज्याउँदै
अनवरत बगिरहन्छौ तिमी
शब्दहरुमा अक्षर बहेजस्तै
शब्दभित्र कुनै कविले
आफ्नो बह पोखेजस्तै
तिमी बेला–बेलामा
शब्दहरुको बाढी लिएर
भेट्न आउनु मलाई
शब्दकै भेल उरालेर
शब्दले नै छुनु मलाई
निथ्रुक्क भिजाइदिनु
शब्दमै डुबाइदिनु मलाई
तिमी भन्दा मलाई
तिम्रा शब्दहरु प्रिय लाग्छन्
लेखाई राम्रा लाग्छन्
आफ्नो कवितामा
लुकाएर राख्नु मलाई
लेखाईमै भएपनि
जीवन्त बनाइदिनु
मैले बाँच्न बिर्सिएको जिन्दगीलाई
शब्दहरुको थुप्रो बोकेर
बेला बेलामा जिस्कन आउनु मसँग
मात्राहरु मिलाएर
मलाई सुन्दर शब्द बनाइदिनु,
वाक्यमा ढालिदिनु
अनुच्छेदमा थुनिदिनु
अल्पविराम, पूर्णविराममै भएपनि
बेलाबेलामा
आराम गर्न दिनु
भातभान्सा, बच्चाबच्ची अनि
घरपरिवारमा अल्झिएको
हतार अनि अत्यासको
मेरो जिन्दगीलाई
एवम् रितले
मलाई गिज्याउँदा गिज्याउँदै
साउने भेल बनेर
जिस्काउँदा जिस्काउँदै
भविष्यमा कुनै दिन
भत्काउनु मलाई
मलाई ढपक्कै छोपेर
आफूमै मिसाइदिनु
अविरल बगिरहने
खोला बनाइदिनु
आफू जस्तै
शब्दले अक्षरहरुलाई बोकेजस्तै
बोकेर हिँडिरहनु मलाई
आकार, इकारहरु जोडेर
शब्द बनाइदिनु
अल्पविराम पूर्णविराम
थपेर मलाई पनि
आफू जस्तै
अर्थयुक्त वाक्य बनाइदिनु
तिमी खोला, म बगर
तिमी शब्द, म अक्षर
मेरो एक एक टुक्रा जोडेर
मलाई पनि भविष्यमा
कुनै दिन आफूजस्तै
शब्द बनाइदिनु
खोला बनाइदिनु
000
कवि परिचयः मकवानपुर हेटौंडाकी रमा सुवेदी काठमाडौंमा बसेर पत्रिकारिता गरिरहेकी छिन् । कविता लेखनमा रुची राख्ने उनको फुटकर कविताहरु मिरमाको नाममा अनलाइन पत्रिकामा छापिएका छन् । उनको कथा ‘बाह्रखरी उत्कृष्ट कथा २०८०’ मा छानिएको थियो ।